बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

उज्यालोको पर्यायका रुपमा आम नेपालीको मनमस्तिष्कमा आफ्नो अमिट छाप बनाइसकेका छन्, कुलमान घिसिङले । उनै कुलमानको अब दोस्रो इनिङ्स सुरु भएको छ अर्थात सरकारले हालै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा उनलाई नियुक्त गरेको छ । आफूलाई पुनः नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिएका उनले आफू ठूलो रिस्क लिएर पुनः प्राधिकरणमा आएको सुनाए । तर त्यो रिस्क के हो भनेर चाहिँ खुलाएनन् । प्राधिकरणमा कुलमान नै किन आवश्यक हो, भावी योजना के-के छन् ? यसै सन्दर्भमा घिसिङसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

दोस्रो पटक नियुक्त गरेको छ । प्राधिकरणमा तपाईं नै किन आवश्यक हो ?
मैले प्राधिकरणमा म मात्रै आवश्यक हुँ भनेर भनेको छैन । सायद, सरकारले ‘राइट म्यान इन राइट प्लेस’ भनेर मलाई यो जिम्मेवारी दिएको होला । हिजो जुन हिसाबले व्यवस्थापन भइरहेको थियो, सोही कारणले मलाई यहाँ जिम्मेवारी दिइएको होला । प्राधिकरण हिजो नाफामा अघि बढिरहेको थियो । प्रशासनिक र व्यवस्थापनको हिसाबले पनि राम्रो दिशामा अघि बढिरहेको थियो । तर, पछिल्लो एक वर्षमा प्राधिकरण उल्टो दिशामा जान सुरु ग¥यो । विभिन्न हिसाबले प्राधिकरणको व्यवस्थापन बिग्रँदै गयो । प्राधिकरण बिग्रियो भने यसको प्रभाव सबैतिर पर्छ । यसले आर्थिक वृद्धि, औद्योगिक वृद्धि सबै रोक्छ । सबैको चाहनाअनुसार सरकारले यो भूमिकामा उपयुक्त देखेको हुन सक्छ ।

तपाईंका प्राथमिकता के-के हुन् ?
मेरो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण छ । पहिलो कार्यकालमा गरेका कामहरुलाई अझ फिनिसिङ गरेर पूरा गर्नुपर्ने छ । कतिपय कामहरु सुरु भएर पनि पूरा भएका छैनन्, तिनलाई अघि बढाउँछु । लोडसेडिङ त अन्त्य भयो । अब देशभरिका जनताले बिजुली पाउनुपर्छ । सरकारको दाियत्व पनि हो त्यो । त्यसैअनुसार हरेक नागरिकलाई बिजुलीको पहुँच पुग्छ । यो मेरो प्राथमिकतामा पर्छ । छोटो समयमै नेपाललाई पूर्ण विद्युतीकरण भएको घोषणा गर्नुपर्छ अर्थात् २४ सै घण्टा लोडसेडिङ भएको ठाउँमा पनि हामी लोडसेडिङ अन्त्य गर्न चाहन्छौं । २४ घण्टा भनेको बत्ति नै नभएको ठाउँमा पनि बत्ति लैजानु हो । अर्को कुरा उत्पादन क्षेत्रमा धेरै प्रोजेक्टहरु सम्पन्न भएका छन्, कतिपय सम्पन्न हुने चरणमा छन् । अब हामीले ठूला प्रोजेक्टहरु गर्नुपर्छ । नेपालको पानी जनताको लगानी अवधारणामा आम नेपालीको पैसा लगानी गरेर ठूला आयोजना बनाउनुपर्छ । पहिलो कार्यकालमा धेरै प्रोजेक्ट स्टडीको फेजमा थिए । कतिपय प्रोजेक्ट अगाडि बढाएका पनि थियौं । लगानीको वातावरण बनाएर, वित्तीय व्यवस्था गरेर ती प्रोजेक्टहरु अगाडि बढाउनुपर्ने छ । करिब ५ हजार मेगावाटका प्रोजेक्ट तत्काल लगानी बढाउन सक्ने अवस्थामा हामी पुगेका छौं ।

तपाईं प्राधिकरणबाट गएसँगै चुहावट बढ्यो अनि प्राधिकरणको नाफा घट्यो । यसको पछाडि के कारण होला ?
मैले प्राधिकरणका हरेक निर्णय र काम निकै चासो मानेर हेरिरहेको थिएँ । नेपाली नागरिक र मैले प्राधिकरणको नयाँ नेतृत्वले जसरी काम गर्ला भने सोचेका थियौँ, त्यसरी काम भएको पटक्कै थिएन । नेतृत्वकर्ता त लामो समय विद्युत् प्राधिकरणमा काम गर्नुभएको, प्राधिकरण हाँक्न सक्ने क्षमता भएको व्यक्ति नै हुनुहुन्थ्यो तर, उहाँले जसरी काम गर्नुपर्थ्यो त्यसरी काम भएको अनुभव मेलै गरिन । मेरो कार्यकालमा भएको जुन वित्तीय उपलब्धि थियो, त्यो अहिले घटेकै छ । म हुँदा ११ अर्बभन्दा बढी थियो आम्दानी । अहिले नाफामा केही कमी आएको छ । त्यसको पूर्तिमात्रै गरेर पुग्दैन, अझ बढाउनुपर्ने छ । जनतालाई सहुलियतमा बिजुली उपलब्ध गराएर नाफा पनि त कमाउनुपर्ने छ । लगानी पनि बढाउनु छ । चुहावट अहिले करिब २ प्रतिशत बढेको छ । त्यो चुहावट २६ प्रतिशतबाट १५ प्रतिशतमा झरेको थियो । त्यसलाई हामीले साढे १३ प्रतिशतमा झार्ने भनेर टार्गेट राखेका थियौं । अहिले १५ प्रतिशतबाट बढेर १७ प्रतिशत पुगेको छ । त्यो चुहावटलाई हामीले धेरै घटाउनुपर्छ । ४ वर्षभित्र हामी १० प्रतिशत भन्दा पनि कममा झार्छौं । कोभिड लगायतका कारणले ध्यान पनि पुगेन होला, म्यानेजमेन्टमा समस्या भयो होला । त्यसले पनि केही चुहावट बढेको छ। त्यसलाई हामीले सुधार गर्नुपर्छ ।विद्युत खपतको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
उत्पादन भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीको सुनिश्चितता कसरी गर्ने ? त्यो काम ठूलो छ । हाम्रो आन्तरिक खपतलाई पनि बढाउनुपर्ने छ । इलेक्ट्रिक भेइकलदेखि लिएर इन्डक्सन चुलोको प्रचार गर्नुपर्ने छ । ट्रान्समिसज लाइनहरु सम्पन्न गर्नुपर्ने छ, डिस्ट्रिब्यूसन लाइन बनाउनुपर्ने छ । ग्राहक सेवालाई डिजिटाइजेसन गरेर लैजान ढिला भइसकेको छ । पूरै संस्थालाई नै डिनिटाइजेसन गर्ने जिम्मेवारी छ । संस्थालाई सिस्टममा कसरी लैजाने भन्ने कुराहरु महत्वपूर्ण छन् । र घरघरको विद्युतीकरण सकिएको छ अब खेतखेतको विद्युतीकरण गर्नुपर्ने बेला आएको छ । किनकी खेतमा सिँचाइ गर्नुपर्नेछ । सिँचाइबिना तराइका धेरै खेतहरु बाँझै राख्नुपर्ने अवस्था छ । खेतको विद्युतीकरणका लागि अहिले धेरै माग आइरहेको छ । अब दुई महिनापछि नै हामीले निर्यात गर्नुपर्ने अवस्था आउँदैछ, त्यो मोकानिजम बनाउनुपर्नेछ । यहाँ बाढी भएको विद्युतलाई भारत र बंगलादेशसम्म कसरी दैनिक रुपमा बिक्रि गर्न सक्छौं त्यो हामी तत्कालै अगाडि बढाउँछौं । हामीले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जानु भएन ।

यति धेरै काम गर्नुछ, कोरोनाले आर्थिक स्रोत जुटाउन चुनौती छ । यस्तो अवस्थामा ती परियोजना कसरी पूरा गर्नुहुन्छ ?
हामीले के भनिरहेका छौं भने- विद्युत प्राधिकरणलाई आत्मनिर्भर संस्था बनाउनुपर्छ र त्यो हाम्रो पहिलो प्राथमिकता हो पनि । प्राधिकरण गर्ने परियोजनाहरुमा सरकारले गर्ने खर्चको अन्त्य हुनुपर्छ भन्ने नै हो । अब विद्युत प्राधिकरण वार्षिक १५-२० अर्ब नाफामा गएपछि आवश्यक पर्ने लगानी प्राधिकरण आफैंले जेनेरेट गर्न सक्छ । विगत ४ वर्षयता हामीले १०-१२ अर्ब आफैले लगानी गरिराखेका छौं । त्यसकारण भोलि २० अर्बसम्म आफैं लगानी गर्नसक्ने अवस्थामा प्राधिकरण पुग्दाखेरी लगानीको पाटोमा समस्या पर्दैन । किनभने ताकोकोशीबाट, चिलिमिबाट सबै शेअर छ नि ! त्यहाँबाट आउने लाभांश मात्रै ५–७ अर्ब हामीले प्रयोग सकियो र प्राधिकरणको नाफा प्रयोग गर्न सकियो त्यत्ति असर पर्दैन भन्ने नै लाग्छ ।

दोस्रो कार्यकाललाई जीवनकै ठूलो चुनौती भन्नुभयो, किन ?
हिजोको अवस्थामा जे काम गरेर एउटा उचाइ बनाएको छु । त्योभन्दा माथि जानका लागि मैले धेरै काम गर्नुपर्ने छ । मेरा लागि हिजो र आजको परिस्थिति पनि सहज नहुन सक्छ । हिजोको एउटा टिम थियो । आज नयाँ टिम बनाउनुपर्ने हुन्छ । पहिलाका टिममा भएका धेरै साथीहरू रिटायर हुनुभएको छ । राजनीतिक र सामाजिक वातावरण पनि चुनौतीपूर्ण हुन सक्छ । ठूला आयोजनाहरू अघि बढाउन सबैको सहयोग आवश्यक पर्छ । हिजो लोडसेडिङ अन्त्य गर्न सबैले सहयोग गर्नुपर्ने अवस्था थियो, यस्तै सहयोग पाउन मैले फेरि काम गर्नुपर्छ । हिजोको दिनमा बनेको मेरो विश्वसनीयताको रक्षा आगामी दिनको कामले गर्नेछ । यी सबै चुनौती स्वीकार गरेर आएको हुँ । सरकारले दिएको जिम्मेवारी पूरा गर्नेछु ।

एमसीसी परियोजना लामो समयदेखि अड्केर बसेको छ । ठूलो चुनौती भनेर त्यसैलाई इंगित गर्न खोज्नुभएको हो ?
एमसीसीको बारेमा म अहिले बोल्दिनँ, यसबारे कुरै नगराैं। यो मेरो पाटो होइन । पब्लिकको प्रेसर छ नि त ! अपेक्षा छन् मप्रति धेरै । त्यो पूरा गर्ने चुनौती छ । पहिलो कार्यकालमा मैले जुन काम गरेँ, जुन किसिमको क्रेडिबिलिटी, जुन किसिमको सम्मान पाएँ । पब्लिकबाट एक किसिमको हौसला मिल्यो, त्यो मेन्टेन गर्न र अझ त्यो भन्दा माथि लैजानलाई मलाई ठूलो चुनौती छ । सबैभन्दा ठूलो चुनौती त्यही हो । त्यो गर्न सकिनँ, अझ नराम्रो भयो भने मेरो लागि त्योभन्दा नराम्रो केही हुँदैन । त्यही भएर ‘हाइ रिस्क’ छ भन्न खोजेको हो । व्यक्तिगत रुपमा मेरो चुनौती त्यही हो ।तपाईंलाई जनताको यत्रो समर्थन छ र अहिले यहाँ आउँदा थप आशा जागेको छ । दोस्रो कार्यकालमा सम्झनलायक काम के गर्नुहुन्छ ?
यो मैले जनतालाई नयाँ कुरा ल्याएर दिने भन्ने त होइन । मैले देशको लागि दीर्घकालिन रुपमा र छोटो समयमा गर्नुपर्ने कामहरु गर्नुपर्छ । लामो समयसम्म यो देशमा विद्युतको क्षेत्रमा कुनै पनि समस्या नआओस् । अहिले पनि झ्याप-झ्याप बत्ति जाने समस्या छ, गुणस्तरको कुरा छ, सेवाको कुरा छ, गुनासो सम्बोधन गर्ने मेकानिजम् छैन, माग अनुसार विद्युत पाएको छैन भन्ने छ, फोन गर्‍याे उठ्दैन । यो सर्भिस डेलिभरीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त ? कसरी पब्लिकको गुनासोलाई तत्कालै सम्बोधन गर्न सकिन्छ भन्ने कुराका पनि छन् । अहिले ‘उज्यालो र सफा शहर’ अभियान चलाउन खोजिरहेका छौं । यो भनेको चाँही- हरेक शहरमा स्मार्ट लाइटहरु जडान गर्दैछौं । देश उज्यालो होस्, शहर उज्यालो होस्, रातीको विद्युत खपत नहुनुभन्दा बलिरहोस् नि । शहर सफाइ अभियान- पोल र तारहरुलाई हटाउने ।

तपाईंले अघिल्लो कार्यकालमा सुरु गर्नुभएको तार भूमिगत गर्ने काम सुस्त देखिन्छ । त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?
सबै निकायबीच समन्वय गरेर अगाडि बढ्नुपर्छ । सडक विभाग, खानेपानीदेखि लिएर एनटीसी सबैसँग समन्वय गरेर काम गर्ने हो । समन्वय गर्दा आवश्यक परे मन्त्रालयस्तरमा, त्यसले पनि भएन भने प्रधानमन्त्रीको स्तरमा लगेर पनि यो शहरलाई सुन्दर बनाउनुपर्छ । सुन्दर बनाए मात्र भएन, जनताले सेवा सहज रुपमा पाउनु पनि पर्छ । बिजुलीको माग बढ्दै जान्छ, त्यसलाई धान्ने संरचना बनाउनुपर्छ । मैले बैठकमा कन्ट्राक्टरलाई भनिसकेका छु- क्वालिटीको र इन्टरनेशनल स्ट्याण्डरको काम गर्ने हो । काठमाडौंभित्र र पोखरा–भरतपुरमा गर्दैछौं, विस्तारै अन्त पनि होला । तारको जञ्जाल जुन छ त्यसलाई भूमिगत गर्ने काम अगाडि बढ्दैछ ।

अन्त्यमा कतिपयले तपाईंलाई प्रचारमुखी भएको आरोप लगाउँछन्, यसबारे के भन्नुहुन्छ ?
यो कुरा मलाई भन्दा पनि आमपत्रकार साथीहरूलाई थाहा छ । मैले मेरो बारेमा यो कुरा लेखिदिनुप¥यो, यो गर्दिनुप¥यो भनेर अहिलेसम्म कहिल्यै भनेको छैन । मिडियाका साथीहरूले नै मलाई फलोअप गरिरहनुभएको हुन्छ । विद्युत् प्राधिकरणले गरेका राम्रा, नराम्रा कामबारे जुन किसिमले सम्प्रेषण भएको छ, यसका लागि हामीले मिडियाका साथीहरूलाई धन्यवाद दिनुपर्छ । अहिलेसम्म सबै काम मैले मात्रै गरेको हो, मैले यो गरें भनेर भनेको छैन । सामूहिक प्रयासको उपलब्धि हो भनेको छु । पब्लिकले यसमा बढी क्रेडिट मलाई दिने गरेका छन्, सञ्चारमाध्यममा मेरो प्रचार बढी भयो भन्ने गरेको देखिन्छ तर यो कुरा मैले भनेको होइन नि ! जस अपजसको भागीचाहिँ प्राधिकरणको कार्यकारी निर्देशक पनि एउटा हो । नराम्रो काम गरेको भए त्यही हिसाबले गाली पनि गर्थे । राम्रो काम गर्‍याे भनेर अलिकति प्रोत्साहन पाएको छु । र यो अवसरका लागि नेपाली समाचारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया