मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

विश्वका शक्तिशाली महाराष्ट्रहरुलाई समेत घुँडा टेकाएको महामारीसंग हामी नेपालीले पौठेजोरी खेल्न पक्कै सक्दैनौं । तर, यसको बाटो थुन्ने उपाय निकाल्न भने अवश्य सक्छौं । त्यो भनेको खोपको व्यापकता, पूर्ण सजगता र सुरक्षा मापदण्डको अक्षरशः पालना हो ।
विश्वलाई हायल कायल बनाएको कोभिड-१९ महामारी खेलाँची गर्ने सामान्य रोग हुँदै होइन । यही लडाइँका बीच हामी विदेशमै भएपनि आ-आफ्नो ठाउँबाट समुदायलाई सजग र सचेत बनाउने अभियानमा निरन्तर कलम चलाउँदै आईरहेका छौं । यस क्रममा हामीले धेरै सिक्यौं र भोग्यौं पनि । हामी बसेको मुलुक जापानमा हाल कोरोना संक्रमणको दर उच्च रहेको छ । यो स्थिति अझै भयावह हुने संकेत देखिन्छ । जापान जस्तो मुलुकमा पनि धेरैजसो अस्पतालहरुमा पर्याप्त बेड छैनन् । जन-जनले उच्च सतर्कता अपनाई संक्रमण फैलनबाट नरोक्ने हो भने विद्यमान उपचार सेवा र पद्धतीले नधानेर धेरैले मृत्युवरण गर्नुपर्ने स्थिति आउन सक्छ ।

वैज्ञानिक र अनुसन्धानकर्ताहरूको कोरोना-प्रभाव प्रक्षेपण हेर्दा ज्यादै नै कहालीलाग्दा छन् । महामारीले अझै निकै नै गाँज्ने र निधन हुनेको संख्या अझै धेरै माथि पुग्ने उनीहरुको आंकलन छ । यसलाई पूरै असत्य सावित गर्न नसके पनि हामीले थोरै फेरबदल भने अवश्य गर्न सक्छौं । हाम्रा दैनिक क्रियाकलाप तथा जीवन जिउने शैलीले त्यसलाई तल-माथि बनाउन सकिन्छ । हाम्रा आनीबानी, व्यवहार, कारोबार, रहनसहन र सजगता नै सुरक्षाका प्रमुख उपाय हुन् । जब समुदायमा कोरोना संक्रमणको दर बढ्न थाल्छ हामी आत्तिन्छौं । जब हल्का कम हुन थाल्छ, हाम्रो बेवास्तापन र लापर्वाहीपन फेरि सुरु हुन थाल्छ ।

यसैबीच नेपालीहरुको चाडपर्व लामबद्ध छन् । यी चाडपर्वहरुमा समयको संवेदनशीलतालाई मध्यनजर राख्दै सोहीअनुरुपको क्रियाकलाप गरिनु हाम्रो दायित्व हो । स्वभावैले हामी नेपाली चाडपर्वमा अलि बढि नै हौसिन्छौ, रौसिन्छौं र भिडभाड, तामझाम र भोजभतेरमा रमाउन मन पराउँछौं । यतिबेला हरेक ब्यक्ति चनाखो भएर उच्च सतर्कता अपनाउँदै आफु पनि सुरक्षित रहँदै अरुको सुरक्षामा पनि ध्यान दिन सके संक्रमणलाई पूरै निर्मुल गर्न नसके पनि न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । नेपाली नारीहरुको उत्साहको पर्व हरितालिका तीजले दैलो टेकिसकेको छ । विशेषतः नेपाली महिलाहरु यस पर्वमा खुलेर रम्ने र रोमाञ्चित हुने गर्दछन् भने पुरुषहरुले पनि सक्दो साथ दिईरहेको पाईन्छ । यो पर्वमा आफ्ना आफन्त तथा चेलीबेटीलाई घरमा वा रेष्टुरेन्टमा बोलाई खानापिना तथा नाचगान गर्ने चलन जापानमा पनि छ । अझ स्वदेशकै सिको गर्दै पालोगरी दर खान बोलाउने र त्यो संगै नाचगान गरेर रमाईलोका साथ महिनौसम्म तीज मनाउने प्रचलन जापानको नेपाली समुदायमा पनि विद्यमान छ । यसप्रकारका भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने र आत्मियता साटासाट गर्ने परम्परा बोकेका पर्व मनाउने सवालमा नेपालीहरु अलि बढि नै उदार देखिन्छन् । त्यसो भएको हुनाले अब एकपछि अर्को गर्दै आउने तीज, दसै, तिहार, छठ, क्रिसमस जस्ता पर्वहरुमा महामारीको संवेदनशीलतालाई हरेकले उच्च कोटीमा राख्नुपर्ने बिषय जनस्तरसम्म पुर्‍याउनु आवश्यक छ । यस कार्यमा समाजका अगुवा, सञ्चार क्षेत्र, प्रबुद्ध वर्ग सबैको जिम्मेवार भूमिका अपेक्षित छ ।
जानकारहरुका अनुसार महामारीको स्थिति संभवतः अझै केही बर्ष लम्बिन सक्ने देखिन्छ । त्यसबाट भागेर वा त्यसलाई प्रभावशून्य बनाएर आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुको विकल्प आज हामी मानव जातिसंग छैन । हालसम्म यसबाट विश्वमा करीब २० करोड १८ लाख संक्रमित भइसकेका छन् भने दुई करोडभन्दा बढी व्यक्ति संक्रमणसंग जुधिरहेका छन् । सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ६३ लाखभन्दा बढी छन् भने दोस्रोमा भारतमा संक्रमितको संख्या झण्डै ३ करोड १९ लाख पुगेको छ । यसबाट ज्यान गुमाउनेको संख्या अमेरिकामा मात्रै ६ लाख ३२ हजार र भारतमा ४ लाख २७ हजारको हाराहारी छ ।

खुल्ला सिमाना र ठूलो मात्रामा आवतजावत हुने भएकाले भारतको तीव्र संक्रमणको प्रभाव नेपालमा स्वभाविक रूपमा पर्ने खतराले नेपालीहरुलाई थप चिन्तित तुल्याएको छ । त्यसैले पर्व हो भन्दैमा महामारी नबिर्सौं, महामारी छ भन्दैमा पर्व पनि नबिर्सौं, समयले सिकाएको पाठअनुसार प्रविधिको प्रयोग गर्दै हाम्रा कार्यशैलीलाई डिजिटल र स्मार्ट बनाऔं ।***

तपाईको प्रतिक्रिया