शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – जर्मनीमा पहिला प्रदर्शनीमा देखाइने गरेका वन्यजन्तुलाई अवकाशपछि राखिएको एउटा पशुशालामा चितुवाले आक्रमण गर्दा एक ३६ वर्षे मोडल गम्भीर घाइते भएकी छन् । उनी फोटो खिचाउन त्यहाँ गएको बताइएको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ । फोटो खिचाउन गएको ठाउँमा ट्रोय र पारिस नामक दुईवटा चितुवा भएको बताइएको छ । प्रहरीका अनुसार उक्त घटना मङ्गलवार भएको थियो र ती मोडललाई अस्पताल लगियो ।

आक्रमण गर्ने चितुवा भागेको सूचना मोबाइल अलर्टबाट दिइएको भए पनि पछि त्यो सत्य नभएको पुष्टि भयो । बुर्गेनलान्डका अधिकारीहरूका अनुसार चितुवाबाट अरू मानिस जोखिममा नरहेको तथा साक्शोनी-आन्हाल्ट राज्यको नेब्रास्थित सो पशुशालामा कसरी त्यो घटना भयो भनेर अनुसन्धान भइरहेको छ ।

जर्मनीबाट प्रकाशित हुने बिल्ड पत्रिकाले घाइते महिलाको नाम जेसिका लाइडोल्फ भएको जनाएको छ । घटना हुँदा उनी त्यहाँ के प्रयोजनका लागि तस्बिर खिचाउन गएकी थिइन् र कसले व्यवस्थापन गरेको थियो भन्ने खुलेको छैन । लाइडोल्फको वेबसाइटका अनुसार उनी आफैँले घोडा, बिरालो, परेवा र सुगा पालेकी छन् ।

तपाईको प्रतिक्रिया