बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

अधिकांश जनसम्पर्क समिति(जसस)हरु अधिवेशनको संघारमा उभिएका छन् । उनीहरुले छिटै आफ्ना क्षेत्रीय तथा राष्ट्रिय अधिवेशन सम्पन्न गर्नु पर्ने अवस्था छ । जसका लागि क्रियाशील सदस्यको नयाँ सदस्यता वितरण र नवीकरणको सिफारिस गर्नुका साथै जससको नयाँ नेतृत्व र नेपाली कांग्रेसको महाधिवेशन महासमिति प्रतिनिधिको निर्वाचन पनि गर्नु पर्ने छ। कोविड १९ संक्रमणको जोखिम बीचको अप्ठेरो यो अवस्थामा पनि पार्टी र जससको बिधि-बिधान अनुसार बेलामा नै यी सबै कामहरु गर्नु पर्ने वाध्यात्मक अवस्था छ ।

कुनैपनि संगठनको राष्ट्रिय अधिवेशन यस कारण महत्वपूर्ण मानिन्छ कि यसले संगठनको अघिल्लो कार्यकालको समीक्षा गर्दै भविष्यको लक्ष्य र कार्यदिशा निर्धारण गर्दछ । नेपाली जन सम्पर्क समिति भनेको नेपाली कांग्रेसको भातृ संस्था वा शुभेच्छुक संस्थाको रुपमा मान्यता नभएपनि नेपाली कांग्रेसले अफ्नो बिधानमा छुट्टै बिशेष व्यवस्था गरेको छ। “नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिबद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरुले पार्टीको केन्द्रीय समितिको स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्ने छन्” । त्यसैले नेपाली कांग्रेसको विधानले विदेशस्थित जनसम्पर्क समितिहरुलाई एउटा छुट्टै दृष्टिकोणबाट हेरको देखिन्छ । तर पनि जनसम्पर्क समितिहरुका संगठन, क्रियाकलाप तथा कार्यक्रम सम्वन्धमा स्पष्ट दृष्टिकोण तथा नीति बनेको भने देखिंदैन । त्यसरी नै जनसम्पर्क समितिहरुले प्रवासी नेपाली समाजमा नेपाली कांग्रेसको सिद्दान्त, मान्यता र मूल्यहरुप्रति प्रतिवद्ध रही संस्थागत व्यवहार एवं पार्टीप्रतिको निष्ठा अनि आदर्श प्रस्तुत गर्दै प्रवासी नेपालीका सबै प्रकारका समस्याहरुमा समेत साथ सहयोग दिंदै जानु पर्ने र एउटा व्यवस्थित प्रजातान्त्रिक चरित्र भएको संगठनको पहिचान बनाउन आवश्यक थियो र छ जुन दुर्भाग्यबस अहिलेसम्म हुन सकिरहेको छैन । त्यसो त त्यताट्टि परिलक्षित पनि देखिंदैन । अझ ध्यान दिनु पर्ने अर्को पक्ष के छ भने सायद निकट भविष्यमा विदेशबाट पनि नेपालको राष्ट्रिय निर्वाचन अर्थात् संसदीय निर्वाचनमा भोट दिन मिल्ने व्यवस्था हुन् सक्ने सम्भावना रहेको अवस्थालाई मध्यनजर गर्दा जससले आफ्नो संगठनलाई स्थानीय तहसम्म विस्तार गर्दै प्रवासी नेपाली दाजुभाई दिदी बहिनीहरुको मन जित्न सफल हुनुपर्दछ तर यस पक्षमा भने कसैको ध्यान गएकै देखिंदैन ।

त्यसैले विदेशस्थित सबै जनसम्पर्क समितिहरुको सामू अनेकौं गम्भीर प्रश्न र चुनौतीहरु  देखिन्छन् कि जनसम्पर्क समितिलाई नेपाली कांग्रेसको संगठनात्मक ढाँचामा कहाँ  र कस्तो स्वरुप र चरित्रमा विकसित गर्ने हो ? यसले नेपाली कांग्रेस र प्रवासी नेपाली समाजमा के योगदान गर्ने हो ? भन्ने कुरापनि स्पष्ट छैन । त्यस्तै यसले विदेशमा रहेका समस्त नेपाली समुदायमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउने र संगठनलाई कसरी विकसित र एकतावद्ध गर्ने हो ? प्रवासी नेपाली दिदीवहिनी दाजुभाइको सेवा कसरी गर्ने हो ? नेपाली जनसम्पर्क समितिहरुका गतिबिधिहरु, काम गर्ने शैली, विवाद र झगडा अनि यसका नेतृत्वको चिन्तन र व्यवहारलाई कसरी समसामयिक, सक्रिय, एकतावद्ध अनि प्रजातान्त्रिक बनाउन सकिन्छ ? आदि धेरै प्रश्नहरु छन् जसका विषयमा गम्भीर छलफल र बहसको आवश्यकता छ । हाल विद्यमान रहेका अधिकांश जससलाई  नजिकबाट अध्ययन गर्दा अधिकांश जनसम्पर्क समितिले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउनुको सट्टा नेपाली कांग्रेसको छविलाई बिगार्ने, नेपाली कांग्रेसमा र नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका योद्धा कार्यकर्ताहरुलाई अपमान र मानमर्दन गर्ने र सिङ्गो संगठनलाई निस्कृया बनाएर निश्चित स्वार्थ भएका सीमित व्यक्तिहरुको अमुक समूह वा पार्टीका अमुक नेताको प्रभाव र नियन्त्रणमा रहेको अवस्था छ । यी सबै परिस्थितिलाई नियन्त्रण र प्रभावकारी बनाउन पार्टीले कुनै गुट उपगुटमा प्रत्यक्ष रुपमा संलग्न नहरेको केन्द्रीय सदस्यको संयोजकत्वमा सबै देशका जससका सभापतिहरु संलग्न जससको एउटा विश्वव्यापी संजाल (ICC) बनाउनु पर्छ । यसले संसारभरी रहेका जन सम्पर्क समितिहरुलाई संस्थागत रुपमा नेतृत्व प्रदान गर्न सबै जससहरुलाई एउटै फोरममा जोडेर समान रुपमा पार्टीको नीति निर्देशन, संगठनलाई बिधिबिधानमा संचालन गरी प्रभाबकारी भूमिका सम्पादन गर्न मद्दत गर्नेछ । नेपाली जनसम्पर्क समितिको संगठनका सन्दर्भमा नेपाली कांग्रेस पार्टीले आउने राष्ट्रिय अधिवेशनमा गम्भीर समीक्षा गरी उचित नीति र कार्यक्रम निर्माण गर्नु पर्ने देखिन्छ । त्यस्तै गरेर प्रवासमा रहेका समस्त कांग्रेसका कार्यकर्ताहरुले पनि जससलाई लोकप्रिय, लोकतान्त्रिक र प्रभावकारी बनाउन प्रयाप्त बहस र छलफल गर्न जरूरी छ । हाल अस्तित्वमा रहेका जनसम्पर्क समिति र तिनीहरुको गतिबिधिलाई हेर्दा  नेपाली कांग्रेसले कुन उद्देश्यका साथ यसको संगठन परिचालित गरेको छ र जससहरुले वास्तवमा के गरिरहेका छन् ? भनेर ठ्याकै भन्न नसकिने अवस्था भएपनि विदेशस्थित जनसम्पर्क समितिहरुको सही व्यवस्थापन र संचालन गर्न सक्ने हो भने नेपाली कांग्रेस पार्टीलाई धेरै ठुलो सहयोग र समर्थन प्राप्त हुने कुरामा दुईमत छैन ।

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले केही समय अगाडिको आफ्नो अमेरिका भ्रमणमा जनसम्पर्कका साथीहरुलाई “तपाईहरुले कांग्रेसलाई पैसा होइन विचार दिनुहोस्” भन्नु  भएको कुराले के प्रष्ट  हुन्छ  भने जनसम्पर्क समितिहरुप्रति नेपाली कांग्रेसले गरेको आशा एवं अपेक्षा बैचारिक सहयोग, विचारको र चेतनाको प्रवाह हो जुन नेपाली समाजको रुपन्तरणको लागि अति आवश्यक छ । नेपाली समाजलाई  बदल्नु पर्ने जिम्वेवारी  नेपाली कांग्रेसको काँध माथि छ र त्यो केबल बिचार र चेतनाको सबल र सशक्त प्रवाहबाट मात्र सम्भाब हुन्छ । जननेता बिपि कोइरालाले मार्क्सवादको बैचारिक कमजोरीको उल्लेख गर्दै “मानिस ब्रेडले होइन, ब्रेनले संचालित हुन्छ” भन्नु  भएको थियो तर विडम्बनाको कुरा के देखिन्छ भने अहिले हामी र हाम्रा अधिकांश संस्थाहरु विचार र चेतना विहीन, मूल्य मान्यता र आदर्श विहीन अवस्थामा विकसित भईरहेको देखिन्छ । राजनीति केवल सत्ता प्राप्ति र संघसंगठनहरु पद प्रतिष्ठा प्राप्तिका लागि धाँधली एवं जालसाजीपूर्ण खेलमा सीमित भएका देखिन्छन् । नेपाली कांग्रेस पार्टी जो नेपालमा  प्रजातन्त्रको संवाहक बनेको छ, यसले र यसका  इमान्दार एवं सिद्धान्त निष्ठ कायकर्ताले मात्र नेपाली समाजमा प्रजातन्त्र/लोकतन्त्रको असली व्यवहार र व्यवस्था निर्माण र विकास गर्न सक्छन । यदि नेपाली कांग्रेस र यसका संगठन प्रजातान्त्रिक मान्यता र मूल्यबाट निर्देशित हुन सकेन भने प्रजातान्तिक चरित्र र व्यवहारको इमान्दार प्रदर्शन गर्न सक्दैनन् र फेरी पनि जननेता बिपीले भने जस्तै प्रजातन्त्र केही मुट्ठीभरका सुकिला मुकिलाहरुको लागि हुन जान्छ । फलतः आम नेपाली जनताले प्रजातन्त्रको फल चाख्न पाउने छैनन् ।

जनसम्पर्क समितिहरूले विदेशस्थित नेपाली समाजमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दछन् । यसको महत्व र दायित्व व्यापक छ तर जब यी संगठन केही मुठीभरका गैरराजनैतिक व्यक्ति अथवा समूहको प्रभाबमा पर्छन, निहित स्वार्थपूर्ति गर्न पैसा र पदको आधारमा संगठन भित्र चरम विसंगति, विवाद र विभाजन गर्छन तब नेता शेखर कोइराला तथा युवा नेता गगन थापाले भने जस्तो यी संस्थाहरुको औचित्य छ कि छैन भनेर पार्टीले मूल्यांकन गर्नु पर्ने बेला आएको छ भन्ने कुरा बुझ्न गाह्रो नपर्ला ।  विकसित देश र समाजमा बसेर जनसम्पर्क समितिले गर्ने कामहरु साच्चै नै नेता कोइराला वा थापाले भने जस्तो नेपाल र नेपालीको लागि उदाहरणीय हुनु पर्ने हो । प्रजातन्त्र के हो? प्रजातान्त्रिक मान्यता मूल्य के हुन्? संगठन के हो? यसको संचालनको विधी के हो? भनेर एउटा विचार र विधी सिकाउनु पर्ने जनसम्पर्क समितिहरु त्यसको बिपरित यिनको(जना सम्पर्क समितिको)विवाद मिलाउन नेता नेपालबाट आउन पर्ने, यिनले संगठनको संचालनको कुनै विधी विधानको पालना गर्न नपर्ने, आम कार्यकर्ताको हित विपरित केही मुट्ठीभरका गैर कांग्रेसी चरित्र भएका व्यक्तिहरुको प्रभावमा संगठनको संचालन हुने र प्रजातान्त्रिक मान्यता र मुल्यको उपहास हुने, आफ्नो संगठनको स्वच्छ र धाँधली रहित निर्वाचन गर्न नसक्ने, पार्टीको महाधिवेशनमा धेरै प्रतिनिधि पठाउने उद्देश्यले जवरजस्ती नक्कली क्रियाशील सदस्यहरुको नाम सिफारिस गर्ने र उनीहरुको सदस्यता शुल्क पनि तिनै प्रतिनिधिबाट उठाउने जस्ता घोर अनैतिक र भ्रष्ट गतिबिधि हुने जस्ता र अन्ततगोत्व नेपाली कांग्रेसको साख गिर्ने गिराउने जस्ता कामहरु हुने हो भने यस्ता संगठनहरुको कुनै औचित्य छैन । यसको संचालनमा नेपाली कांग्रेसले गंभीर भएर सोच्न पर्ने अवस्था आईसकेको छ।

निकट भविष्यमा हुन गईरहेको नेपाली जनसम्पर्क समिति जापानको अधिवेशनले पनि बिगतका दिनहरुमा यसले खेलेको भूमिका एवं यसका सांगठनिक क्रियाकलापहरुको वस्तुनिष्ठ भएर समीक्षा गर्ने नै छ। करीव एक लाख नेपाली बसोबास गर्ने जापानमा जनसम्पर्क समिति जापानको भूमिका सानो छैन । तर दुखका साथ भन्नै पर्छ कि हालका केही बर्ष जसस जापानको संगठनलाई पुरै निस्कृया तुल्याईएको छ । जसस जापानले कति गर्न सकेकको छ छैन यो सबैका सामु प्रष्टै छ । हिजो हामीले के गर्यौं के गरेनौं भन्ने कुराको पनि आत्मसमीक्षा हुन जरूरी छ । जनसम्पर्क समिति जापानले के कुरा प्रष्ट बुझ्न जरूरी छ भने यो संगठन कांग्रेसको संगठन हो । यो कुनै अन्तराष्ट्रिय गैर सरकारी संस्था(INGO) होइन न त यो कुनै ब्यापारिक संस्था हो। यो निश्चित राजनैतिक विचार बोकेको संस्था हो जो नेपाली कांग्रेसप्रति प्रतिबद्ध छ । यो कांग्रेस पार्टीको नीति नियम अनि निर्देशनमा संचालित हुन्छ । यसको आफ्नै विधान पनि छ । त्यसैले के हाम्रा गतिबिधिहरुले यो संगठनलाई बलियो बनाउँदै छ ? के हामीले विधी विधानको इमान्दारीपूर्वक पालना गरेका छौं ? हाम्रा गतिविधिले संगठनलाई कता लादैछौं ? हामीले कसको हितमा काम गर्दैछौं ? भन्ने  कुरा पनि समीक्षा गर्ने बेला आएको छ ।  कतै यस संस्थामा केही निश्चत स्वार्थ भएका व्यक्तिहरुको कब्जा त बढी रहेको छैन ? कतै यसले अत्यन्तै केन्द्रीकृत रुपमा संचालन गरेर क्षेत्रीय संगठनहरुलाई कमजोर र बेकम्मा बनाउने, केन्द्रमा निश्चित स्वार्थ समूहहरुको गठबन्धनसहित संस्था कब्जा गर्ने प्रवृति हाबी भएको त छैन ? हाम्रो जनसम्पर्क समिति जापानले कस्तो चरित्र  र व्यवहारलाई  विकसित गर्दै आइरहेको छ भन्ने कुरा पनि जापानबासी सबै नेपाली कांग्रेसका निष्ठावान कार्यकर्ता एवं शुभचिन्तकहरुले आउने अधिबेशनमा मुल्यांकन पक्कै गर्ने नै छन् ।

अन्तमा,  विभिन्न प्रजातान्त्रिक  मुलुकमा कार्यरत जससले प्रस्तावित गरेको अधिवेशनले नेपाल र नेपालीलाई एउटा प्रजातान्त्रिक संगठनको उदाहरणीय नमूना बनेर देखाउन सक्नु पर्दछ। जससका अधिवेशनले  नेपाली राजनीतिमा मात्रै नभई बिदेशी भूमिमा समेत देखिएका भ्रष्टाचार, अनैतिक चरित्र, नेताको चाकडी र चाप्लुसी, व्यक्ति तथा संगठनहरुका अप्रजातान्त्रिक क्रियाकलाप एबं चरित्रलाई  नियन्त्रण गरी एउटा सभ्य र सु-संस्कृत प्रजातान्त्रिक संगठनको संचालनबाट मात्र गर्न सकिन्छ भन्ने उच्च विचार राक्न सकोस् र कांग्रेसको इज्जत र प्रतिष्ठालाई सधैं उच्च राख्न सकोस भन्ने हार्दिक शुभकामना ।***
(लेखक जनसम्पर्क समिति जापानको सल्लाहकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया