शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – अमेरिकी राष्ट्रपति जो बाइडनले दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताएका छन् । काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयसीमाभित्र उक्त काम सम्पन्न गर्ने बताए ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताए । दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो ।

बाइडनले के भने ?
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धारमा १३,००० जनाको उद्धार गरिसकिएको बताए । तर अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्‍याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ ।

बाइडनले अमेरिकी राहदानीवाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताएका थिए । तर काबुलबाट प्राप्त कैयौँ विवरणमा विमानस्थलसम्म आउन अमेरिकीहरूले बाधा खेप्नुपरिरहेको बताएका छन् । शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ ।

तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहेका छन् । ‘घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपुर्‍याउँछौँ,’ सङ्कटलाई सम्बोधन गर्न बिदा छोट्याएर फर्किएर अमेरिकी राष्ट्रपतिले भने ।

अमेरिकी नागरिकहरूको उद्धार प्राथमिकता रहेको भन्दै उनले अमेरिकी सेनालाई सहयोग गर्ने ५०,००० देखि ६५,००० जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताए । ;कुनै गल्ती गर्नुहुँदैन । यो उद्धार अभियान खतरनाक छ । यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिदैँछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया