शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

उपत्यकामा रेल कहिले गुड्छ ? काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई तीन वर्ष अघिसम्म यो प्रश्न निकै प्यारो लाग्थ्यो । तर, अहिले यसैले उनलाई गिज्याउन थालेको छ । आफ्नै कार्यकालमा मेट्रोरेल, मोनोरेल सञ्चालन गर्ने, स्मार्ट सिटी बनाउने लगायतका घोषणा गरेर विद्यासुन्दर शाक्य चार वर्षअघि काठमाडौँको मेयरमा विजयी भएका हुन् । तर, आगामी फागुनमा कार्यकाल सकिँदासम्म रेल गुड्ने त परै जाओस्, घोषणाका धेरै बुँदा अधुरै रहने निश्चित प्रायः छ । स्थानीय तह सम्हालेपछि धेरै चर्चाको पात्र मेयर शाक्य अनेक घटनामा जोडिएर आलोचित बने भने प्रतिवद्धतालाई पन्छ्याएको आरोप निरन्तर खेपिरहेका छन् । समग्रमा बितेका चार वर्षको अनुभव कस्तो रह्यो ? के गर्न सकियो र के-के अधुरै रह्यो ? यसै विषयमा केन्द्रीत रहेर मेयर शाक्यसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ  । चार वर्षमा गरेका कामका लागि आफूलाई सयमा कति नम्बर दिनुहुन्छ ?
म त परीक्षार्थी हुँ । नम्बर कति दिने भन्ने कुरा नगरवासीको हातमा छ । मलाई टिकट दिने दल, मतदाता र आम नगरवासीले मूल्यांकन गरिरहेका होलान् । मेरो नेतृत्वमा काठमाडौँ महानगरपालिकामा व्यवस्थित ढंगले काम गरेका छौँ । चुनावका बेला जनताको माझमा जे बोलेका थियौँ, त्यसमध्ये धेरै काम सम्पन्न पनि गर्‍याैँ । मैले महानगरवासीबाट राम्रो सहयोग पाएँ । सबै जनप्रतिनिधिबाट पनि सहयोग पाएँ । अहिलेसम्मका नगरसभा र नगर कार्यपालिकामा फरक मत दर्ज गराउनु परेको छैन । सबै निर्णयहरू सर्वसम्मतरूपमा गर्‍याैँ ।

तपाईंको कार्यकालको बितेको अवधि कस्तो रह्यो ?
म मेरो कार्यकाल भन्दिनँ, हाम्रो भन्छु । मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य हामी सबैको कार्यकालमा मैले सबै जनप्रतिनिधिबाट सहयोग पाएको छु । यसमा कर्मचारी साथीहरू पनि हुनुहुन्छ । जहाँसम्म यो अवधिको कुरा गर्नुभएको छ- काठमाडौँ र अरु ७ सय ५२ वटा स्थानीय तहको तुलना गर्न मिल्दैन । यो देशको राजधानी, यहाँका स्थानीयसँगै देशैभरीबाट काठमाडौँ आउनेको संख्या उल्लेख्य छ । दैनिक रुपमा लाखौँ नागरिक काठमाडौँ आउँछन् । त्यसको सम्बोधन काठमाडौँ महानगरपालिकाले गर्नुपर्छ । यो गर्दै गर्दा कति गर्न सकियो कति सकिएन तर, हिजो हामी महानगरमा आउँदा कार्यालयदेखि घर पुग्दासम्म धुलोले आफूले आफैँलाई चिन्न नसकिने हुन्थ्यो, हरेक सडकमा खाल्टाखुल्टी थिए । अहिले खाल्टाखुल्टी देख्नुहुन्न, धुलो देख्नुहुन्न । सम्पदा संरक्षणमा पुरातत्व विभाग र गुठीबाट अपेक्षा थियो, तर त्यहाँबाट नभएपछि महानगरपालिकाले सम्पदा पुनर्निर्माण गरेको छ, संरक्षण गरेको छ । दरबार हाइस्कुल, रानीपोखरी, धरहरा बनाइसक्यौँ, कमलपोखरी बन्दै छ । अदालतले रोकेका र गुठियारहरूका बीचमा विवाद भएका ठाउँबाहेक धेरैजसो ठाउँमा काम सम्पन्न गरेका छौँ । पूर्वाधारको क्षेत्रमा, अप्ठ्याराका बीचमा फोहोर व्यवस्थापनको क्षेत्रमा राम्रो काम गरेका छौँ । बञ्चरे डाँडा (ल्यान्डफिल साइट) नबनेको हुनाले गाह्रो त अहिले पनि छ तैपनि हामीले सहजरूपमा काम गरिरहेका छौँ ।सय दिनमा गर्छु भनेका १०१ काम १५ सय दिन बित्दासमेत अलपत्र छन् नि ?
कतिपय काम हुन सकेन । सबै पार्टीको चुनावी घोषणापत्र उस्तै-उस्तै हुन्छ । भाषामात्रै फरक हुन्छ, शैली फरक होला । हिजो केपी ओली प्रधानमन्त्री हुँदा खोपको विषयमा आलोचना भयो । अर्को सरकार आएपछि थोरै भाषा परिवर्तन गरेर खोप निःशुल्क उपलब्ध गराउँछौ भनेर पहिलो निर्णय भयो । एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका घोषणापत्रमा धेरै कुरा मिल्छन् । चुनाव जितेपछि जित्नेले गरेर देखाउनुपर्छ, हार्नेको त एजेन्डा नै होइन जस्तो सोच्ने परिपाटी छ । हामीले चुनाव मित्रवत प्रतिस्पर्धा हो भनेका थियौँ । जसले जिते पनि अर्को चुनावसम्म सहकार्य गरेर जानुपर्छ, खुट्टा तान्ने प्रवृत्ति गर्नु हुँदैन भनेका थियौँ । मैले सय दिनका एक सय एक काम भनेको थिएँ । त्यसमध्ये धेरै काम सम्पन्न भएका छन् । प्राविधिक कारणले, नीतिगत कारणले वा स्वामित्व विवादका कारणले हुन नसकेका केही काम छैन । बजेट भएर पनि समयमै खर्च गर्न सकिएको छैन । खरिद प्रक्रिया धेरै झन्झटिलो छ । विदेशमा ९ महिनामा भवन नै बनाएर देखाउँछन् । हामीलाई ९ महिना त खरिद प्रक्रियामा लाग्छ । अलि चाँडो गर्न खोज्यो, अख्तियार गइहाल्ने, मिडियामा आइहाल्ने । केही काम गर्न खोज्यो अख्तियारको पत्र आइहाल्छ ।

काठमाडौंवासीलाई मोनोरेल चढाएर मात्र बिदा हुन्छु भन्नुहुन्थ्यो । नीति तथा कार्यक्रमबाट योजना नै हटाउनुभएछ, किन ?
चुनावताका सबै दलको चुनावी घोषणापत्रमा मोनोरेल थियो । हामीले पनि चक्रपथमा मोनोरेल चलाउने भनेर घोषणा गरेका थियौँ, तर चक्रपथ नै बनेन । कलंकीदेखि सुकेधारा क्षेत्रसम्मको चक्रपथ विस्तारको डिपिआर अहिले पनि तयार भएको छैन । जहाँ चलाउने भनेका थियौँ, त्यहीँ सडक नबनेपछि तत्कालका लागि मोनोरेल चलाउन सकिने स्थिति देखिएन ।

मेगा हल र बुद्ध पार्कको योजना कहाँ पुगेर रोकियो ?
मैले मेगा हल बनाउँछु भनेको थिएँ । यो ठूलो प्रोजेक्ट थियो । भृकुटीमण्डपमा बनाउन प्रारम्भिक डिजाइन पनि तयार भएको थियो । त्यो जग्गाको स्वामित्व समाज कल्याण परिषदमा छ । हामीले परिषदलाई डिजाइन दियौँ । जग्गाको स्वामित्वमा सहमतिका लागि प्रयास गर्‍याैँ तर, जग्गाको स्वामित्व नपाउँदा काम गर्न सकेनौँ । मैले तीन वटा काम चाहिँ मैले चाहेर पनि गर्न सकिनँ । मोनोरेल अहिले सम्भव भएन । यसमा जति गाली गरे पनि, आलोचना गरे पनि मैले पचाउने नै हो । सभाका लागि मेगा हल बनाउँछु भनेको थियो, त्यो सकिनँ । र तीनकुनेमा बुद्ध पार्क बनाउँछु भनेको थिएँ, त्यो पनि मैले गर्न सकिनँ । पैसा दिन्छु भन्दा पनि त्यहाँ मुआब्जाको विवाद सकिएन । प्रधानमन्त्रीले पनि चाहिएजति पैसा दिन्छु भन्नुभएको थियो । अरू धेरै काम सम्पन्न भएका छन् । कतिपय सम्पन्न हुने क्रममा छन् । हामीले बोलेका धेरैका कुरा पूरा गरेका छौँ ।

स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच असमझदारी, विवाद सुनिन्छ । यस्तो किन हुन्छ ?
मेरो अनुभवमा म उपमेयर र वडा अध्यक्षहरू सबैलाई मिलाएर लैजान सफल मेयर हुँ । हामी मेयर र उपमेयर अलग अलग पार्टीबाट जितेका हौँ तर हाम्रो जति मेल अरू एउटै पार्टीबाट जितेकामा पनि पाउनुहुन्न । उहाँ (उपमेयर)ले नबोलेको कुरा पनि कतिपय मिडियामा बोलेको भनेर आयो । उहाँ चीनमा हुँदा यता अन्तर्वार्ता छापियो, उहाँलाई थाहा नै थिएन । फाटो गराउने उद्देश्यले लेखे । अहिले पनि एकअर्कालाई जुधाउने मिसन पत्रकारिता छ, भ्रमित पार्ने र उचाल्ने । शुरूमा केही सामान्य कुरामा असमझदारी जस्तो भए पनि पछि त्यो रहेन ।

प्रदेश सरकार र संघीय सरकारसँग सम्बन्ध कस्तो रह्यो ?
दुवै सरकारसँग महानगरको सम्बन्ध सुमधुर रह्यो । मैले आवश्यक सबै सहयोग पाएँ । स्रोतको हिसाबले मैले सहयोग माग्नु परेन । स्रोत हामीसँगै छ । हामीले त नगर-नगर साझेदारी भनेर अरू नगरहरूलाई पनि सहयोग गरेका छौँ । काठमाडौँ महानगरभित्र संघीय र प्रदेशका माननीयहरू धेरै छन् । उहाँहरूलाई पनि सरकारले पैसा दिएको छ । एउटा नक्सा कोरिसकेपछि बनाउनुपर्नेमा त्यो पैसाले जसलाई जे मन लाग्छ त्यही बनाउन थाल्ने स्थिति भयो । यसो गर्दा महानगर कुरूप हुन्छ भन्ने मेरो कुरा हो । जसलाई जे मन लाग्यो त्यो काम गर्ने कुरामा मेरो आपत्ति रह्यो । चार वर्षको मेरो अनुभवमा यहाँ अन्तरनिकाय समन्वयन छैन । वर्षमा अर्बभन्दा बढी बजेट त खन्ने र पुर्नेमा गइरहेको छ । नगरभित्रको सामान्य कामका लागि विदेशीसँग पैसा माग्नु पर्दैन । ठूलो प्रोजेक्टका लागि विदेशी सहयोग खोजौँ ।सांस्कृतिक शहरका रुपमा रहेको काठमाडौं महानगर कंक्रिटमय बनेको छ । वातारवरण पनि दिनानुदिन प्रदुषित हुँदै गएको छ । यसबाट पार पाउन के गर्ने ?
बुझेको सबैले छ । समस्या धेरै छ । यहाँ रोजगारीको अवसर छ । लाखौँ व्यक्ति यहाँ छन् । काठमाडौंको स्थानीयभन्दा धेरै देशका विभिन्न स्थानमा मानिस यहाँ छन् । किनकि यहाँ अवसर पनि छ । अहिलेपनि रोजेको काम नपाएपनि भेटिएको काम गर्ने हो भने काम गरेर खान काठमाडौंमा समस्या छैन । त्यसका कारण जनसंख्या बढेपछि बस्ती पनि बढ्ने भइहाल्यो । शुरुमा नेपाल जाने भनेपछि काठमाडौंका भित्रि शहर मात्रै थिए । हिजो कालिमाटी गाउँ थियो, वानेश्वर गाउँ थियो, शंखमुल, सामाखुसी गाउँ थियो, रिङरोड बनाउँदा त्यसभन्दा बाहिर बस्ती थिएन । तर अहिले रिङरोडबाहिर घना बस्ती भइसक्यो । राज्यले अवसर र सेवा पाउने अबस्था प्रदेश मुकामहरुमा दिनसक्नुपर्‍याे, त्यसो भयो भने काठमाडौंले थेग्न सक्ला हैन भने ओभरलोड भएर काठमाडौंमा केही होला कि भन्ने चिन्ता समेत छ । अर्को भनेको बाटो उही हो, तर यातायातको साधन बढिरहेको छ, बाटो चौडा गर्न घर भत्काउन थालियो भने सबै घर भत्काउनपर्छ । अब काठमाडौं महानगरभित्र गाडी आवश्यक छैन ।

काठमाडौँ नगरवासीले एउटा मेयरका रूपमा आफूलाई कसरी सम्झियून भन्ने लाग्छ ?
यो मैले भन्ने खालको कुरा होइन । हामी हिजोका कामहरूबारे थाहा पाउन इतिहास पढ्छौँ । रेकर्ड तोडेर अगाडि जानुपर्छ भन्ने मेरो मान्यता छ । कसैले ८० नम्बर ल्याएको छ भने मैले ८५ ल्याउनुपर्छ । उसलाई ७० मा झारेर मैले ७५ ल्याएर जित्ने होइन । खुला प्रतिस्पर्धा हुनुपर्छ । अर्कोलाई असफल बनाएर म सफल देखिने होइन । स्वस्थ प्रतिस्पर्धा गर्ने हो । हामीले सम्पदा क्षेत्रमा काम गरेका छौँ । यसले सय वर्षभन्दा धेरै सम्झाउँछ । परम्परागत बाजा बजाउने गुरुहरूको सम्मानमा गुरुभत्ता दिएका छौँ । यो एउटा ऐतिहासिक काम भएको छ । यसमा नगरका हामी सबै जनप्रतिनिधि संलग्न छौँ, मेयरमात्रै होइन । यो नागरिकले मूल्यांकन गर्ने कुरा हो ।

अन्त्यमा तपाईं एमालेको नेता हुनुहुन्छ, अहिले पार्टीमा चर्को विवाद छ । पछिल्ला घटनाक्रमलाई कसरी नियाल्नु भएको छ ?
यसमा सैद्धान्तिक बहस केही पनि छैन । नेताहरूको इगोका कारणले भएको हो । शीर्ष नेताहरू मिल्दा सबै कुरा मिल्छ । आमाबाबु झगडा गरे भने बच्चाको के दोष ! शीर्ष नेताहरूको विवादमा हामीले गरेर हुने केही पनि छैन । हामीले ५४ सालमा पार्टी फुटेको देख्यौँ, यसमा हाम्रो तहको भूमिका केही पनि थिएन । पछि ५८ सालमा मिल्यो, त्यसमा पनि हाम्रो भूमिका थिएन । अहिलेको विवाद कार्यकर्ताको भावनाअनुसार होइन, जनताको भावनाअनुसार पनि होइन । अहिले एमालेमा भइरहेको विवादले पार्टीलाई मात्रै होइन, सिङ्गो देशलाई हानी हुन्छ । धैर्य राखौँ, केही बोल्नै पर्दैन । कसैलाई गाली पनि गर्नु पर्दैन । केही समयपछि जनताले केपी ओली नै ठिक भन्नेछन् । जे नहुनुपर्ने भयो, इगो छाडेर नेताहरू मिल्नुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया