याद भएसम्म मैले जानेरै शुरुमा नमस्ते गरेको भनेको दशैंमा टिका लगाउने बेला हो । अरुले नमस्ते गरेको देखेर नमस्ते गरें होला सायद । टिका–जमरा लगाएर आशिष थाप्ने माहौल थियो । मैले असजिलो पाराले मान्यवरलाई नमस्ते गरें । त्यो देखेर वरपर बसेर टिका थाप्न पालो पर्खिएकाहरु गलल्ल हाँसे । मान्यवरले गोडा अगाडि तेर्साउँदै भन्नुभयो –‘छोरो मान्छेले नमस्ते गर्ने होइन, गोडामा ढोग्ने हो । गोडामा ढोग गरिस् भने ५ रुपैयाँको नयाँ नोट दिन्छु ।’ वरपरको माहौलबाट आएको प्रेसर अनि ५ रुपैयाँको नयाँ नोट पाउने लोभमा मैले मान्यवरको गोडामा मन नलागेरै ढोग गरें । म नमस्ते गर्दा जति प्रफुल्ल थिएँ । गोडामा ढोगिदिंदा थिईन । किन भने त्यसमा अलिकति आशा, अलिकति लोभको समिश्रण थियो । अभिवादन स्वरुप गरिने नमस्ते एकअर्का प्रतिको सम्मान हो । सम्मान मनको गहिराईबाट टुसाउनु पर्छ । र, त्यो सदावहार मौलाईरहनु पनि पर्छ । नमस्ते लोभ र स्वार्थविहीन हुनुपर्दछ । त्यसरी गरिएको नमस्ते नै अर्गानिक नमस्ते हो । खाँटी सम्मान हो ।
यतिखेर एनआरएनएको चुनावी माहौल बढेसँगै नमस्तेको प्रवाह पनि एक्कासी बढेको छ । प्रत्यक्ष या त अप्रत्यक्षरुपमा केही पाउन गरिएका नमस्तेहरु अहिले फुटपाथे सामान सरह भएको छ । सामाजिक सञ्जालको भरपुर प्रयोग गरेर नमस्तेको प्रवाह अझ बाक्लो छ । अघिपछि नचिने झैं गर्नेहरु अहिले सीधै नाकको डाँडीमा ठोक्किएला जसरी नमस्ते गर्न हान्निएर आउँछन् । दुःखसुखमा बाक्लै भेटघाट भईरहने आफन्तिको जस्तै व्यवहार गर्छन । चुनाव अघिसम्म हो भन्ने निश्चित छ नै तैपनि मतदाताहरुले माया पाएका छन् । नमस्ते पाएका छन् । आत्मियता महसुस गरेका छन् । कहिले त यस्तो लाग्छ कि कसैले मास्क मिलाउन हात माथि लग्यो भने पनि अब उसले नमस्ते गर्न खोज्दैछ ।
अघिल्लो हप्ता कामबाट फर्किंदै थिएँ । सिनओकुवो स्टेशन अगाडि एकजनाले नमस्ते गर्नुभयो । मैले राम्ररी चिनिन । तैपनि मैले तपाईंलाई चिनिन नि भन्न मिलेन । अनायासै भएको भेट भएपनि भेटलाई सामान्य बनाउन मैले के छ हाल खबर भनेर सोधें । उहाँले ठीकै छ भन्नुभयो । सँधै भेटघाट भईरहेर घुलमिल भएको व्यक्ति नभएकोले कुरा टुंग्याएर फर्कने सोच बनाउँदै थिएँ । उहाँले केही कुरा गर्न खोज्नुभए झैं गर्नुभयो । म केहीबेर रोेकिएँ । उहाँले भन्नुभयो –‘के छ बजारको माहौंल ? सरहरुले पनि सहयोग गरिदिनु प¥यो । यसपटक एनआरएनए अभियानमा
होमिएको छु ।’ मैले आश्वासन दिंदै भनें–
‘हामी त छँदैछौं नि बरु अरुतिर समय दिनुहोस् । मलाई भन्दा अरुलाई बढी नमस्ते गर्नुस् । सबैले विश्वास गर्ने हुनुस् ।’
नमस्तेको व्यापक प्रयोग हुने भनेको दुई वर्षमा एकपटक हो । जाडोमा दुलाभित्र लुकेर बसेको सर्प गर्मीमा बाहिर निस्किएजस्तो जबजब एनआरएनएको चुनाव आउँछ अनि दुला पसेर बसेका समाजसेवा गर्न आतुर मनहरु नमस्तेसहित बाहिर आउँछन् । अघिल्ला वर्षहरुमा पनि यसरी नै नमस्ते हावी भएको थियो । नमस्ते गरेरै पदमा पुगेकाहरुले कसरी नमस्तेको फाइदा घुमाउरो तरिकाले उठाए भन्ने कुरा दिनको घाम झैं छर्लङ्ग छ । ९० हजार बढी नेपालीको जनसंख्या भएको जापानमा मुस्किलले १० प्रतिशतले मात्रै सदस्य लिन पाएका छन् । चुनावी मेलामा मात्र नमस्ते गर्ने प्रथालाई परिवर्तन गरेर संधैभरी नमस्ते गरेर सदस्यता बनाउने अभियान थाल्ने हो भने वल्ल नमस्ते अर्थपूर्ण होला । तर त्यो हुन सकेको छैन । एकै पदका लागि पनि थुप्रै उम्मेदवारहरु नमस्ते गर्दै चुनावी मैदानमा उत्रिएका छन् । तर राम्रालाई नभई हाम्रालाई जिताउने भन्ने अभ्यास चलेको प्रष्टै देखिन्छ । यही विषयवस्तुको प्रसंगमा एकजना अग्रजले भन्नु भएको थियो –‘हाम्रालाई भन्दा राम्रालाई दिने मन हो । तर राम्रा कोही भए पो ? सबै उस्तै छन् । धेरै प्रचारमुखी भए । पैसा भए समाजसेवी भईंने रहेछ । अब यो संस्था कता जान्छ थाहा छैन ।’
हुन पनि उमेरको हिसावले भन्ने हो भने यो संस्था अहिले लक्का जवानीको उमेरमा छ । तर सर्वसाधारणको आस्था र भरोसाको संस्था बन्नै सकेन । दुईचार सय सदस्य बनाएर त्यही गोलचक्करमै घुमिरहेको छ । र जबसम्म सर्वसाधारणलाई मौसमी भोटरको रुपमा मात्र लिने अनि संस्थालाई नितान्नै व्यक्तिगत फाइदाको रुपमा प्रयोग गरिन्छ भने यसको आकार वर्षौं यही अवस्थामा रहने पक्का छ । जब चुनाव आउँछ अनि नमस्ते गर्नेहरु नम्र तरिकाले नमस्ते गर्छन् । त्यही नमस्तेको विश्वास गरेर पदमा पुर्याउँछन् अनि नमस्ते विर्सिएर व्यक्तिगत फाइदा कहाँबाट उठाउने भन्ने ध्याउन्न गर्नेहरुले कसरी समाजसेवा गर्छ ? देश शोकमा डुब्दा गरेका सहयोगमा मनोमानी गरेको कुरा सबैलाई थाहा भईसक्यो । अघिल्लो वर्षहरुमा यहाँसम्म पनि सुनियो कि कसैले चुनावमा हारेर पनि संस्थाको ठूलो पदवाहक मै हुँ भन्दै संस्थाको नाम र लोगो प्रयोग गरी नितान्त व्यक्तिगत फाइदाको लागि भिजिटिङ्ग कार्ड बनाएर बाँड्दै हिंडे । पद, पैसा र पेशाको लागि मनलाग्दी गर्नेहरु हावी भए । यिनीहरुको नालीवेलीको वर्णन हजार जिब्रो भएको शेष नागले पनि गर्न सक्दैन । कार्यसमिति भित्रै कसैले कसैको सही चोर्छन । सदस्यहरुको इमेल र फोन नम्बर फेर्छन । यो त सोच्नै नसक्ने कुरा होइन र ?
विधिवत रुपमा दर्ता भएर चालु रहेको संस्थाको गतिविधी र यसका भित्री पत्रका नालीवेलीहरु अकवर र विरवलका कथा जस्तो लाग्छ । कल्पना गर्न नै नसकिने गतिविधीहरु गरिन्छ र गराईन्छ । यी र यस्तै हर्कतले नै त हो संस्था खारेजी नै गरे हुन्छ भन्ने आवाजहरु निस्केको ।
जति गाली गरेपनि, जति सराप गरेपनि उनीहरुलाई हुने केही पनि होइन । ‘कुन्नि केले सरापेर गोरु मर्दैन’ भनेजस्तो हो । तैपनि पछाडि स्वार्थका चुलेसी लुकाएर अगाडि नमस्ते गर्नेहरुको नमस्तेसँग सजग हुनैपर्छ । हरेकले आफ्नो ठाउँबाट खबरदारी गर्नैपर्छ । चाहिए जति कुहिएर गईसक्यो अब यो भन्दा बढी कुहिन दिन हुन्न । यो भन्दा बढी कुहियो भने यिनीहरु आफू पनि विग्रन्छन् र समूर्ण नेपालीको छवि पनि विगार्छन । विदेश बसेका हरेक नेपालीको आशा र भरोसाको केन्द्र बन्ने र बनाउने हो भने नमस्ते गर्नु ठीकै छ । तर लोभ र स्वार्थ मिसिएको नमस्ते हो भने भो चाहिंदैन कसैको नमस्ते । हस् त नमस्ते । ***
तपाईको प्रतिक्रिया