शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन जारी छ । यो सिजनको उपाधिका लागि उत्कृष्ट ६ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । यिनै ६ मध्येका एक प्रतिस्पर्धी हुन्- भरतमणि पौडेल ।

ताप्लेजुङबाट प्रतिस्पर्धामा सामेल हुन आएका पौडेलका लागि नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराई भोट मागिरहेका छन् । पौडेललाई भोट दिनका लागि उनले सर्वसाधारणसँग अपिल गरेका छन् । केही दिनअघि मात्रै भट्टराईको पहलमा पौडेललाई ६ लाख राशिको पुरस्कार घोषणा भएको थियो ।

भरतमणिलाई भोट माग्दै भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अहिले चर्चामा रहेको कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन दुईका प्रतिस्पर्धीहरू सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेलचाँहि मलाई हाँस्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणिजस्तो लाग्छ । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ/घरमा हुर्के-बढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन् । त्योभन्दा बढी यिनी प्रतिभाशाली छन् ।’

भट्टराई थप्छन्, ‘त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूति गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभूति मात्रै हो । बाँकी निर्णयको अधिकार त तपाईंकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’

तपाईको प्रतिक्रिया