बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन्’, थापाले भने, ‘यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन । प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुने छैन । सरकार यो संसदसँग डराउनु पर्छ । संसद सरकारसँग डराउने होइन । सरकारलाई संसदले खबरदारी गरिरहनु पर्छ ।’

अहिले देउवाको मात्रै नभएर सभामुख अग्नि सापकोटाको पनि परीक्षणको समय रहेको उनले बताए । ‘अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुख पनि हुँदैछ’, उनले भने, ‘सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ । सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस् ।’

तपाईको प्रतिक्रिया