शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं — नेपाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।
नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार २२३ कम्पनीका ४ करोड ९३ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बजारमा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । बजार घट्न थालेपछि कारोबार रकम पनि ४ अर्ब रुपैयाँमा घटेको थियो । नेप्से सूचकमा आएको सुधारसँगै कारोबार रकमसमेत वृद्धि भएको हो ।
आइतबार सेयर बजारमा सबैभन्दा बढी हिस्सा भएको बैकिङ सूचक उच्च अंकले वृद्धि हुँदा नेप्सेमा सकारात्मक प्रभाव परेको हो । बैंकिङ समूह ७२.१४ अंकले वृद्धि भएको छ । यसैगरी उत्पादन २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, फाइनान्स २४.८६, निर्जीवन बिमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बिमा ३०.८६ र लगानी समूह ०.०४ अंकले बढेको छ । आइतबार होटल तथा टुरिजम २२.५ र म्युचुअल फण्ड ०.२४ अंकले बढेका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै वित्तीय विवरण सार्वजनिक भएका कम्पनीको अवस्था राम्रो देखिएको र लगानीकर्ताहरू उत्साहित भएर बजारमा लगानी गर्न थालेका हुन् । कोभिड–१९ को महामारीका बीच पनि बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सहज देखिएको छ । गत आवको वित्तीय विवरण सार्वजनिक गरेका केही वित्तीय संस्थाको अवस्था राम्रो देखिएकाले लगानीकर्तालाई उत्साहित गरेको विश्लेषण छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै राजनीतिक परिवर्तन र सूचिकृत कम्पनीहरूको सकारात्मक सूचक र वित्तीय बजारमा तरलताको सहज अवस्थाले पनि बजारमा सकारात्मक प्रभाव पारेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।
यसैगरी अर्थमन्त्री जनार्दन शर्माले पनि लगानीकर्ताहरूको भेटघाटका साथै सार्वजनिक कार्यक्रममा आफू सेयर बजारप्रति सकारात्मक रहेको र बजारलाई नकारात्मक प्रभाव पार्ने कुनै गतिविधि नगर्ने भन्दै लगानीकर्तालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरी सचेत भएर कारोबार गर्न सुझाव दिएसँगै घट्न थालेको बजारले एक महिनापछि रेकर्ड ब्रेक गरेको छ ।

तपाईको प्रतिक्रिया