शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं — अफगानिस्तानका अधिकांश क्षेत्रमा सरकारले कर्फ्यू लागु गरेको छ । तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेपछि त्यसलाई रोक्ने प्रयास स्वरुप अफगान सरकारले कर्फ्यू लागु गरेको हो ।

राजधानी काबुल र अरु दुई प्रान्त बाहेकका क्षेत्रमा राति १० देखि बिहान ४ बजेसम्म कर्फ्यू लागु गरिएको हो । पछिल्लो दुई महिनादेखि तालिबान र सरकारी सुरक्षा बलबिचको भिडन्त बढ्दै गएको छ ।

अमेरिकीसँगै नेटोमा आवद्ध सैनिकहरु अफगानिस्तानबाट फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो गतिविधि बढाएको हो । बिद्रोही समूह तालिबानले अफगानिस्तानको आधा भागमा आफ्नो नियन्त्रण कायम गरेको अनुमान छ ।

अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजान थालेपछि तालिबानले नियन्त्रण बिस्तार गरेको हो । तालिबानले देशका सीमा तथा ग्रामीण क्षेत्रमा नियन्त्रण बनाएको छ ।

२० वर्षपहिले अमेरिकाको सैन्य हस्तक्षेपपछि तालिबान अफगानिस्तानको सत्ताबाट बाहिरिएको थियो । अहिले फेरि अमेरिकी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानले पकड बिस्तार गरेको हो ।

तालिबानले अत्यावश्यक सामग्रीको आपूर्तिका लागि प्रयोग हुने मार्ग पनि नियन्त्रणमा लिन थालेका छन् । तालिबानका लडाकुहरुले विभिन्न शहरलाई घेराबन्दी गरे पनि अहिलेसम्म नियन्त्रणमा लिन भने सकेका छैनन् ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले शनिबार वक्तव्य जारी गरेर देशका ३१ प्रान्तमा कर्फ्यू लागु गरिएको बताएको हो । काबुल, पान्जशिर र नान्गार्हार प्रान्तमा भने कर्फ्यू लागु गरिएको छैन ।

तालिबानले आफ्नो पकड बिस्तार गर्ने क्रममा यो हप्ता कान्दाहार शहरको बाहिरी क्षेत्रमा भिडन्त भएको थियो । जवाफमा अमेरिकी सुरक्षा बलले हवाई आक्रमण गरेको थियो बिहीबार ।

तर अफगानिस्तानमा अमेरिकी सैन्य अभियान आउादो अगस्ट ३१ मा सकिँदै छ । अमेरिकीसँगै विदेशी सैनिक फिर्ता भएपछिको अवस्थालाई लिएर चिन्ता थपिएको छ ।

अमेरिकाको नेतृत्वमा सन् २००१ देखि अफगानिस्तानमा सैन्य अभियान हुँदै आएकोमा आउँदो सेप्टेम्बर ११ भित्र समाप्त हुँदैछ ।

तपाईको प्रतिक्रिया