शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडाैं – सरकारले कोरोना न्यूनीकरणको लागि लगाइएकाे प्रतिबन्धविरुद्ध अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गरिएको छ।

अस्ट्रेलियाली सरकारले डेल्टा भेरियन्ट फैलिएपछि देशभर पुनः कडा प्रतिबन्ध लगाएको छ। देशको सीमावर्ती क्षेत्रहरूमा लकडाउनको अघिल्लो रणनीतिलाई निरन्तरता दिइएको हो।

सरकारको यो कदम गलत भएको भन्दै ठूला सहर सिड्नी, मेलवर्न, र ब्रिस्बेनमा शनिबार हजारौं नागरिक जम्मा भएर प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्नुका साथै सिड्नीको टाउन हल बाहिर जम्मा भएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले कम्तिमा ६० जनालाई पक्राउ गरेको छ।

न्यू साउथ वेल्स स्वास्थ्य प्राधिकरणले केही समय पहिले यी क्षेत्रलाई कोरोना ‘हटस्पट’ घोषित गरेको थियो।

न्यु साउथ वेल्स (एनएसडब्ल्यू) को प्रहरीले यो शान्तिपूर्ण प्रदर्शनलाई समर्थन गरेको जनाएको छ। तर, सार्वजनिक स्वास्थ्य आदेशको उल्लंघन गरेको केहीलाई पक्राउ गर्न परेको जनाएको छ।

तपाईको प्रतिक्रिया