बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडाैं – श्रीमतीको भेषमा इन्डोनेशियाको आन्तरिक यात्राका लागि विमान चढेका एक कोभिड सङ्क्रमित व्यक्तिलाई उडानकै क्रममा आकाशमै पहिचान गरिएको छ ।

डीडब्ल्यू भनिएका ती व्यक्तिले श्रीमतीको राहदानी र कोभिड परीक्षण रिपोर्ट लिएर अनुहार पूरै छोपिने निकाब लगाएर विमानस्थलमा अधिकारीहरूलाई झुक्क्याएका थिए । उनले उडानको बीचमै निकाब खोलेर पुरुषको कपडा लगाएपछि विमान परिचारिकाहरू सशङ्कित भएका थिए ।

इन्डोनेशियामा जुलाई १९ मा सुरु भएको इदको बेला धेरै वायुसेवाले यात्रामा कडाइ गरेका छन् । प्रहरीले ती व्यक्तिलाई विमान अवतरण हुने बित्तिकै पक्राउ गरेर कोभिड परीक्षण गरिएको बताएका छन् । कोभिड सङ्क्रमित भएको पत्ता लागेपछि उनलाई घरमै आइसोलेशनमा राखिएको छ ।

प्रहरीले उनको क्वारन्टीन अवधि सकिएपछि उनीमाथि मुद्दा चलाउने बताएको छ। एशियामा कोरोनाभाइरसको केन्द्रबिन्दु बनिरहेको इन्डोनेशियामा यात्रामा कडा प्रतिबन्धहरू लगाइएको छ । दक्षिण पूर्वी एशियाको यो देशमा दैनिक औसतमा ५०,००० जना कोभिड सङ्क्रमित थपिइरहेका छन् ।

हालैका साताहरूमा त्यहाँ बिरामीको बढ्दो सङ्ख्याका कारण अस्पतालहरूमा दबाव परेको र अक्सिजनजस्ता स्वास्थ्य सामग्रीको अभाव भएको बताइएको छ । इन्डोनेशियामा झन्डै ३० लाख मानिस सङ्क्रमित भएको र ७२,००० भन्दा बढीको मृत्यु भइसकेको छ । डेल्टा भेरिअन्टले गर्दा कोभिड फैलिरहेको त्यहाँ खोप कार्यक्रम सुस्त रहेको छ ।

तपाईको प्रतिक्रिया