मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

धनी र सुखी हुने सपनाले जिस्काई रहँदा मानिसले आफ्ना जीवनका स्वर्णिम वसन्तहरुलाई आफैंले धोका दिन्छ । व्यक्तिगत सपनाहरुलाई कुल्चिएर माथि पुग्नै लाग्दा फेरि रित्तिन्छ मान्छे । लोभ र लालसाको चक्रव्यूहमा फसेर, घर समाज परिवार आफन्त र आफ्ना आकांक्षाहरुलाई समेत लत्याइदिने रहेछ मान्छे । संसारको सर्वश्रेष्ठ प्राणी मानिस समय र आधुनिकता सँगसँगै एक्लो एक्लो बन्दै गैरहेको छ आजकाल ।

संसारका विकसित देशहरूको तुलनामा हामी हाम्रो सोच कै कारण पुगौला या नपुगौला यथार्थ यतिबेला सायद भोलि के होला भविष्यलाई नैं छोडिदिउँ तर आजको यो हाम्रो विश्वव्यापी विवेकले त्यस्तो भन्दैन या संकेत देखाउँदैन पनि । गरिबीकै कारणले होला सायद हामी हाम्रा लागी कहिल्यैँ बाचेनौं न त हाम्रा पुस्ताहरु नै बाँचेका थिए ।

हामी यथार्थलाई छोडेर देखासिकीमा बाँचीरहेका छौं । समाजलाई देखाउँन बाँच्नु पर्ने छ हामीले । समाजलाई देखाउन त्याग्नू पर्नेछ हामीले । छिमेकीको भन्दा ठूलो घर बनाउने सपनाले रात भरि निदाउन दिँदैन हामीलाई । ठूलो घर बनाउँनु, ठूलो सपना किन्नु छ, महँगो गाडीमा हिँड्नु छ तर आफ्ना लागि होइन देखाउँन समाजका लागि मात्र ।

दुःखी त यहाँनेर हुन्छ मान्छे जब अरुसँग आफूलाई तुलना गर्न थाल्छ मान्छे, अरुका सपना आफ्ना सपना बनाउँन थाल्छ । म ऊ जस्तो बन्नुपर्छ या ऊ भन्दा भनी बन्नुपर्छ, ऊ भन्दा माथि हुनुपर्छ ।

जहाँ विकास हुँदैन त्यहाँ मानसिक विकृति बन्दो रहेछ समाज । कच्चा स्वार्थमा हुर्किदा रहेछन् मानिसहरू । क्षणिक देखावटी लालसाले भरिने रहेछ मनमा सपनाहरु र दौडिने रहेछ मान्छे सपना पछ्याउँदै कहाँ कहाँ । मोती जस्तै टिप्दै सँगाल्छ सपनाहरू जून कहिल्यै पूर्ण नहुने रहेछन् पनि अरूहरूलाई लागि ।

यहाँनेर ममाथि गालीको वर्षात आउन सक्छ यस्तो लेखिरहनु मेरो समाज र मानसिकताको खिल्ली उडाऊनु हो भनेर पनि तर यथार्थ यहि नै हो हामी हाम्रो आफ्नै लागि कहिल्यै बाचेनौँ र बाँच्न सकेनौं । घरघरमा सुनिने कुराकानी पनि यही हो, दाईले घर बनायो मैले बनाउँनु छ, भाइले गाडी किन्यो मैले किन्नु छ, भतिज अमेरिका गयो म कहाँ जाऊँ ? विगत दशक नजिक यो देशमा पुग्नै लाग्दा कहिल्यै सुनिएन उसले यस्तो गर्यो मैले किन सकिन, साथीले घर बनायो मैले सकिन कहिल्यै अरुसँग आफुलाई तुलना गरेको कहिँ कतै सुनिएन ।

दुःखी त यहाँनेर हुन्छ मान्छे जब अरुसँग आफूलाई तुलना गर्न थाल्छ मान्छे, अरुका सपना आफ्ना सपना बनाउँन थाल्छ । म ऊ जस्तो बन्नुपर्छ या ऊ भन्दा भनी बन्नुपर्छ, ऊ भन्दा माथि हुनुपर्छ ।

सपनाले स्वतन्त्र हुन दिँदैन, स्वतन्त्रतामा सपना हुँदैन यी आफैंमा विरोधाभाष लाग्छन् । दुवै एकअर्कामा मिल्नै सक्दैनन् । हामी ठूलो सपना देख्छौ सानो मानसिकताका साथ । गरीब छौ ठूलो सपना बुन्छौ । थाहा छैन हामीलाई कहिले हाम्रो सपना पूरा हुने हो कहिले सम्म कसको लागि कमाइरहने हो यही एउटा अनुत्तरित प्रश्नको सहि समाधान नभेटाए सम्म हामीले कमाई रहनु पर्नेछ कहिले सम्म ।

  • मोहनप्रसाद खतिवडा -टाेकियाे, जापान
तपाईको प्रतिक्रिया