शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा गरिएको एउटा अध्ययनले कोरोना भाइरस विरुद्धको खोप लगाएपछि युवा उमेर समूहमा भन्दा जेष्ठ नागरिकमा साइड इफेक्ट देखिने संभावना कम रहेको देखाएको छ ।

स्वास्थ्य मन्त्रालयका अन्वेषकहरूले फाइजर खोप लगाएका स्वास्थ्यकर्मीहरूमा गरेको प्रश्नोत्तरमा पाएको प्रतिक्रिया हेर्दा पहिलो र दोस्रो दुवै खोपको साइड इफेक्ट ६५ वर्ष नाघेका व्यक्तिको तुलनामा युवाले धेरै महसुस गरेको तथ्याङ्क छ ।

पहिलो खोप लिएका १९ हजार जना स्वास्थ्यकर्मीमा २५ दशमलब २ प्रतिशत युवाले थकान महसुस गरेका छन् भने ६५ वर्ष नाघेकामा सोही साइड इफेक्ट १२ दशमलब ४ प्रतिशतमा मात्र भएको देखिन्छ । त्यस्तै २३ दशमलब ३ प्रतिशत युवामा भेटिएको टाउको दुखाइको समस्या ११ दशमलब ९ प्रतिशत बृद्ध-बृद्धाले मात्र महसुस गरेका छन् । र ५ दशमलब ७ प्रतिशत युवामा देखिएको ज्वरो शून्य दशमलब २ प्रतिशत बृद्ध-बृद्धामा मात्र भेटिएको छ ।

त्यसैगरी खोपको दोस्रो खुराक लिएका १६ हजार व्यक्तिमा पनि युवा उमेर समूहमा नै बढी साइड इफेक्ट देखिएको छ । जसमा थकानको समस्या ७६ दशमलब ८ प्रतिशत युवामा र ३८ प्रतिशत बृद्ध-बृद्धामा देखिएको छ भने टाउको दुखाइको समस्या ६२ दशमलब ७ प्रतिशत युवामा र २० दशमलब ५ प्रतिशत बृद्ध-बृद्धामा देखिएको छ । ज्वरोको समस्या ५१ प्रतिशत युवामा र ९ दशमलब ४ प्रतिशत बृद्ध-बृद्धामा रहेको छ ।

तसर्थ युवा उमेर समूहमा भन्दा ६५ वर्ष वा ६५ वर्ष नाघेकामा खोपको साइड इफेक्ट निकै कम हुने बुझिएको छ । साथै उक्त अध्ययनमा पुरुषले भन्दा महिलाले बढी साइड इफेक्ट महसुस गरेको देखिएको छ ।***

तपाईको प्रतिक्रिया