बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले बहुमत प्राप्त गर्‍याे । केन्द्रसहित ६ वटा प्रदेशमा वामपन्थी सरकार गठन भयो र, २०७५ जेठ ३ गते दुई पार्टी एकीकृत भएर नेकपा बन्यो । तर, पार्टी एकताले पूर्णता नपाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको बाटो रोजेपछि नेकपा विघटन हुने स्थिति बन्यो । प्रधानमन्त्रीको पहिलो कदम अदालतले सच्याइदियो । नेकपा भने एक रहन सकेन । सर्वाेच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदियो र एमाले पनि एक रहेन । माधवकुमार नेपाल समूह विपक्षी दलसँग मिलेर ओलीविरुद्ध उत्रियो । उनीहरु संघीय सरकार मात्र होइन, प्रदेश सरकारमा पनि ओली पक्षका मुख्यमन्त्री र मन्त्री हटाउन कस्सिए । यसको पहिलो मारमा परे पृथ्वीसुब्बा गुरूङ । प्रस्तुत छ, उनै गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङसँग ४० महिना मुख्यमन्त्री रहँदाको अनुभव, एमालेको आन्तरिक एकता र राष्ट्रिय राजनीतिको दाउपेचमा केन्द्रित भएर समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

४० महिनाको अवधिमा दुई पटक गण्डकी प्रदेशको बागडोर सम्हाल्नुभयो । आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
हामी संघीय शासन प्रणालीमा थियौं । कानून निर्माणको सन्दर्भ, भौतिक पूर्वाधार संरचना हस्तान्तरण गर्नुपर्ने थियो, कर्मचारी व्यवस्थापन गर्नुपर्ने थियो । यी यावत् कुरामा केही भएन भन्न मिल्दैन । संघीय सरकार र गण्डकी प्रदेश सरकारको कामको गति नै मिलेन । सबै मिलेको भए शतप्रतिशत मैले काम गरें भन्न सक्थेँ । प्रदेश सरकार शून्यबाट सुरु हुँदा जे काम गर्नुपर्ने थियो, त्यो आधारभूत काम हामीले सम्पन्न गरेका छौं । त्यस कारण ७५ प्रतिशत काम राम्रो सम्पादन भयो । सुशासनको क्षेत्र, पूर्वाधार निर्माण, समृद्धिको अभियान, उत्पादन उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना गर्ने या जनशक्ति व्यवस्थापनजस्ता कुरा ४० महिनामा सुरु भएर अन्त्य हुने थिएन । काम सबै धेरै राम्रोसँग प्रारम्भ गरेका छौं । त्यसकारण मेरो करीब ४० महिनाको कार्यकाल सफल हो भन्दा अतिशयोक्ति नहोला ।

भनेपछि जति समय बिताउनुभयो सरकारमा, त्यसमा सन्तुष्ट हुनुहुन्छ ?
हाम्रो सरकार नेपालको एउटा क्लिन सरकार हो । सात वटा मध्ये विवाद नभएको प्रदेश नै छैन । कहीँ माननीयलाई १०, १५ करोड दिने भनेर हचुवामै निर्णय गरेको हुन्छ । हामीले १ सय ६७ वटा कार्यविधि बनाएका छौं, कामलाई व्यवस्थित गर्न । हाम्रा मन्त्रीहरू कुनै भ्रष्टाचार, घुसखोरी र अनियमिततामा मुछिएका छैनन् । यो हिसाबले पनि हाम्रो सरकार क्लिन सरकार थियो । मेरो समस्या मैले मन्त्रीहरूलाई भिजन, स्पिरिटअनुसार लैजान सकिन भन्ने लागिरा’छ । उहाँहरूलाई धेरै आलोचना गरिरहन्थे, हामी एउटा टिमवर्कको भावनासाथ काम ग¥यौं । अरुसँग तुलना गर्दा हाम्रो सरकार राम्रो सरकार हो । तर मैले चाहेको जस्तो सरकार चलाएँ भन्ने कुरामा म सन्तुष्ट छैन ।अब तपाई प्रमुख प्रतिपक्षमा हुनुभयो । तपाईंको भूमिका कस्तो हुन्छ ?
हामी परिपक्व भूमिका निर्वाह गर्छाैं । हाम्रो भूमिका रचनात्मक हुन्छ । प्रतिपक्ष भन्ने बित्तिकै सरकारको हरेक कुराको विरोध गर्नुपर्छ भन्ने हुँदैन । परिपक्वताको नाममा अथवा आलोचनात्मक विपक्षको नाममा सरकारले ल्याएका सबै कुरालाई आँखा चिम्लेर समर्थन गर्ने पनि हुँदैन । हामी जे काम गर्छाैं । सही, बेठीक हेरेर गर्छाैं । गण्डकी प्रदेशको जनताको हितको लागि गर्छाैं । प्रतिपक्षको भूमिका निर्वाह गर्छाै । गण्डकी प्रदेशको समृद्धिका लागि लाग्छौं । संघीयता कार्यान्वयनका लागि लाग्छौं । गण्डकी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले अगाडि बढाउनका लागि उहाँले राम्रो काम गर्नुभयो भने यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ ।

एमाले कलहको पहिलो मारमा तपाई पर्नुभयो । यसको कारण के देख्नुभएको छ ?
नेकपा अथवा एमाले विवादले गण्डकी प्रदेशमा कुनै असर पारेको होइन । अन्य ठाउँमा जस्तो ह्वीप उल्लङ्घन (पार्टी निर्देशन अवज्ञा) गर्ने, अन्त भोट हाल्ने, विपक्षीसँग मिलेर आफ्नो दल कमजोर बनाउने यहाँ देखिएन । एमाले संसदीय दल एकढिक्का थियो । यसकारण पार्टी विभाजनले सरकार गयो भन्न मिल्दैन । एमालेको सरकारलाई प्रदेश र केन्द्रबाट पनि जसरी हुन्छ गिराउने, जुनसुकै मूल्य चुकाएर भए पनि ढाल्ने जुन ‘ग्रान्ड डिजाइन’ बन्यो, त्यही ‘डिजाइन’अनुसार तीन मुख्य पार्टी (नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी) लागे । त्यसमा हाम्रा केही नेताहरू (वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता) को सहयोग रह्यो । त्यसको कारणले फागुन २३ गतेको फैसलापछि मलाई समर्थन दिँदै आएको नेकपा माओवादी केन्द्रले २०७८ वैशाख २ गते फिर्ता लियो । एमाले एक ढिक्का भएकाले यहाँबाट कोही लैजाने अवस्था थिएन । अरू कसैको सहयोग चाहिन्थ्यो । अतः मलाई नै समर्थन दिइरहेको राष्ट्रिय जनमोर्चालाई पनि अलग गराइयो । त्यसपछि मेरो सरकार गिर्नु स्वभाविकै थियो ।

तर, अध्यक्ष केपी शर्मा ओलीका कारण नै मुलुकमा अस्थिरताको अवस्था आएको हो नि ?
पार्टी लोकप्रिय हुँदा, स्पष्ट बहुमत प्राप्त गरेर आउँदाखेरि ‘डिजाइन’ भएर अन्तरध्वंस (सेबोटेज) गर्ने काम भएको छ । यस्तो षड्यन्त्रका बीच केपी शर्मा ओलीले आफ्नो सरकार टिकाउन खोज्नु नाजायज होइन । प्रतिनिधिसभा भंग गरेर नयाँ जनादेशमा जान खोज्नु विधिविपरीत हो र ? यो त लोकतान्त्रिक परिपाटी हो । विश्वमा लोकतान्त्रिक भनिएका देशहरूमा यो व्यवस्था छैन र ? कसैलाई मन प¥यो कि परेन त्यो बेग्लै कुरा हो । त्यसलाई सर्वोच्चले सदर नगरेपछि र प्रतिनिधिसभा पुनःस्थापना भएपछि त्यो संसद्ले उहाँहरूले भनेजस्तो ‘प्रतिगमन’ सच्याउने काम ग¥यो त ? ‘अग्रगमन’को दिशा तय ग¥यो त ? गरेन नि । तर घटनाक्रम यसमै सीमित छैन । यसलाई देखावा गरेर अरूअरू कुरा घटित भइरहेका छन् । नेपालको राजनीतिमा अस्थिरता सिर्जना गर्ने, धमिलो पानीमा माछा मार्न खोज्ने, नेपालको लोकतन्त्रलाई फेरि निल्न चाहने, त्यसलाई संस्थागत गर्न बनेको नेपालको संविधानमाथि कुनै न कुनै रूपमा प्रश्न उठाउन चाहनेहरूको योजनाभित्र यो काम छ । पात्र र खलपात्र हाम्रै मानिसहरू बनेका छन् । ‘इगो क्राइसिस’ले पार्टी र सिंगो राजनीति यो अवस्थामा पुग्यो ।इगो क्राइसिस भन्नाले ? यसको अलि व्याख्या गरिदिनुस् न ।
एमाले इगो क्राइसिसले गर्दा यो परिस्थिति आयो तर, इगो क्राइसिस एमालेभित्र मात्र होइन । काँग्रेसमा पनि छ नि ! देउवालाई अझै पनि नेता मान्न नसक्ने, पराजित भएर पनि रामचन्द्र पौडेल गनगन गरिराखेका हुन्छन् । जनता समाजवादीमा झन् ठूलो इगो क्राइसिस देखिन्छ । महन्थ ठाकुरलाई किन नेता मान्ने भन्छ, जो प्रथम अध्यक्ष हो । उपेन्द्र यादव अर्को अध्यक्ष हो । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई । नेताको इगो क्राइसिसका कारणले सिद्धान्तको मिलाप कहिल्यै भएन । नेताको पदको व्यवस्थापन गरेपछिमात्रै पार्टी एकता भएको छ, त्यो पनि इगो क्राइसिस हो । एकता सिद्धान्तमा आधारित हुनुपथ्र्यो । सिद्धान्तमा आधारित, विचारमा आधारित नबनाएर कुन व्यक्तिलाई कहाँ राख्ने भनेर मात्रै पार्टी एकता हुन्छ ? सिद्धान्तमा कुन मतभेद छ ? खाली व्यक्तिको इगो र अहम्को कारण झगडा भइराखेको छ । मलाई के विश्वास छ भने– पार्टीमा पछिल्लो कालमा आएर जुन विवाद देखिएको छ, त्यो समाधान हुन्छ । त्यसो हुँदा विपक्षी गठबन्धन राष्ट्रिय स्तरमा टुट्छ । औचित्य समाप्त हुन्छ । त्यो गठबन्धन भत्किएपछि मुलुक ‘राइट कोर्ष’ मा जान्छ ।

तपाईले भनेजस्तो सजिलै अब एमालेको एकता सम्भव छ त ?
किन छैन, हाम्रो एकता सम्भव छ भन्ने कुरा प्रदेश १ मा देखाइसक्यौं, बागमतीमा देखाइसक्यौं, लुम्बिनीमा देखाइसक्यौं । यहाँ पनि देखाइसक्यौं । हाम्रो पार्टीको आन्तरिक विवादले हाम्रो प्रदेश सरकार गिरेको होइन नि । हाम्रो एकता अक्षुण्य राख्यौं हामीले । गण्डकीमा विपक्षी गठबन्धनकै संख्या धेरै हो नि । त्यो कारणले हामीले हारेको । तर ओरालो बाटोमा दुर्घटनामा परेको गाडी हत्तपत्त आफ्नो ठाउँमा ल्याउन गाह्रो हुन्छ । राजनीति पनि त्यही हो । अहिले एमालेभित्र समन्वयकारी भूमिकाको खाँचो पनि छ । प्रधानमन्त्रीले २ जेठ २०७५ मा फर्किन तयार छु भन्दापनि यहाँ षडयन्त्र छ भनेर अपव्याख्या गर्नुभयो । त्यहाँ पनि अतिवादी छन् नि त । त्यसैले एकता अड्किरहेको छ । तर संवाद भइरहेको छ । पार्टी एकता हुन्छ । एकता हुँदा शतप्रतिशत हुन्छ कि एक दुई जना बाँकी रहन्छ भन्ने हो ।

बाँकी रहन्छन् भनेर माधव नेपाललाई भन्नुभएको हो ?
माधव नेपाल छुट्ने कुरै छैन । माधव नेपाल मूल नेता हुनुहुन्छ, उहाँ त समाहित नै हुनुपर्छ । हिजो पनि कुनै सिद्धान्त वा नीतिको होइन, जुँगाको लडाइँ थियो । नेताहरुले सिद्धान्तको जलप लगाउने त गरिहाल्छन् नि । २०५४ मा एमाले विभाजन हुँदा पनि महाकाली सन्धि राष्ट्रघाती भनेर जलप लगाइयो । तर पछाडि त्यो सावित भएन । एकताका सबै बाटा खुला छन् । अब अलग बाटो रोज्नेहरुलाई त कसैले रोक्न सक्दैन नि !एमाले एकताको बाधक को हो त उसो भए ?
अध्यक्षज्यूको अहिलेको तौरतरिका, शैलीले पार्टी एक रहेन भन्ने कुरा पुष्टि भइसक्यो । पार्टीभित्र विग्रह आउनुमा एउटा पक्ष मात्रै जिम्मेवार रहँदैन । उहाँले धेरैथोक छाडेर भए पनि पार्टी एक राख्न सक्नुपथ्र्यो । त्यो कुरामा उहाँको कमजोरी देखियो । त्योभन्दा महत्वपूर्ण अरूको लहैलहैमा लागेर, एकजना झण्डै १३ वर्ष महासचिव, अध्यक्ष चलाएको, अर्को १४ वर्ष महासचिव चलाएको प्रधानमन्त्री बनिसकेको व्यक्तित्व बदला लिने ढंगले जानुभयो । आन्दोलनलाई तहसनहस बनाउने, कमजोर बनाउने, विपक्षीहरूको मतियार बन्ने बाटोमा अग्रसर हुनुभयो । यसो गर्नु उहाँहरूको ठूलो कमजोरी हो । भुल हो । अहिलेको समस्याको मूल जड आन्तरिक विग्रह व्यवस्थापन गर्न नसक्नु नै हो । जति ठूलो अपराध गरे पनि एकपटकलाई सहेर, गल्ती महसुस गराएर पार्टी एक बनाउनुपर्छ भन्ने मान्यतामा म दृढ छु । पार्टी एकताबद्ध भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ ।

ओली पनि करेक्सन हुनुपर्ने होला नि ?
उहाँ पनि करेक्शन हुनुपर्छ । दुवै नेताको अहंकारको परिणाम होइन र यो ? यो भन्दा नासिन, बिग्रन, भत्कन बाँकी के छ र ? भत्किनुपर्ने भत्किइसकेकाले धुलो टक्टक्याएर पार्टी उठाउनुको विकल्प छैन । सबैजना दुई कदम पछि हटेर पनि एकता गर्नुपर्छ ।

अन्त्यमा, तपाईलाई विस्थापन गरेर बनेको सरकारलाई कसरी हेर्नुहुन्छ ?
यो सरकारले राम्रो काम गर्न सक्दैन र लामो समय जाला जस्तो पनि लाग्दैन । चल्नका लागि चलाउने, सरकारका नाममा सरकार राख्ने हो भने त एउटा कुरा हो । हामीले भन्दै आएका थियौं, अप्राकृतिक गठबन्धन गरेर जसरी हठात् माथिल्लो निर्देशनमा यहाँ मुख्यमन्त्री हटाएर नयाँ मुख्यमन्त्री बनाएका छन् । उहाँहरू सिद्धान्तमा आधारित भएर, कुनै कार्यक्रम, नीतिमा आधारित भएर गएको भए उहाँलाई अप्ठ्यारो हुन्थेन । सजिलो हुन्थ्यो । तर यो नितान्त कुर्चीका लागि माथि नेताको अहंकार पुष्टि गर्न एउटा विद्यार्थीले काम गरे झैं उहाँहरुले काम गर्नुभएको छ । त्यसकारण यो यथार्थमा आधारित भएर सिद्धान्तमा आधारित भएर यहाँको वस्तुगत आवश्यकता भएर गएको भए यसको आयु स्वभाविक भएर जान्थ्यो । अप्राकृतिक गठबन्धन गरेर संघीयता विरोधी क्रियाकलाप भन्छु मैले ।

तपाईको प्रतिक्रिया