बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

भरिएर पोखिनु र उम्लिएर पोखिनुमा आकाश र जमिनको फरक छ । भरिएर पोखिदा भाँडो रित्तिन पर्दैन, तर उम्लिएर पोखिंदा भाँडो नै रित्तो हुन्छ । समकालिन नेपाली राजनीतिमा सबैभन्दा ठूलो आशा गरिएका सरकारका प्रमुख सत्ताको उन्मादले उम्लिएर पोखिएका छन् । २००७ सालको प्रजातन्त्र यता नेपालको इतिहासमा संभवतः सबैभन्दा दम्भी, सबैभन्दा तानाशाही, निरंकुश र सर्बज्ञानी हुन खोज्ने सनकी शासकको छबि बनाएका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् । यो खालको अप्रिय दिन चाँडै आउँदैछ भन्ने स्वयम् उनलाई पनि प्रष्टै थाहा थियो । उनको ज्यादतीले हद नाघेकोले सर्बोच्चको गलहत्यांइमा परेपछि उनको बहिर्गमन सुखद बन्न सकेन । प्रतिनिधि सभा बिघटनको मुद्दामा सर्बोच्चले पहिलोपटक बदर गर्दाखेरी नै जनताको नाममा माफी माग्दै खुरुक्क राजीनामा दिएर बाहिरिएको भए उनको उचाई निकै बढ्नेथियो ।

छँदाखाँदाको झण्डै दुईतिहाई नजिकको बहुमतको सरकारको नेतृत्व गर्न पुगेका ओलीलाई सर्बसत्तावादी सोच र आफ्नै दम्भका कारण आफैले खनेको खाल्डोमा जाकिनुपर्‍यो । विरलै प्रधानमन्त्रीलाई प्राप्त हुने सुवर्ण अवसर उनलाई प्राप्त थियो तर उनले त्यो अवसरलाई मुलुक निर्माणमा उपयोग गरेर ऐतिहासिक प्रधानमन्त्री बन्ने मौका मात्रै चुकाएनन् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान च्यात्ने पटक पटक असफल प्रयास गरे । दुई-दुईपटकसम्म प्रतिनिधिसभामाथि बलात्कार गरे, अध्यादेशबाट स्वेच्छाचारी शासन गर्दै लोकतन्त्रको धज्जी उडाए । आसेपासे, हुक्के, चिलिमेहरुलाई पोस्नुसम्म पोसे, सामान्य भन्दा सामान्य ज्ञान पनि नभएका लम्पटहरुलाई सातु बाँडेझैं मन्त्रीपद बाँडे, उन्मादमा के बोल्ने, के नबोल्ने उनीहरुले भेउ पाएनन्, हँसाउनुसम्म जगत हँसाए, गए । विडम्वना यतिभाँती गर्दा पनि उनका अन्धभक्त सहयोगी-समर्थकहरुले साथ दिईरहे । चाहेको भए उनीहरुले ओलीको स्वेच्छाचारी कार्यशैलीलाई बीच-बीचमा रोक्न सक्थे । शक्ति र आशक्तिको प्रलोभनमा उनीहरुले त्यसो गर्न आवश्यक ठानेनन् ।

शक्तिशाली एवं बिशाल बन्न पुगेको पार्टी नेकपा ओलीकै कारण छिन्नभिन्न हुन पुग्यो । एमालेभित्रको खैलाबैलाको मूलजड पनि उनी नै हुन्, यो झनै पेचिलो बन्द गईरहेको देखिन्छ । लामो समयसम्म देश र जनताले अनावश्यक सास्ती र तनाव झेल्नुपर्‍यो । तमाम बिकासे कामहरु अवरुद्ध हुन पुगे । शासकहरुमा खराव प्रवृत्ति हावी हुँदा त्यसबाट पर्ने नकारात्मक असरका यी ज्वलन्त उदाहरणहरु हुन् । त्यसबाट पाठ सिक्दै अब राजनीतिकर्मी एवं नेपाली जनताले गल्ती दोहोर्‍याउन नहुने इमान्दार संकल्प गर्नुपर्दछ । संसारमा जनता जनार्दन हारेको इतिहास छैन । जीवनको उत्तरार्धमा पुगेका सनकी प्रधानमन्त्री ओलीलाई सर्बोच्चको फैसलाले मैदान छोड्न आदेश दिएसंगै अब उनको राजनीतिमा लगभग पूर्णविराम लागेको छ ।

उनको शासन कालमा सयौं त्यस्ता नीतिगत निर्णयहरु भए जसले गर्दा ओली नजिकका व्यक्तिहरूले झुसिलो डकार ओकलुञ्जेल प्रशस्त कमाउन पाए, मोटाए । राजनैतिक नियुक्तीका पद धमाधम बेचिए । उनका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक हुँदा पनि उनीमाथि केही कारबाही भएन । कोभिड-१९ सुरु भएसँगै करोडौंको स्वास्थ्य सामग्री ओम्नी नामको कम्पनीमार्फत ल्याएर करोडौंको भ्रष्टाचार गरियो । त्यतिमात्र नभएर ढुंगा, गिट्टी भारतलाई बेचेर अर्बौं कुम्ल्याउने षड्यन्त्र पनि गरिएको थियो, सर्वोच्च अदालतको निर्णयले रोकिएकोले मात्र त्यो अगाडि बढ्न पाएन ।

ओलीको शासन काल सम्झाउने थुप्रै दृष्टान्तहरु मध्य नेकपाभित्र पनि एमाले र एमालेभित्र पनि ओली समूहको भित्रिया वा उनीहरुको नजिक नभईकन ठूलाठूला ठेक्कापत्ता, नियुक्ति, सम्झौता जस्ता कामहरु नहुने अवस्था थियो भने केही ठूला नेताका छोराहरूको संलग्नता नभईकन कुनै पनि महत्वपूर्ण काममा अरुको सहभागिता संभव थिएन । वास्तवमा ओलीको असक्षमता, हावादारी उडन्ते कुरा, लोकतन्त्र विरोधी भावना आदिका कारण उनको शासनकालमा विचौलिया र कमिशनखोरहरुले निर्बाधरुपमा चलखेल गर्न पाएका हुन् भन्नेहरुको कुनै कमी छैन ।

कुरो पात्रको भन्दा नेपाली राजनीतिमा जबरजस्त हुर्कदैं गरेको ओली प्रवृत्तिको हो । जसको परास्त अनिवार्य थियो र भयो पनि । सर्बोच्चको फैसलाबाट नेपाली जनताको विजय भएको छ । फैसलाले संबिधान र लोकतन्त्रको पक्षमा न्याय गर्नुका साथै बहुमतको नाममा निरंकुशता लाड्न दुस्साहस गर्ने शासकलाई दनक दिएर लोकतन्त्रमा स्वेच्छाचारी गर्न कसैलाई छूट नभएको सन्देश दिएको छ ।***

तपाईको प्रतिक्रिया