शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

भदौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएसँगै नेपाली काँग्रेसमा आकांक्षी खुल्दैछन् भने महाधिवेशन केन्द्रीत सरगर्मी ह्वात्तै बढेको छ । पुराना नेताहरुले आकांक्षा व्यक्त गरिरहेका बेला नेतृत्व हस्तान्तरणका साथै पुस्तान्तरणको बहस पनि छेडिएको छ । एकातिर संवैधानिक सीमा र पार्टीभित्रको आन्तरिक घोचपेचको चुनौतीकाबीच हुन लागेको महाधिवेशन निकै सकसपूर्ण हुने देखिन्छ भने अर्कातिर मिति नजिकिँदै गर्दा पनि क्रियाशील सदस्यता विवाद सुल्झेको छैन । यो अवस्थामा महाधिवेशन कसरी सम्भव छ ? काँग्रेसको वर्तमान स्थिति, महाधिवेशन र राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित रहेर कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलासँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

देशको पछिल्लो राजनीतिक परिदृश्यलाई कसरी हेरिराख्नु भएको छ ?
यो घामजस्तै छर्लङ्ग छ । राजनीतिक अवस्था राम्रो देखिएको छैन । किनभने, यत्रो बहुमत प्राप्त गरेको सरकारले राष्ट्रिय समस्या निम्याइदियो । हामीले सोचेका थियौं, अब देशबाट अस्थिरता जान्छ । जनताले त्यसैले भोट हालेका थिए । विपक्षी भए पनि हामी प्रजातान्त्रिक सिस्टममा जानुपर्छ, त्यसलाई खल्बल्याउनुहुँदैन । संसद चल्नुपर्छ र प्रजातान्त्रिक अभ्यासबाट जानुपर्छ भनेर सरकारलाई हामीले सहयोग पनि गर्यौं । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले यत्रो दुःख गरेर लेखेको संविधान मिच्ने काम गर्नुभयो । उहाँले दुईचोटि प्रतिनिधिसभा विघटन गर्नुभयो । अझैं, हरेक निर्णय गलत गरिराख्नुभएको छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर लोकतान्त्रिक मूल्यमान्यता विपरीत काम गरिराख्नुभएको छ । उहाँले आफ्नै पार्टीलाई पनि जोगाउन सक्नुभएन । सत्ता कब्जा गर्ने र सबै मै हो भन्ने प्रवृत्ति देखियो । यसले मुलुक तहस-नहस भयो । हामीले संविधानलाई कुल्चिेर गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छौं । आशा छ, फेरि प्रतिनिधिसभा पुर्नस्थापित हुन्छ ।

अब सर्वाेच्चले तपाईंहरुले भनेजस्तो संविधानको धारा ७६ को (५) अनुसार प्रतिनिधिसभा पुर्नस्थापना गरिदिन्छ त ?
धारा ७६ को (५) मा हरेक सांसदलाई प्रधानमन्त्री छान्ने, प्रधानमन्त्री बन्ने अधिकार छ । यसमा दलिय ह्वीप पनि लाग्दैन, त्यसैले प्रधानमन्त्री ओलीले विघटन गरेको यो मुद्धा संवैधानिक इजलासमा बहसमा छ । सर्वाेच्चले फेरि पुर्नस्थापना गर्छ । जनताको सार्वभौमसत्ता सम्पन्न थलो प्रतिनिधिसभा पुर्नस्थापना हुन्छ भन्ने कुरामा चाहीँ विश्वस्त छौं । प्रधानमन्त्री कांग्रेस सभापनि शेरबहादुर देउवा बन्नुहुन्छ । यसबारेमा म धेरै टिप्पणी गर्न चाहन्न किनभने- स्वतन्त्र न्यायपालिका भनेको सबैले विश्वास गर्ने थलो हो । तपाईं देखिसक्नु भयो नि ! पछिल्लो पटक विस्तार गरिएको मन्त्रिपरिषदलाई बदर गरिदिएको छ । यसकोबारेमा हामीले किन डिभेट गर्ने ? हामी संविधान सम्मत छौं, विधि सम्मत, कानुन सम्मत छौं । कुनै पनि धाराले ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन भने टिप्पणी गर्नुको अर्थ पनि छैन ।

प्रतिनिधिका पुर्नस्थापना हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
ढुक्क छौं । स्वतन्त्र न्यायपालिकाले संविधान विपरितको कार्यलाई रोक्छ ।

अनि तपाईंहरु किन भनिरहनुभएको छ त हामी कानुनी लडाइ पनि लड्छौं, राजनीतिक लडाइ पनि लड्छौं । यसको अर्थ चाहीँ के हो ?
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा रिट दर्ता गर्दैगर्दा सबै दलको एउटा विज्ञप्ति थियो- ‘कानुनी र राजनीतिक लडाइ लड्दैछौं’ भनेर । यसको मुल उदेश्य के हो भने, कानुनी लडाइको लागि हामी सर्वाेच्चमा गयौं र बहस जारी छ । र राजनीतिक लडाइको लागि तपाईंले देख्नुभएको छ नि, आज हरेक नागरिक, समाजका अगुवा, बौद्धिक वर्ग र राजनीतिक दल आन्दोलित छ । सबैले प्रतिगमन, असंवैधानिक कदम सच्चिनुपर्छ भनेका छन्, यो भनेको राजनीतिक लडाइ हो । जनताको त्याग र बलिदानबाट आएको संघीय लोकतान्त्रिक-गणतान्त्रिक व्यवस्थालाई प्रधानमन्त्री र राष्ट्रपतिले कुल्चिन खोज्नुभएको छ तर, नेपाली जनताले यो हुन दिँदैनन् ।

माओवादी, जसपा र माधव नेपाल समूहसँग काँग्रेसको गठबन्धन कहिले र कहाँसम्म जाला ?
मुलुकलाई निकास दिन हामी सबै मिलेका हौं । अवरुद्ध भएको लोकतन्त्रलाई ट्रयाकमा ल्याउन हामी मिलेका हौं । केही समयसम्म हामी मिलेर जानुपर्छ । आगामी चुनाव र त्यसपछिको ५ वर्ष हामी मिलेर जानुपर्छ जस्तो लाग्छ । किनभने, वर्तमान व्यवस्था संस्थागत हुन कम्तिमा पाँच वर्ष सहमति र सहकार्यको राजनीतिको आवश्यकता मैले देखेकी छु ।

तर, शेरबहादुर देउवा भोलिको दिनमा प्रधानमन्त्री हुनुभएपनि उहाँ तात्विक भिन्नता दिनसक्ने क्षमता राख्ने व्यक्तित्व त होइन नि !
होइन, अब प्रतिनिधिसभा पुर्नस्थापनापछि बन्छ नि त्यो विशिष्ट सरकार बन्छ, एउटा पार्टीको हाइन । त्यो सरकार पद र कुर्सीमा बस्नको लागि बनिरा छैन के । वर्तमान समस्यालाई निकास दिन बन्ने सरकार हो । जुन ५ दलको दलीय गठबन्धन छ, त्यो गठबन्धनले नयाँ रोडम्याप तयार गर्छ, कोरोना संक्रमण क मगर्न र जनतालाई अभिभावकत्व दिन, स्वास्थ्य उपचार राहत दिन के प्याकेज गर्ने ? मुलुकका समस्या हल गर्दै विकास र समृद्धि दिन के गर्ने ? यो प्याकेजको आधारमा मापदण्डको आधारमा अबको काम हुन्छ, एकलौटी हिडेर कहाँ पुगिन्छ । केपी ओली त एक्लै हिड्नु भयो नि, आफ्नो पार्टी सम्हाल्न सक्नुभएन । यसले गर्दाखेरी चाहीँ आजको अराजक, अस्थिर अवस्था सृजना भएको हो । अहिले देखा परेको समस्या खराब व्यक्तिको हातमा सत्ता पुग्दैगर्दाका उपज हुन् । यो अरु कसैले होइन प्रधानमन्त्री आफैले सृजना गरेको हो ।

प्रसंग फेरौं, भदौमा तोकिएको कांग्रेस महाधिवेशन फेरि पनि नहुने आशंका बढिरहेको छ महाधिवेशन हुन्छ ?
एकदम राम्रो कुरा सोध्नुभयो । १४औं महाधिवेशनका लागि हामीले धेरैपटक कार्यतालिका पनि निकाल्यौं तर, निषेधाज्ञालगायतका कारण कार्यतालिका धेरैचोटि परिवर्तन भयो र प्रभावित पनि भयो । अब हामीलाई छुटै छैन । हाम्रो विधानले दिएको पाँच वर्षको समयावधि पनि हामीले उपयोग गरिसकेका छौं । संविधानले दिएको ६ महिनाको समय पनि यही भदौमा सकिँदैछ । त्यसैले नेपाली कांग्रेसले जति पनि क्रियाशील सदस्य छन्, यही असार २० सम्म इन्ट्री भइसक्छ । साउन १२ देखि वडादेखि सबै अधिवेशन सुरु हुँदैछ । भदौ १६-१९ सम्म राष्ट्रिय महाधिवेशन भनेका छौं । हामी उत्साहित छौं, महाधिवेशन तोकिएकै मितिमा हुन्छ । यसबाट भाग्न कसैलाई अधिकार छैन ।

क्रियाशील विवाद अझै टुंगिएको छैन । यहाँसम्म कि सभापतिकै जिल्लामा विवाद देखिएको छ । तोकिएकै मितिमा कसरी सम्भव छ महाधिवेशन ?
यो कुरा के छ भने, जसले तोकिएको सीमाभित्र क्रियाशील अपडेट गरेनन् उनी महाधिवेशनमा भाग लिनबाट वञ्चित हुन्छन् । त्यसैले महाधिवेशन भनेको नेतृत्वको परिवर्तनमात्रै होइन नि ! महाधिवेशन भनेको के हो भने यसले नीति, अजेन्डा र समग्र मुलुकलाई दिने कार्ययोजना पनि हो । र, कार्यकर्ताको व्यवस्थापन पनि हो । त्यसैले एउटा सीमा (डेडलाइन) नेपाली कांग्रेसको केन्द्रीय समितिले दिएको छ । त्यो भित्र जुन जिल्लाले गर्न सक्दैन अधिवेशनबाट वञ्चित हुने कुरा आउँछ । मलाई विश्वास छ, हाम्रो जिल्ला सभापतिजीहरूले तोकेको सीमाभित्र क्रियाशील सदस्य पठाउनुहुने छ ।

कांग्रेसभित्र नेतृत्व हस्तान्तरणका साथै पुस्तान्तरणको बहस सुरु भएको छ । यो बहसलाई कसरी हेर्नुभएको छ ?
एकदम राम्रो कुरा उठाउनुभयो । यो हामीले गरेकै बहस हो । अधिवेशन आएका बेला यो बहस उठ्ने गरेको छ । एउटा कार्यकाल सकिँदै गर्दा महाधिवेशनले नेतृत्वको मूल्यांकन पनि गरेको हुन्छ । के कति काम भयो, त्यसको मूल्यांकन त १४औं महाधिवेशनमा आएका प्रतिनिधिले गर्लान् । तर, कांग्रेसभित्र दुइटै पक्षको कुरा चलिरहेको छ । एउटा नेतृत्व हस्तान्तरण र अर्को पुस्तान्तरणको । त्यसैले म के भन्छु भने- उमेरले भन्दा पनि अजेन्डाले नेतृत्वको निर्धारण गर्नुपर्छ । ज्वलन्त उदाहरण हामीले भारतमा पनि देख्यौं । नरेन्द्र मोदी । त्यसैगरी संयुक्त राज्य अमेरिकामा पनि देख्यौं । उमेरले त धान्ने रहेनछ नि ! अजेन्डा हामीले बोक्न सक्यौं, जनतालाई साक्षी गरेर जनजीविकालाई गाँसेर ल्याउन सक्यौं भने जनता हाम्रो पक्षमा हुन्छन् । महाधिवेशनमा एकजनाले जित्लान् । नेतृत्व परिवर्तन होला । संगठन हात लाग्ला । तर, त्यसको पछाडि तीनै तहको निर्वाचन कांग्रेसले जित्न सकेन भने त कांग्रेस ठूलो पार्टी बन्न सक्दैन । बहस चलेको छ । यसलाई म आत्मसात पनि गर्छु । तर, सबैको निर्धारण चाहिँ १४औं महाधिवेशनमा चुनिएर आएका हाम्रा महाधिवेशन प्रतिनिधिहरूको हातमा छ । सकेसम्म एकताको महाधिवेशन बनाउनेतर्फ मेरो जोड हुन्छ ।

एकताको महाधिवेशन सम्भव देख्नुभएको छ तपाईंले ?
जिल्ला सभापतिजीहरूले उठाएको अजेन्डा हो यो । पार्टी बचाउन एकथरीले यो मुद्दा बोक्नुभएको छ । अर्कोथरीले लोकतन्त्रभित्र प्रतिस्पर्धा हो भनेर त्यसबाट किन पछाडि हट्ने पनि भनिरहनुभएको छ । कार्यकर्ताले जसलाई रुचाउँछ त्यही आउने हो । महाधिवेशन त गर्नैपर्छ । प्रतिस्पर्धा हुनुपर्छ पनि भनिरहनुभएको छ । लोकतन्त्रको सुन्दर पक्ष प्रतिस्पर्धा नै हो । तर, पनि हामी सबैको ध्यान एकतातर्फ छ । लोकतान्त्रिक पार्टीभित्र सभापति पदाधिकारीको धेरै आकांक्षी हुनु स्वाभाविकै हो । अधिवेशन त्यस्तो प्रक्रिया हो जसले आफूलाई नेतृत्वमा उभ्याउन पाउने अधिकार पनि दिन्छ । हरेकलाई अधिकार छ । तर, हामीलाई डर पनि के छ भने सबैजना प्रतिस्पर्धा गर्ने तर जित्ने त एउटैले हो नि ! जितिसके पछाडि तत्काल स्थानीय तहको निर्वाचन घर्किइरहेको हुनेछ । त्यसपछि संघ र प्रदेशको निर्वाचन पनि हामीले फेस गर्नुपर्ने हुन्छ । त्यसको असर नपरोस् भनेर एकथरी साथीहरू एकता पनि भनिरहनुभएको छ । यो राम्रो पक्ष पनि हो । कसरी जान्छ छलफलले आकार लेला ।

१३औं महाधिवेशनपछि २०७४ सालको आमनिर्वाचनमा ठूलै हारको सामना गर्नुपर्‍याे । मतदाताले कांग्रेसलाई किन पत्याएनन् ?
नपत्याएको कुरा होइन । जनता कसैको हुँदैनन् । लामो समयसम्म त कांग्रेसले सत्ता त लियो नि ! तर, पछिल्लो कालमा जब माओवादी र एमालेको गठबन्धन भयो, अपवित्र गठबन्धन भन्छु म त्यसलाई । त्यो अपवित्र गठबन्धन राष्ट्र र जनताको लागि थिएन । दुइटा पार्टी मिल्दै गर्दा स्वाभाविक रूपले मत प्रभावित हुनपुग्यो । तर, पनि समानुपातिकको मत लोकप्रिय मत छ । र, जनताले एकचोटि कम्युनिस्टलाई मत दिएर परीक्षण गरे । अस्थिरता भयो, भ्रष्टाचार मौलायो, समृद्धि त कहाँ पुग्यो कहाँ मन्त्रीहरूको बोलीमै रह्यो । कुनै कुरा पनि पूरा भएन नि त ! जनताले एकचोटि कम्युनिस्टहरूलाई मत दिए । हामी त खुसीसाथ प्रतिपक्षमा आएको हो नि ! अहिले फेरि संविधान कुल्चिने काम भयो । सत्तामा किन जान लागेको भनेर लागेको होला सबैलाई । निकास दिन कांग्रेस नबोल्ने ? संविधान सकिन थाल्यो, गणतन्त्र र लोकतन्त्र सकिन थाल्यो । राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक हो तर, पट-पटक संविधानमाथि प्रहार भयो । अमुक पार्टीको नेताजस्तो हुनुभयो । यो मुलुक कहाँ जान्छ त्यसैका लागि लोकतान्त्रिक पार्टी कांग्रेसको नेतृत्वको अगुवाइ गरिरहेको छ । मुलुकलाई परिवर्तन र अस्थिर राजनीति अन्त्य गर्न नेपाली जनता कांग्रेसतर्फ हेरिरहेको छ । र, कांग्रेस पनि जनतातिर फर्केको छ ।

अन्त्यमा, कांग्रेसमा कस्तो नेतृत्व जरुरी छ भन्ने लागेको छ ?
कस्तो कांग्रेस भन्नुको मतलब जनताको भावना र मर्मलाई बुझ्ने कांग्रेस बन्नुपर्छ । विधि र नीतिमा आधारित भएर हिँड्ने सक्षम, सबल, कर्मशील, संगठनशील, वैचारिक र राष्ट्रिय राजनीतिमा पनि सबैलाई प्रभावित गर्नसक्ने नेतृत्व आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया