म सानो छँदा आमाले भन्नु हुन्थ्योे– ‘माग्नेलाई एकमुठी चामल र दुई ढिका नून लगेर दे । खाली हात फर्काउन हुन्न । माग्नेलाई खाली हात फर्कायो भने सराप गर्छ । उसले सराप्यो भने सराप लाग्छ र कहिल्यै राम्रो हुन्न ।’ यी कुराहरु अझै पनि मानस्पटलमा ताजै छ । विहान विहानै घरमा आएको माग्नेलाई खाली हात फर्काउनु हुन्न । यो हाम्रो गाउँले संस्कार हो । हामी कतिपय यही संस्कारमा हुर्कियौं । त्यो एक जमाना थियो जुनबेला माग्नेप्रतिको दृष्टिकोण नितान्तै बेग्लै थियो । तर समय बिस्तारै फेरियो । माग्ने पात्र र प्रवृत्ति फेरियो । मागिखाने भाँडा फेरिए । मगन्तेहरु फेरिए ।
गाउँका माग्नेहरु शहर पसेका छन् । शहर पुगेका माग्नेहरु सिंहदरवार पसेका छन् । कुनै मगन्ते जीउनका लागि माग्छन् त कुनै मगन्ते पिउनका लागि माग्छन् । कुनै मगन्ते खाली पेट भर्नका लागि माग्छन् त कुनै मगन्ते समाजसेवा गर्नका लागि माग्छन् । त्यसो त मगन्ते शब्द नै आधुनिक जमाना अनुसार परिवर्तन भएर सहयोग भएको छ । सहयोग गर्ने दाता अनि माग्ने अभियान्ता ।
देश फेरिए पनि भेष फेरिए पनि, अनि माग्ने पाटोलाई घुमाएर दिनेतिरबाट सहयोग भने पनि आखिर कार्य माग्ने र दिने नै हो । ‘दानीलाई हानी कहिल्यै हुँदैन’, ‘यो जन्ममा दियो भने अर्को जन्ममा पाइन्छ’ । आदि इत्यादीले दानीलाई दिउँदिउँ लाग्छ । र त्यही दानीहरुले दिएको दान, गरेको सहयोगमा स्वघोषित अभियान्ता भनाउँदाहरुले रजाईं गरेका छन् । उनै माग्नेहरुले प्रत्यक्षरुपमा दिनुस् भनेर नमागी घुमाएर सहयोग गर्नुस् भने पनि कुरोको चुरो त्यही हो । उद्देश्य फरक होला तर फेरि पनि कुरो त्यही नै हो । थोरै फरक यो भेटिन्छ कि आधुनिक मगन्तेहरुले मिलाएर माग्छन् । एकातिर माग्छन् अनि अर्कोतिर दिए झैं गर्छन । आफ्नै दिने होइन, अरुले दिएकोमध्येबाट केही दिने । दिने मध्येमा पनि थोरै कामको लागि दिन्छन् त धेरै नामको लागि । आजभोलि माग्ने तरिका पनि फेरिएको छ । पहिले मगन्तेहरुले मायालाग्दो पाराले माग्थे तर आजभोलि कराएर, फकाएर, लोभ्याएर अझ भएन भने धम्क्याएर पनि माग्छन् । माग्नु उनीहरुको नैसर्गिक अधिकार हो । यो उनीहरुको माग्ने कौशल हो ।
टेलिचलचित्रका मगन्ते नारायणलाई हामी धेरैले चिनेका पनि छौं । त्यस टेलिचलचित्रमा कुनै पात्रले मगन्ते नारायणलाई लक्षित गरी ‘माग्नेको सन्तान’ भन्दा हाँसो लाग्छ । यो नबुझेर हाँसेका हौं । किनभने हामी सबै माग्नेका सन्तान हौं । आफैले केही गर्नुपर्छ, स्वावलम्वी बन्नुपर्छ भन्ने मानसिकता नै रहेन हाम्रो । मागेरै देश चलेको छ त हामीले लाज मान्नु नै किन ? परिवार मागेरै चलेको छ । अरुलाई सहयोग गर्न पनि मागेरै चलाउँछौं त अप्ठेरो मान्ने के नै छ र ? माग्नु मगन्तेको धर्म हो । सामदाम, दण्डभेद जे गरेर भएपनि उनीहरुले माग्न पाउनुपर्छ । यस्तो सोच्छन कि उनीहरु माग्नबाट बञ्चित भए भने महाप्रलय हुन्छ । मगन्तेहरुलाई माग्न प्रेरित गर्ने एक जमात छ । उनीहरुको काम भनेकै माग्न उक्साउने हो । त्यही उक्साहटमा उक्सिएर नोट, भोट, कोट, चोट जे भए पनि माग्नै पर्छ भन्ने उनीहरुको मूलमन्त्र हो । आखिर हामी माग्नेकै सन्तान ।
हालैका दिनमा माग्ने पनि यति धेरै भए कि हिजोका दिनमा विहानै दैलोमा आउँथे माग्नेहरु । तर आजभोलि हरेक चोकचोकमा बसेर माग्छन् । टोलटोलमा माग्छन् । भट्टि पसलमा माग्छन् । घरमा माग्छन्, अफिसमा माग्छन, संसद भवनमा माग्छन्, मन्त्रालयमा माग्छन्, राष्ट्रपतिको कार्यालयमा माग्छन् । गुट–उपगुट भएर माग्छन् । कहाँ माग्ने, कतिखेर माग्ने र के माग्ने भन्ने नै रहेन । जतिखेर जे सुरताल चल्छ त्यही नै माग्छन् । नोट माग्ने एकातिर छन् । भोट माग्नेहरु अर्कातिर छन् । हिजो भोट मागे, जनताले दुईतिहाइ दिए । जनताले अहिले खै के पाए ? गरीव जनताले पाउने भनेकै चोट न हो । कोरोनाको महामारीमा जनताले पाएको दुःख देखेर पनि नदेखे झैं गर्छ सरकार । त्यही मौकामा स्वाघोषित अभियान्ताहरु आफूहरुले नै सबै समस्याको समाधान गर्ने झैं घुँडा धसेर लागि परिरहेका छन् ।
देशमा मात्र कहाँ हो र ? विदेशमा पनि माग्नेहरुको विगविगी नै छ । कहिले कहाँ सहयोग गर्नपर्यो – माग्ने, कहिले कसलाई सहयोग गर्न पर्यो – माग्ने । नेपालमा भूइँचालो गयो–माग्ने । नेपालमा बाढीपहिरो गयो–माग्ने । नेपालमा कोरोना बढ्यो – माग्ने । मान्छे विरामी भयो– माग्ने । मान्छे मर्यो– माग्ने । साँच्चै सोचौं त हामी कति माग्न अभ्यस्त भएका छौं । जापानको कुरा गरौं, कहिले कहाँ दिएको छ, कहिले कहाँ दिएको छ । दिएको–दिएकै । विदेशको बसाईमा सीमित कमाईले परिवार पाल्न परेको छ । त्यही सीमित कमाईले नेपालमा भएका परिवार र आफन्तको मन टाल्न परेको छ । पाउनेले एकपटक पाउलान तर दिनेलाई भार धेरै खेपको पर्छ । नदिए इज्जत जाने, अरुभन्दा स्तर घट्ने डर छ । दशकौं जापानमा जीवन गुजारेका एक अग्रजले त्यस्तै प्रसंगमा भनेका थिए –‘सहयोग उठाउनेको होड्वाजी छ । नदिए दशौं पटक फोन नै आउँछ के गर्ने ? दिउँ दिएरै नसकिने आफू नाङ्गो, नदिउँ आफन्त साथीभाई बाङ्गो । यता भन्यो उता भन्यो कसरी चल्छ सँधै दिएर अनि कसरी चल्छ सँधै मागेर ? हुन पनि हो नेपालमा भूकम्प गयो जापानमा माग्यो । उदार मन भएकाहरुले दिए तर खै त्यो सम्बन्धित ठाउँमा पुगेको ? बाढीपहिरो गयो फेरि माग्यो । मनका धनीहरुले खाई नखाई फेरि दिए । खै त त्यो पनि सम्बन्धित ठाउँमा दुरुस्त पुगेको ?
देशको लागि योगदान दिन्छु भनेर कसम खाएकाहरु आफ्नै तलबभत्ता बढाउनुपर्छ भनेर मात्र माग गर्छन । देशको विकास विदेशीले दिन्छन् या त विदेश गएकाले पठाउँछन् भनेर घाँटी तन्काएर हेर्नु बाहेक अर्को उनीहरुको काम छैन । नेपालमा पुल बनाउन विदेशमा माग्नुपर्ने, नेपालमा बाटो खन्न, विदेशमा माग्नुपर्ने । नेपालमा अस्पताल बनाउन, विदेशमा माग्नुपर्ने । नेपालमा एम्बुलेन्स चलाउन, विदेशमै माग्नुपर्ने । देशकै विकास हामी विदेशीले मागेर गर्नुपर्ने हो भने नेपाल सरकारको काम के ? गाई नपालेरै दुध खान पाइन्छ भने किन पाल्ने गाई भनेजस्तो, कसले गर्ने दुःख ? किन काट्ने घाँस, किन सोहोर्ने गोवर ? सँधै मागेरै पाइन्छ, सबै कुरा मागेरै बनाईन्छ भने सरकारले गर्न नै किन पर्यो ?
कहिलेकाहीं यस्तो लाग्छ कि नेपाल सरकार भन्दा हामी धेरै अगाडि छौं । सरकारले भन्दा अगाडि हामीलाई काम गर्न पर्छ, नामको लागि मागेर । हामी चाहन्छौं सरकारले काम नगरोस । हामी मगन्तेहरु यो सोच्छौं कि नेपालको सबै समस्या समाधान गर्ने हामीहरुकै ठेक्का हो । जिल्लाको ग्रामीण भेगमा बाटो खन्न पर्यो, सरकारको ध्यानाकर्षण गराउनुको साटो बाटो खन्ने पैसा उठाउँछौं । गाउँमा एम्बुलेन्स र स्वास्थ्य सामग्रीको जोहो गर्नपर्यो, सरकारलाई घचघच्याउनु भन्दा अगाडि हामी पैसा उठाएर पठाउँछौं अनि किन गर्छ सरकारले ?
जापान बसेको यतिका वर्षसम्म मैले व्यक्तिगत रुपमा यो बनाउने र त्यो बनाउने भनेर जापानीले पैसा उठाएको देखेको छैन । त्यसो त सहयोग गर्नेहरुले पनि सकेसम्म आफ्नो नाम सार्वजनिक नहुने गरी र नगरिदिन अनुरोध गरेर सरकारलाई सहयोग गरिरहेका हुन्छन । एक नागरिकले गर्ने कर्तब्य शान्त र शालीन शैलीमा नै निर्वाह गर्दछन् । फलानो सिटीका एक नागरिकले आफ्नो नाम गोप्य रहने तरिकाले यति ठूलो रकम सहयोग गरेर गए भन्ने समाचार हेरिरहँदा एक बोरा चामल र दुई किलो दाल दिएर फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट्याउनेहरु अनि त्यसैको समाचार प्राथमिकतामा राखेर बाहिर ल्याउने संचारकर्मीको बारेमा सोच्दा कठै भन्न मन लाग्छ । होइन हामी कति नामका भोका हौ ? जापानमा नागरिकले कर तिर्छन, सरकारले नागरिकको लागि अत्यावश्यक कुराहरुको व्यवस्था गर्छ । तर माग्नेका सन्तान हामी सबै कुरा मागेरै चलाउँछौं । हुँदा हुँदा यतिसम्म कि फुटवल खेल्न, भलिवल खेल्न अरु के के हो के के । त्यति मात्र नभएर यो महामारीमा भूपू मन्त्रीहरुले सुविधा खोजिरहेका छन् । सुविधाको लागि मोटो रकम सवारी साधन किन्न विनियोजन भईरहेको छ । तर गरीव जनताको लागि आवश्यक कोरोनाको भ्याक्सिन भने कुन देशले देला भनेर माग्ने तयारी गरिरहेका छन् । हरेक कुरा माग्नै पर्ने हामी माग्नेका सन्तान । सँधै मागेरै चलाउनु पर्ने हामी माग्नेका सन्तान । कहिलेकाहीं यसो सोच्ने गरौं, सँधैभरी यसरी मागेरै कसरी चल्छ ? कहिलेसम्म भईरहने हामी माग्नेका सन्तान ?
तपाईको प्रतिक्रिया