शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

सूचना र प्रविधिको बिकाससंगै भित्रिएको सामाजिक सञ्जालको बढ्दो प्रचलनले समाचारको खेतीपाती गर्नेहरुका लागि ठूलो चुनौती थपिएको छ । पाठकको ध्यान आफुतिर तान्नका लागि उनीहरुको रुची र तत्कालीन आवश्यकताको पहिचान गर्ने काम त्यति सजिलो छैन । कुनै घटनालाई मन लागेको शैलीमा राख्दैमा समाचार बन्दैन । यसलाई पढौं-पढौं लाग्ने बनाउनका लागि समाचारको ढाँचामा ढंग पुर्‍याएर लेख्नुपर्ने हुन्छ । बिषय एउटै भए पनि सामाजिक सञ्जालमा आउने ब्यक्तिका स्टाटस र मिडियामा समाचार बनेर आउनेमा यहि फरक छ । मानव शरीरमा जस्तै समाचारमा पनि विभिन्न अंग हुन्छन् र तिनीहरुका आ-आफ्नै काम हुन्छन् । ती मध्य शीर्षकले टाउकाको, बाइलाइनले आँखाको, डेटलाइनले नाकको, लिडले मुखको, स्रोतले कुमको, तथ्यले हातको, विवरणले पेटको, पृष्ठभूमिले घुँडाको काम गरेका हुन्छन् भन्ने मान्यता रहीआएको छ । यिनै फर्म्याटको दायराभित्र रहेर पत्रकारले समाचार तयार गरिनुपर्ने दायित्व एकातिर छ भने आजको युवा पुस्तालाई समाचारतिर ध्यान खिच्नका लागि बजारका बिकाउमाल चिन्न पनि उत्तिकै गाह्रो छ ।

यसो भनिरहँदा हामी बसेको समाज र हामी बाँचेको समयको चरित्रलाई पनि भुल्न मिल्दैन । त्यही समाजलाई सुसूचित गराउन पाठकको रुची र भाषाको नियमलाई समेत सावधानीपूर्वक पालना गर्दै समाचार पस्कनुपर्ने हामी पत्रकारको धर्म हो । आज पत्रकारिताको दायरा फराकिलो बन्दै गईरहेको छ । जसमध्य अनलाइन पत्रकारिताको आफ्नै दबदबा छ । समाचार लेख्ने आ-आफ्नै शैली, भावभंगी र ढाँचा हुन्छन् नै । त्यसमा शीर्षक सबैभन्दा महत्वपूर्ण अंगकोरुपमा लिन सकिन्छ । शीर्षकले बिषयवस्तु बारे सुरुमै जानकारी गराउँछ र शीर्षक हेरेपछि समाचार पूरा पढ्ने वा नपढ्ने निष्कर्षमा पुग्नेहरुको संख्या बढ्दो छ । त्यसैले शीर्षकलाई आकर्षक र समाचारको सार खिच्नेगरी बनाउनुपर्दछ । तर यसो भन्दैमा अनावश्यक बढाईचढाई र मसलेदार बनाउन पत्रकारिताको धर्मभित्र पर्दैन । तर हामीकहाँ यसै सन्दर्भमा एकप्रकारको सँस्कार जबर्जस्त हुर्कदों छ ।

हामी शीर्षक मै भएभरको विशेषण थोपर्छौ, अनेकन फुर्का र झुम्का जोडेर निजहरुलाई खुशी बनाउन उद्यत हुन्छौं । यो सरासर गलत हो, यसो गरिनु हुँदैन । जस्तै शीर्षकमै सफल ब्यवसायी, यस्ता समाजसेवी, उस्ता समाजसेवी, चर्चित तथा लोकप्रिय फलाना, वरिष्ठ फलाना, वरिष्ठ चिलाना भनेर ठोकिहाल्छौं । निजहरुलाई त्यस्ता उपाधि दिने अधिकार समाचार लेख्ने पत्रकारलाई कसले दियो ? जापानबाट संप्रेषित हुने समाचारका शीर्षकहरु मिहिन ढंगले अध्ययन गर्ने हो भने हामी बाटो बिराउँदै छौं, सुधार गर्न ढिलो भईसकेको छ । समाचारको पेटबोलीमा कसैको उद्वरणकारुपमा आवश्यकता अनुसार त्यस्ता विशेषण जोड्न सकिएला तर आफै ठोकुवा गर्न मिल्दैन । जस्तै, हामी समाचारमा कसैलाई सजिलै सफल ब्यवसायी भनिदिन्छौं, सफल ब्यवसायी भन्न मिल्ने मापदण्ड के ? कतिवटा पसल भएकोलाई सफल ब्यवसायी भन्न मिल्ने हो ? कहींकतै यसको परिभाषा छैन । यसैगरी जसलाई पनि समाजसेवी भनेर पगरी गुथाईहाल्छौं, त्यो पनि समाचारमा । एकजना पत्रकारले आफुखुशी कसैलाई उपाधी र पदवी बाँड्दै समाचार लेख्न मिल्दैन ।

यसैगरी समाचारमा पत्रकारले सुनेकै भरमा आफै न्यायाधीश बनेर कसैलाई दोषी करार गर्न मिल्दैन, त्यसको लागि त छुट्टै निकाय हुन्छन् । त्यस्तै शीर्षक वा समाचारमा आफ्नो निजी धारणा वा तर्क लाड्न पनि मिल्दैन, समाचार पढेर धारणा बनाउने जिम्मा पाठकहरुको हो । यी र यस्ता त्रुटिहरु भएका समाचार पढ्न हामीले नै बानी पारेका पाठकहरुलाई हामीबाटै अन्याय भईरहेको छ । त्यसकारण समाचार भनेको ’एबीसी’ हो । ए भनेको एक्युरिसी (तथ्य), बी भनेको ब्यालेन्स (सन्तुलन) र सी भनेको क्रेडिबिलिटी (विश्वसनीयता) हो ।

जापानमा हरेक दुई वर्षमा एनआरएनको चुनाव आउँछ । जब माहौल चुनावी बन्दै जान्छ, फलानाले फलानो पदमा उम्मेदवारी घोषणा गरे, चिलानाले फलानो पदमा उम्मेदवारी दिए जस्ता शीर्षक भएका समाचार छ्याछ्याप्ती देख्न पाईन्छ । कुनै विद्यार्थीले परीक्षामा भाग लिनका लागि परीक्षार्थी आवेदन फर्म भर्नुपर्दछ । फर्म भर्नका लागि फर्म खुलेको हुनुपर्छ, फर्म नखुल्दै आवेदन फाराम भर्न मिल्दैन । त्यस्तै उम्मेदवारीका लागि पनि आधिकारिक निकायद्वारा उम्मेदवारीको आह्वान भएपछि मात्र उम्मेदवारी दिन र घोषणा गर्न पाईन्छ । त्यो भन्दा अगावै उम्मेदवार भनेर किटान गर्न मिल्दैन । अझ समाचारको शीर्षक मै उम्मेदवारी घोषणा भनेर लेखिनु स्वभाविक हुँदैन । यो त ’भाग खानेको भन्दा पुरा (बाँकी रहेको) खानेको चटारो’ भनेजस्तै हो । यस्तो बेलामा ’आकाँक्षी’ भन्ने शब्द प्रयोग गर्न सकिएला । ’हेर्दाहेर्दै भाउजू राँड’ भनिएजस्तै हेर्दाहेर्दै सचेत भनिने पत्रकारहरुबाटै शीर्षकमै नेपाली भाषामाथि चिरहरण हुनु राम्रो संकेत होईन ।***

तपाईको प्रतिक्रिया