बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

काठमाडौं – एक महिनादेखि बन्द आन्तरिक हवाई उडान असार १७ बाट पुनः सञ्चालनमा आउने भएको छ । गत सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान ‘कोटा’ मा लागू हुने गरी पुनः खोल्ने निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ (जुलाई १) बाट उडान सञ्चालनको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

आन्तरिक वायुसेवा कम्पनीहरूले पनि सोहीअनुसार तयारी अगाडि बढाएका छन् । ‘असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने भएकाले हामी सोहीअनुसार तयारी गरिरहेका छौं,’ निजी वायुसेवा कम्पनी बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले आयोमेलसँग भने, ‘सबै तयारी गर्न केही दिन लाग्छ ।’

सरकारले सरकारले सामान्य दिनमा हुने गरेका कूल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी कोटा तोकिदिएका कारण वायुसेवा कम्पनीहरू सोहीअनुसार उडानको तयारीमा छन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अनुसार सामान्य दिनमा बुद्ध एयरले दैनिक ६५, यती एयरलायन्सले ३०, श्री एयरलाइन्सले १६ र सौर्य एयरलाइन्सले चार उडान गरिरहेका थिए ।

अब निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ने भएपछि सरकारले तोकेको कोटाअनुसार उडान संख्या तय हुनेछ । संघका अनुसार आन्तरिक वायुसेवाहरूले यसअघि दैनिक १ सय १० सम्म उडान गर्थे । अब कोटाअनुसार यसको आधा अर्थात ५५ जति उडान हुनेछन् ।

यस हिसाबले अब बुद्धको भागमा दैनिक करिब ३३, यतीले १५, श्रीले आठ र सौर्यले दुई उडान गर्न पाउने सम्भावना रहेको संघले जनाएको छ । ‘यो संख्यामा केही तलमाथि हुनसक्छ,’ बुद्धका बजार निर्देशक जोशीले भने, ‘हामी, पर्यटन मन्त्रालय र उड्डयन प्राधिकरणबीच हुने छलफलबाट उडान सञ्चालन हुने दिन र उडान संख्या तय हुनेछ ।’

जनस्वास्थ्यका मापदण्डको पूर्णपालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि कूल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न पाइने छ ।

तपाईको प्रतिक्रिया