बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं — अस्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति (पीआर) पाउने प्रावधान अझ सहज बनाएको छ । सरकारद्वारा मंगलबार जारी गरिएको नयाँ नियमअनुसार यहाँ रहेका नेपालीले समेत राहत पाउने भएका छन् ।

अध्यागमनमन्त्री एलेक्स हकले मंगलबार २२ वटा कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा छरितो किसिमबाट भिसा प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको बताएका छन् । जसअनुसार अधिकांश नेपालीले अध्ययन गर्ने एकाउन्टिङ र सूचना प्रविधि(आईटी) विषयसमेत पछिल्लो निर्णयमा समेटिएको छ । उच्चशिक्षा अध्ययनपछि स्थायी बासिन्दाको अनुमति लिनका लागि वर्षौंदेखि संघर्ष गरिरहेका नेपाली विद्यार्थी समेत सरकारको निर्णयअनुसार छिटो प्रक्रियामार्फत पीआर लिन योग्य हुने भएका छन् ।

सरकारले यसभन्दा पहिले नर्सिङ, सामाजिक कार्यकर्ता, चिकित्सकलगायतका १९ वटा विषयमा अध्ययन गरेको कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा भिसा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सरकारले मंगलबार थप २२ वटा कार्यक्षेत्रलाई समेत यसै प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो ।

थप गरिएको सूचीमा सेफ, विभिन्न एकाउन्टिङ विषय, आईटी, इन्जिनियरिङ, सर्भेलगायतका कार्यक्षेत्र छन् । कोरोना भाइरसका कारण अस्ट्रेलियाली कार्यक्षेत्रमा दक्ष कामदारको अभाव देखिन थालेपछि सरकारले यो निर्णय गरेको समाचारमा जनाइएको छ । अस्ट्रेलियाले स्थायी बासिन्दाको अनुमति दिए नि यसलाई एक प्रकारको भिसाकै रुपमा परिभाषित गर्ने गरेको छ । मन्त्री हकले सरकारको यस निर्णयले कोभिड–१९ को महामारीपछि अस्ट्रेलियाली अर्थतन्त्र उकास्नलाई थप मद्दत पुराउने बताएका छन् । उनले यहाँस्थित व्यावसायिक संघसंस्था, साझेदार तथा अन्य सम्बन्धित निकायसँगको सरसल्लाहपछि निर्णय गरिएको समेत जनाएका छन् ।

सरकारको यस निर्णयको सरोकारवालाहरुले स्वागत गर्दै अहिलेको परिस्थितीमा विदेशबाट कामदार ल्याउन सक्ने अवस्था नरहेका कारण यो निर्णयले स्वदेशी कामदार परिपूर्तिमा सहज हुने बताएका छन् ।

विगत १० वर्षदेखि विद्यार्थीका क्षेत्रमा काम गरिरहेका सोलिसिटर सञ्जीव पाण्डे यो निर्णयले यहाँ रहेका धेरै नेपाली विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बताए । उनले एकाउन्टिङ, आईटीलगायतका विषय अध्ययन सकेर पीआरको पर्खाइमा रहेका अधिकांश विद्यार्थीलाई फाइदा हुने बताए । ‘सरकारले यो प्रक्रियाका बारेमा कसरी, कहिले र कुन किसिमले हुने भनेर खुलस्त नपारे पनि यो निर्णय सम्बन्धित बिषय अध्ययन गरेका विद्यार्थीका लागि अत्यन्तै खुसीको विषय हो,’ पाण्डेले भने ।

उनका अनुसार अस्ट्रेलियामा नेपाली विद्यार्थीले सबैभन्दा धेरै एकाउन्टिङ, नर्सिङ, आईटी र कुकरी अध्ययन गर्ने गरेका छन् । पछिल्लो निर्णयमा यी सबै विषयअन्तर्गतको कार्यक्षेत्रलाई प्राथमिकताका आधारमा भिसा प्रक्रियामा समावेश गराइने भएपछि हजारौं नेपालीलीलाई स्थायी बासिन्दाको अनुमति पाउन पहिलेको तुलनामा सहज हुने भएको छ ।

तपाईको प्रतिक्रिया