बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन ब्याङ्क र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको छ । गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको हो ।

सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो । एप्रिलमा प्रतिबिटकोइन ६३,००० अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ । सोमबार केन्द्रीय पीपल्स ब्याङ्क अफ चाइनाले हालै मुख्य ब्याङ्क र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो ।

एग्रिकल्चरल ब्याङ्क अफ चाइनाले केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ । पोस्टल सेभिङ ब्याङ्कले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ ।

मोबाइल र अनलाइन भुक्तानी सेवा अलिपेले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार रोक्न निरीक्षण प्रणाली विकास गर्ने बताएको छ । गत वर्ष विश्वभरि उत्पादन भएको ६५ प्रतिशत बिटकोइन चीनमा माइनिङ गरिएको थियो । केम्ब्रिज विश्वविद्यालयको अध्ययनले सिचुवान प्रान्त दोस्रो सबैभन्दा बढी बिटकोइन माइनिङ हुने स्थान भएको देखाएको थियो ।

बिटकोइन माइनिङमा कम्प्युटरको धेरै प्रशोधन शक्ति र ऊर्जा आवश्यक पर्छ । गत महिना चीनको मन्त्रिपरिषद् स्टेट काउन्सिलले वित्तीय जोखिम नियन्त्रण गर्ने अभियान अन्तर्गत क्रिप्टोकरेन्सी कारोबार रोक्ने बताएको थियो ।

तपाईको प्रतिक्रिया