बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडाैं – अस्ट्रेलियाले चीनले गत वर्ष आफ्नो मदिरामाथि २१८ प्रतिशत भन्सार लगाएको विषयमा विश्व व्यापार सङ्गठनमा त्यसविरुद्ध मुद्दा दायर गर्ने भएको छ । चीनले गैरकानुनी अभ्यास गरेको कारण सो निर्णय गरिएको बताउँछ जसलाई अस्ट्रेलियाले अस्वीकार गर्छ ।

अस्ट्रेलियाको मदिराका लागि चीन सबैभन्दा ठूलो बजार हो र त्यहाँका मदिरा निर्माताहरूले भन्सार दरले नराम्ररी प्रभाव पारेको बताएका छन् । अस्ट्रेलियाको सरकारले मदिरा निर्माताहरूसँगको सघन छलफलपछि विश्व व्यापार सङ्गठनसमक्ष यो विषय राख्ने निर्णय गरिएको बताएको छ ।

‘विश्व व्यापार सङ्गठनको स्थापित प्रणालीमार्फत् हाम्रो विवादलाई सुल्झाएर अस्ट्रेलियाली मदिरा निर्माताहरूको व्यापारिक स्वार्थ रक्षा गर्ने कार्यलाई सरकारले निरन्तरता दिने छ,’ व्यापार, पर्यटन र लगानी मन्त्री डान तेहानले भने ।

अस्ट्रेलियाको अङ्गुर र मदिरा उत्पादकको राष्ट्रिय सङ्घका प्रमुख कार्यकारी अधिकृत टोनी बट्टाग्लेनले सहज समाधान नभए पनि विश्व व्यापार सङ्गठनमार्फत विवादलाई अन्त्य गर्ने प्रयास सही बाटो भएको बताए । ‘यो कार्यको एउटा पक्ष भनेको चीनसँग संवादमा जाने अवस्था हो जसले सरकारलाई यो विषयका बारेमा संवाद गर्ने र समाधान खोज्ने मौका दिन्छ,’ उनले भने ।

चीनले अस्ट्रेलियाले अन्तर्राष्ट्रिय व्यापार कानुनले गैरकानुनी मानेको डम्पिङ भनिने अभ्यास गरेको आरोप लगाएको छ । स्थानीय बजारमा भन्दा सस्तो मूल्यमा अर्को देशमा उत्पादन निर्यात गर्ने कार्यलाई डम्पिङ भनिन्छ । यसको उद्देश्य स्थानीय उत्पादनहरूको प्रतिस्पर्धा समाप्त गरेर आधिपत्य कायम गर्ने हो ।

चीन र अस्ट्रेलिया महत्त्वपूर्ण व्यापार साझेदार हुन् तर कोभिड-१९ को उत्पत्तिका विषयमा अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने माग अस्ट्रेलिया गरेपछि यी दुईको सम्बन्ध चिसिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पटकपटक आफ्नो सरकारले आर्थिक दबावले नझुक्ने बताएका छन् ।

गत वर्षको अन्त्यमा चीनले अस्ट्रेलियामा निर्मित मदिरामाथिको भन्सार दर पाँच वर्षका लागि कायम गरेको बताएको थियो । यसअघि चीनले महिनौँ अस्ट्रेलियाबाट निर्यात हुने जौ, गाईको मासु र कोइलामा प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० को डिसेम्बरदेखि सन् २०२१ को मार्चसम्म चार महिनामा अस्ट्रेलियाले चीनमा एक करोड २० लाख अस्ट्रेलियाली डलरको मदिरा निर्यात गरेका छन् । एक वर्षअघि सोही चार महिनामा मदिराको निर्यात ३२ करोड ५० लाख अस्ट्रेलियाली डलर रहेको थियो ।

तपाईको प्रतिक्रिया