शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पाँच दलीय विपक्षी गठबन्धनको वैठक चलिरहेको छ । पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण र केही प्रदेशमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बसेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेरअघि बैठक शुरु भएको हो । बैठकमा देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका नेता माधव नेपाल सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिको विश्लेषण गर्दै गण्डकी र लुम्बिनी प्रदेशमा कसरी अघि बढ्ने निर्णय गर्ने तयारी छ । गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले विश्वासको मत लिए पनि मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।

सरकार गठनका विषयमा गठबन्धनमै कुरा नमिलेपछि त्यसबारेमा केन्द्रबाटै एउटा निर्णय गरेर पठाउने एक नेताले जानकारी दिएका छन् । यस्तै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सभा बैठक बहिष्कार गरेका छन् । सो प्रदेशमा के कस्ता रणनीति लिएर जाने बैठकले निर्णय गरेर सोही आधारमा प्रदेशका नेताहरुलाई जानकारी गराउने तयारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया