बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको वैठकले असार ११ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार व्यापार व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको छ । असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउने छ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

प्रजिअहरूको बैठकले गरेको निर्णय अनुसार असार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा बार अनुसार कपडा पसल, भाडा पसललगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधि बमोजिम सञ्चालन गर्न पाइनेछ ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् । बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

यस्तै निजी सवारी साधनमा जोर–बिजोर लागु गरिएको छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । सरकारी कार्यालयमा सातामा दुई दिन विदा हुने गरी सञ्चालन गर्न दिइनेछ । उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको ‘चेन ब्रेक’ गर्ने भन्दै १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । त्यसयता डेढ महीनासम्म क्रमशः निषेधाज्ञा थपिँदै आएको थियो ।

तपाईको प्रतिक्रिया