उत्तर कोरियामा खाद्य संकट : एक किलो केराको मूल्य नेपाली पाँच हजार, समस्यामा किम

काठमाडौं – उत्तर कोरियाली प्रमुख किम जोङ उनले अहिले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्नुभन्दा धेरै ठूला समस्याको सामना गर्नुपरेको छ । जनता भोकभोकै पर्ने डर छ भने यसको समाधानको उचित विकल्प नहुनुले स्थिति झन् चुनौतीपूर्ण बनेको छ ।

गएको मंगलबार मात्र उनको सरकारले एक अत्यन्तै महत्वपूर्ण राजनीतिक बैठकको आयोजना गरेको थियो, जसमा उनले सार्वजानिक रुपमै आफूहरु खाद्य संकटमा परेको स्वीकार गरेका थिए । कृषि क्षेत्र अझै पनि गत वर्षको प्राकृतिक प्रकोपको क्षतिबाट पूर्ण रुपमा उकासिएको छैन र कोभिड–१९ का कारण सीमाना बन्द हुँदा सामानहरु आयात गर्न अत्यन्तै कठिन देखिएको छ । यस्तोमा राजधानी प्योङयोङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

जानकारहरुका अनुसार चामल र इन्धनको मूल्य तुलनात्मक रुपमा स्थिर नै छ । तर, आयात निर्भर रहनुपर्ने खाद्यवस्तु चिनी, सोयाबिन, खाने तेल र मैदालगायतको मूल्य बढेको छ । त्यस्तै, स्थानीय रुपमा उत्पादन हुने केही सामग्रीको भाउ पनि पछिल्ला केही महिनामा वृद्धि भएको पाइएको छ । आलुको मूल्य पनि बढेको प्योङयोङका वासिन्दाहरुले बताएका छन् । उनीहरुका अनुसार अन्य गैरप्रमुख खाद्यवस्तु कालो चिया ७० डलरसम्म खरिद गर्न सकिन्छ भने एक प्याकेट कफी १०० डलरभन्दा बढीमा बिक्री भइरहेको छ ।

यसअघि, बीबीसीको रिपोर्टमा त्यहाँ एक किलो केराको नेपाली पाँच हजार रुपैयाँभन्दा बढी पर्ने गरेको बताइएको थियो । बैठकमा किमले खाद्यवस्तुहरुको अभाव कुन स्तरसम्म रहेको भनेर विस्तृतमा खुलासा गरेनन् । तर, संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको प्रक्षेपणानुसार उत्तर कोरियामा आठ लाख ६० हजार टन खाद्यान्नको अभाव छ, यो देशव्यापी रुपमा दुई महिनालाई पुग्ने खानेकुरा हो ।

केही समयअगाडि स्थिति यति खराब बनेको थियो कि किमले सबै जनतालाई ‘कठिन मार्च महिना’ का लागि तयार रहन समेत आग्रह गरेका थिए, जसले १९९० को दशकमा उत्तर कोरियाको खडेरी र भोकमरीलाई जनाउँछ । त्यस समय यसले देशभर लाखौंको ज्यान लिएको बताइन्छ ।

जनतासामु भगवान् समान मानिँदै आएका किम परिवारका लागि केन्द्रीय रुपमा स्थापित आर्थिक योजनाले जनताको पेट भर्न नसक्नु भनेको धेरै ठूलो समस्या हो । तर, आफ्नो बुवा र हजुरबुवाको विपरीत किमले आफ्ना यस्ता कमजोरीहरु नडराइ सबैमाझ स्वीकार गर्दै आएका छन् । यसअघि, उनी सर्वसाधारणको अगाडि पहिलो पटक आँशु झार्दै माफी समेत माग्दै गरेको देखिएका थिए ।

किमले सुरुवातदेखि नै आफूलाई ‘जनताको मान्छे’ का रुपमा छवि स्थापित गराएका छन् । नागरिकको दैनिक जीवनमा सुधार ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । सन् २०११ मा सत्तामा आएदेखि नै उनले आफ्नो एक मात्र लक्ष्य उत्तर कोरियाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको बताउने गरेका छन् । तर, आणविक हतियार कार्यक्रम अन्त्य नगर्ने र देशभरका एक लाख बढी राजनीतिक कैदीहरुलाई रिहा गर्न इच्छुक नहुनुले किमको सो योजना पूरा गर्न धेरै हिसाबमा सहज देखिँदैन ।

यता, अमेरिकासँगको सम्बन्ध र आर्थिक प्रतिबन्ध हटाउनेसम्बन्धी छलफल अहिले किमका लागि धेरै टाढाको विषय बनेको छ । तर पनि उनले बिहीबारको महत्वपूर्ण राजनीतिक बैठकमा यसबारे उल्लेख गरेका थिए । त्यहाँको राष्ट्रिय समाचार संस्था केसीएनएका अनुसार किमले वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाली नीतिबारे विश्लेषण गर्दै अहिलेका लागि प्योङयोङले वार्ता र धम्की दुवैका लागि तयार रहनुपर्ने बताएका हुन् । तर पनि उनको यो भनाइ गत महिनाको भन्दा कम आक्रामकका रुपमा व्याख्या गरिएको छ ।

यसअघि, उनले अमेरिकालाई अनियन्त्रित संकट निम्तिने चेतावनी दिएका थिए । जनवरीमा किमले अमेरिकालाई उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु ठहर गरेका थिए ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच २०१९ मा भएको ऐतिहासिक सम्मेलनमा दुवै पक्षबीच सहमति हुन नसकेपछि उत्तर कोरियाले आफूहरुप्रतिको आक्रामक नीति नहटाएसम्म अमेरिकासँग वार्ता गर्न इच्छुक नभएको जनाउँदै आएको छ । यता, बाइडेन प्रशासनले आफ्नो विदेशी एजेन्डामा उत्तर कोरियाको आणविक कार्यक्रम र मानवअधिकार उल्लंघनको मुद्दा आफ्नो नीतिको महत्वपूर्ण अंश हुने स्पष्ट पारेको थियो ।

यसअघि, उत्तर कोरियासँगको भविष्यकै लागि भनेर जापानी प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन अमेरिका भ्रमणमा गएका थिए । यसरी ह्वाइटहाउसले उत्तर कोरियासमक्ष ट्रम्पभन्दा फरक र व्यावहारिक रणनीति अपनाउने बताइरहे पनि उत्तर कोरियाले आफ्नो स्थान परिवर्तन गर्न सकेको छैन । किम जस्तै गरी बाइडेनका पनि हाल अरु नै प्राथमिकता र चुनौतीहरु छन् । सीएनएनबाट

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित