शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको पाइएको छ ।

स्वीस केन्द्रीय बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ ।

सर्वाधिक बचतको हिसाबले दक्षिण एशियामा पहिलो नम्बरमा भारत छ । भारतको २ अर्ब ५५ करोड २६ लाख, दोस्रोमा पाकिस्तानको ६४ करोड २२ लाख, बंगलादेशको ५६ करोड २९ लाख (स्वीस फ्रयाङ्क) बचतमा रहेको सार्वजनिक गरिएको तथ्यांकले देखाउँछ । त्यसपछि चौथोमा नेपाल रहेको छ ।

सार्वजनिक तथ्यांकअनुसार २०१९ मा स्वीस बैंकमा नेपालीको निक्षेप १७ करोड ५९ लाख स्वीस फ्रयाङ्क अर्थात् रू. २२ अर्ब ५३ करोड रहेको थियो । सन् २०२० मा ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्वीस फ्रयाङ्क (शनिवारको विनिमय दरअनुसार नेरू. ४६ अर्ब २२ करोड) निक्षेप रहेको छ ।

नेपालमा माओवादी द्वन्द्व शुरू भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्वीस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ । स्वीस नेशनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार १९९६ मा ४ करोड ७५ लाख स्वीस फ्रयाङ्क जम्मा गरेको देखिन्छ ।

द्वन्द्वकालको १० वर्षे अवधिमा ८ करोड ९७ लाख स्वीस फ्रयाङ्क  स्वीस  बैंकमा जम्मा गरेको तथ्यांकले देखाउँछ । स्वीस बैंकहरूले पहिलेदेखि नै आफ्ना ग्राहकको व्यक्तिगत सूचना सार्वजनिक नगर्ने भएकाले नेपालीहरूले पनि गैरकानूनी ढंगले कमाएको पैसा राखेका हुन सक्ने आकलन गरिँदै आएको छ । स्वीस बैंकमा जम्मा भएको यो रकम विदेशमा रहेका नेपालीहरूको समेत भएको बताउने गरिएको छ । २०२० मा ट्याक्स जस्टिस नेटवर्कले वित्तीय गोपनीयता सूचकमा स्वीजरल्यान्डलाई तेस्रो स्थानमा राखेको थियो ।

नेपालमा पछिल्ला वर्षहरूमा भ्रष्टाचार मौलाउँदै जानु र पारदर्शिता कमजोर भएकाले अनुचित कार्यबाट आर्जेको रकम स्वीस बैंकमा गएको हुनसक्ने धेरैको अनुमान छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यही कारण स्वीस बैंकमा रहेको नेपालीहरूको रकमलाई कानूनी रूपमा नेपालमा मान्यता दिइँदैन । विगतदेखि नै ठूलो रकम स्वीस बैंकमा बचत भइरहे पनि नेपाल राष्ट्र बैंकले भने त्यो रकम वैध हो वा अवैध भन्नेबारे न त छानविन गर्न सकेको छ न यसबारे आधिकारिक रूपमा केही प्रतिक्रिया दिने गरेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले स्वीस बैंकमा नेपालीहरूको रकम जम्माबारे राष्ट्र बैंक बेखबर रहेको बताए ।

तपाईको प्रतिक्रिया