निशाको स्वास्थ्यमा सुधार, संगीत थेरापी दिइँदै

काठमाडौं – कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी उपचार थालेको एक हप्तामा नै घिमिरे सुधार देखिन थालेको हो ।

तीन वर्षअघि अभिनय पढ्न भारतको देहरादून पुगेकी निशाको सवारी दुर्घटनामा ब्रेन इन्जुरी भएको थियो । त्यो अकल्पनीय घटनाले उनको जीवन तहसनहस मात्र भएन, उपचार अभावले गर्दा परिवारले घरखेत नै बेच्नुपर्‍यो । काठमाडौंको ट्रमा सेन्टरमा तीन महिना राखेर पनि उपचार हुन नसकेपछि निशाको सुन्दर जीवनलाई लिएर परिवारले माया मारिसकेका थिए ।

तर, नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी मेघा चौधरी निशाको जीवनमा देवदूत बनेर आए । उनीहरुले निःशुल्क उपचारको पहल मात्र गरेनन्, अहिले देखिनेगरी निशाको उपचारमा सघाएका छन् । उनीहरुकै सक्रियतामा अहिले देश तथा विदेशबाट निशालाई आर्थिक सहयोग जुटिरहेको छ ।म्युजिक थेरापीबाट उपचार हुँदै
नर्भिक अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बाँस्तोलका अनुसार अहिले निशाको उपचारमा हरसम्भव सबै उपचारका विधि प्रयोग गरिएको छ । चिकित्सकले सोमबारदेखि म्युजिक थेरापीबाट पनि उपचार गरिरहेका छन् । हिन्दी र नेपाली गीत बजाएर निशाको कानमा इयरफोन लगाएर डाक्टरले केही सुधार हुने आशा गरेका छन् । बाँस्तोलका अनुसार म्युजिक थेरापीबाट उपचार गर्दा निशामा केही उज्यालो प्रतिक्रिया मिलेको ।

गीत सुन्दा शरिर र अनुहार चलमलाउने गरेको उनको भनाई छ । तत्काल चमत्कारिक रुपमा स्वास्थ्यमा सुधार नहुने भएपनि तत्कालका लागि तंग्राउनको लागि पोषणयुक्त इन्जेक्सन दिइएको छ । न्युट्रिसियन इन्जेक्सन दिँदा शरिरमा तागत सिर्जना हुने जनाइएको छ । ‘पहिले हेरचाह नहुँदा समस्या भएको थियो तर, अहिले उपयुक्त हेरचाहले गर्दा सुधार आइरहेको छ’ बाँस्तोलाले भने ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित