बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

गत मे महिना गोल्डेन वीक बिदाको बेलाको कुरा हो । एउटा सपिङमलमा सरसामान किनेर हामी सपरिवार साँझपख घर फर्किदैं गर्दा ठूलो पानी पर्यो । पानी छल्नका लागि हामी एउटा कन्भिनियन्स स्टोरमा कार पार्क गरी केही फोटा प्रिन्ट गर्न गयौं । म मात्र कारबाट निस्किएर कन्भिनियन्स स्टोर भित्र गएँ । तर त्यहाँको प्रिन्टरमा युएसबी मेमोरी जोड्ने ठाउँ नदेखेपछि कारभित्र रहेकी छोरीलाई पनि बोलाएँ । छोरीले प्रिन्टरको टचस्क्रीनमा केही बटन चलाएपछि युएसबी पोर्टको घपना आफै खोलियो । हामीले युएसबी मेमोरीबाट केही प्रति फोटा प्रिन्ट गर्यौँ ।

यसरी हामी कन्भिनियन्स स्टोरभित्र फोटो प्रिन्ट गरिरहँदा बाहिर हाम्रो कारको छेउमा पार्क गरेर राखेको अर्को कारभित्रबाट एउटा मान्छेले उसको झ्यालको सिसा तल पारेर अघि हाम्री छोरीले कारको ढोका खोलेर बाहिर निस्कदा उसको कारमा हाम्रो ढोकाले ठोकियो भन्दै रहेछ । मैंले फोटा प्रिन्ट गरिसकेपछि त्यो मान्छेसँग कुरा गर्न गएँ । उसले ठोकिएको भनेको ठाउँमा हेरें तर कुनै दाग वा कोरिएको स्क्र्याच देखिएन । पानी परेकोले नदेखिएको होला भनेर हातले भिजेको भागलाई पुछ्दै हेरें तर पनि केही नदेखिएपछि त्यो मान्छेलाई भने, “तपाईंको कारमा अनजान मै ठोक्किन गएकोमा सरी । बाहिर ठूलो पानी परिरहेकोले गर्दा ढोका खोल्नुभन्दा पहिले केटाकेटीले छेउको कार देखेनन् जस्तो छ । कुनै पनि स्क्र्याच नदेखिएको हुनाले क्षति भएको छैन जस्तो छ ।” त्यो मान्छे मेरो कुरा सुन्दै नसुनी “किन क्षति भएको छैन ? धेरै क्षति भएको छ । इन्स्युरेन्स बोलाउनु ।” मात्र भन्छ ।

त्यो मान्छेसँग कुरा गर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो कि त्यो मान्छेको व्यवहार ठिक छैन । निम्न स्तरको बोलीचाली भएको शङ्कास्पद आचरणको मान्छेसँग वार्तालाप गरेर समस्यालाई झन् चर्काउनुभन्दा पुलिसलाई खबर गर्नु ठिक लाग्यो । ११० नम्बरमा फोन गरेर पुलिस बोलायौं । १५ मिनेट जतिमा दुई जना पुलिस आए । घटनाका बारेमा सोधे । त्यो कारको वरपर घुमेर हेरे । मेरो ड्राइभिङ लाइसेन्स र कारको स्याकेन्स्यो (कारको नियमित परीक्षण प्रमाणपत्र) मागे । पानी परेको हुनाले पुलिसहरू प्याट्रोल कारभित्र नै बसेर रिपोर्ट बनाउन थाले । जाडो भएको हुनाले हामीलाई पनि आफ्नो कारभित्र नै बस्न भने ।

त्यस अवधिमा हामी परिवारले कुरा गर्दा थाहा पायौं कि त्यो कारमा ठोकिएको नै हो भने पनि अत्यन्त बिस्तारै ठोकिएको हुनुपर्छ किनकी ठोकिएको कुरा न बाहिर निस्कने छोरीलाई थाहा रहेछ न त कारभित्र भएका अन्य सदस्यलाई नै । कारको ढोकाले बाहिरी बस्तुमा ठोक्दा आउनुपर्ने आवाज वा कम्पन केही सुनिएको थिएन । यही बीचमा त्यो मान्छेले उसको कारलाई थोरै पछाडि पनि सार्यो । त्यो ठोकिएको भनेको ठाउँ छल्नका लागि पनि हुनसक्छ ।

२० मिनेट जति समय लगाएर पुलिसले रिपोर्ट बनाएर हाम्रा कागतपत्र फिर्ता दिए । त्यो मान्छेको कारमा ठोकिएको भनेको ठाउँमा पुलिसले पनि हेरेर भने- “अहिले केही पनि भएको देखिएन । पानी परेर नदेखिएको पनि हुनसक्छ । तपाईंहरू नाम र टेलिफोन नम्बर आदानप्रदान गर्नुहोला । त्यसपछि घर जानुभए हुन्छ ।” त्यो मान्छेले इन्स्युरेन्स बोलाउने जोड गरेको हुनाले मैंले पुलिससँग इन्स्युरेन्सलाई कहिले खबर गर्दा राम्रो हुन्छ भनी सोधें । पुलिसले “सकेसम्म चाँडै गर्नुहोला” भने । सोही अनुसार मैंले त्यहीँबाट इन्स्युरेन्स कम्पनीलाई फोन गरेर घटनाका बारेमा र त्यो अर्को कारमा कुनै दाग वा स्क्र्याच नभएको पनि विस्तारमा बताएँ । उनीहरूले गोल्डेन वीक बिदापछि त्यो अर्को कारका मान्छेसँग सम्पर्क गरेर, बुझेर मलाई खबर गर्ने बताए ।

केही दिनपछि इन्स्युरेन्स कम्पनीका कर्मचारीले त्यो कारको मान्छेसँग सम्पर्क गरिसकेको जानकारी मलाई गराए । त्यो कारको के कति मर्मत गर्नु पर्ने हो हेर्न बाँकी रहेको र चाँडै गरिने पनि बताए । मर्मत गर्ने कामका लागि इन्स्युरेन्स कम्पनीलाई नै जिम्मा लगाउने कि आफैले गर्ने भन्ने बारेमा मलाई सोधे । मैंले इन्स्युरेन्स कम्पनीले नै गरि दिनका लागि अनुरोध गरें ।

लगभग दुई हप्तापछि पुनः इन्स्युरेन्स कम्पनीले मलाई सम्पर्क गरेर मर्मत कार्य सकिएको जानकारी दियो । इन्स्युरेन्स प्रयोग गरेवापत अर्को वर्षमा मैंले तिर्नुपर्ने इन्स्युरेन्स प्रिमियम २०,००० येनले बढ्ने र मेरो नन-फ्लीट ग्रेड (तोक्यु) पनि ३ पोइन्टले घट्ने कुरा बतायो । केही पनि नभएको कार मर्मत गराएर इन्स्युरेन्स प्रिमियम २०,००० येनले बढाएको कुराले मलाई अचम्मित बनायो । अनि मैले त्यो कार बनाउन कति खर्च लाग्यो र के-के मर्मत गरियो भन्ने विस्तृत जानकारीको माग गरें । इन्स्युरेन्स कम्पनीले २ लाख ६ हजार येन (मर्मतः १ लाख ६१ हजार येन, एजेन्टः ४५ हजार येन) खर्च गरेर मर्मत सम्पन्न गरेको बतायो । मर्मतको कोटेशन (मिचुमोरीस्यो) पनि मगाएँ । दुई पेज लामो मिचुमोरी रहेछ । पछाडि पट्टीको दाहिने ढोका पुरै फेर्नु परेको जसका लागि ६६ हजार येनको सामान र ९५ हजार येन ज्याला लेखेको रहेछ । ठोकिएको हो कि होइन भन्ने पनि थाहा नभएको, त्यो कारवालाले भनेको भरमा हामीले विश्वास गर्नुपर्ने अवस्था जबरजस्ती सिर्जना गरेर इन्स्युरेन्सलाई बोलाउन लगाएको त यस्तो ठगी गर्न पो रहेछ भन्ने प्रस्ट भयो । जापानमा कार चलाएको दशौँ वर्ष भइसक्दा अहिलेसम्म कतै कुनै दुर्घटनामा परिएको थिइन र इन्स्युरेन्सको सेवा पनि प्रयोग गरेको थिएन । संयोगवश यस पटक साँच्चैको ठगको फेला परिएछ ।

त्यो मान्छे त्यहाँ कार पार्क गरेर पर्खेर बसेको जस्तो थियो । कन्भिनियन्स स्टोरको सीमित पार्किङ स्पेसमा धेरै कार आउने जाने गरिरहेका हुन्छन् । कुनै न कुनै कारले (विशेषतः बच्चाबच्चीसँग यात्रा गर्नेले) पक्कै उसको कारमा ठोकाउँछन् वा त्यसै पनि अपजस लगाउन पाइन्छ भन्ने ध्येय राखेको हुनसक्छ । हामीलाई कार ठोकियो भने पछि पनि उसलाई कुनै हतार थिएन । मैंले भनेको कुनै कुरा पनि सुनेन र उसले पनि ज्यादा केही बोलेन । पटक पटक इन्स्युरेन्स बोलाउनु मात्र भनिरह्यो । पुलिस रिपोर्ट गरिसके पछि पनि त्यो मान्छेलाई घर जाने हतार थिएन । सायद त्यस दिनका लागि उसको ठग्ने उद्देश्य पुरा भइसकेको थियो होला ।

यस प्रकारको ठगी संजालमा त्यो कारवाला मान्छे, मर्मत गर्ने शप र इन्स्युरेन्सको लोकल एजेन्ट सामेल हुन्छन् जस्तो छ । त्यो मान्छे स्वयं नै कुनै मर्मत शपसँग सम्बन्धित भएको हुनसक्छ । त्यसको हातमा पनि मोबिलको जस्तो कालो लागेको थियो । हाम्रो कारको ढोकाले ठोकिएको भनेर उसको हातले देखाएको ठाउँमा मैंले मेरो हातले पुछेर हेर्न खोज्दा त्यो कालो मोबिलको दाग मेटियो र कुनै स्क्र्याच थिएन ।

इन्स्युरेन्स कम्पनीप्रति पनि शङ्का गर्ने ठाउँ छ किनभने मैंले यो झन्झटबाट मुक्त हुनका लागि इन्स्युरेन्स कम्पनीलाई मिलाउने काम जिम्मा लगाएँ । त्यो मान्छेको कारमा कुनै स्क्र्याच पनि नदेखिएको अवस्थाका बारेमा प्रस्ट बताएको थिएँ । जापान हो, इन्स्युरेन्सले सत्यतथ्य पत्ता लगाएर सोही अनुसारको व्यवस्थापन गर्छ भन्नेमा हामी ढुक्क थियौं । ठोकिएको स्क्र्याच देखिएमा सोही अनुसारको बढीमा १०-२० हजारमा मर्मत गरिदेला भन्ने लागेको थियो । यस्तो आशामा बसेको बेलामा ढोका नै फेर्न लगाउँदा पनि इन्स्युरेन्सले फेरिदिएको र ढोकाको मूल्यभन्दा ज्याला बढी तिरिदिएको सुन्दा त्यो इन्स्युरेन्सको लोकल एजेन्टप्रति पनि शङ्का गर्ने ठाउँ छ ।

यो घटनाका बारेमा मैंले जापानका मेरा अग्रज अनुभवी साथीहरूलाई पनि सुनाएँ । उहाँहरू पनि यस्तै खालका घटनामा परेको अनुभव सुनाउनु भयो । यस्ता ठगहरू एक्प्रेसवेहरूमा पनि समूहगत रुपमा प्रवेश गरि अरू कारका अगाडि पछाडि क्षण क्षणमा लेन फेर्दै अरू ड्राइभरलाई अन्योलमा पारी दुर्घटना गराउने चालमा पनि हुन्छन् रे ।

जापानमा कारका लागि दुई प्रकारका इन्स्युरेन्स गर्नु पर्छ । सबै कारले गर्नै पर्ने अनिवार्य इन्स्युरेन्स हुन्छ जसको प्रिमियम अलि सस्तो हुन्छ । अनिवार्य इन्स्युरेन्सको प्रिमियम हरेक दुई वर्षमा कारको स्याकेन्स्यो नवीकरण गर्ने बेलामा तिर्नुपर्छ । कार चलाउने क्रममा अर्काको धनजनमा क्षति हुन गएमा अनिवार्य इन्स्युरेन्सले सीमित क्षतिलाई व्यहोर्छ । त्यो सीमाभन्दा बढी क्षति दाबी गरिएमा ऐच्छिक इन्स्युरेन्सले व्यहोर्नु पर्छ । ऐच्छिक इन्स्युरेन्सको हरेक वर्ष प्रिमियम तिर्नुपर्छ । अर्काको धनजनको असीमित क्षति व्यहोर्नुका साथसाथै अन्य धेरै प्रकारका क्षति व्यहोर्ने खालको ऐच्छिक इन्स्युरेन्स हुन्छ । यस पाली मैंले प्रयोग गरेको इन्स्युरेन्स ऐच्छिक इन्स्युरेन्स हो ।

जापानमा कानुनतः इन्स्युरेन्स कम्पनीहरूले पीडितले जति दाबी गर्यो त्यति नै क्षतिपूर्ति व्यहोर्नु पर्ने हुन्छ । इन्स्युरेन्स कम्पनीका यस्ता नीतिगत कमजोरीमा टेकेर ती बदमास ठगहरू अरूलाई फसाउने चालमा हुँदा रहेछन् । त्यो ठगको कार पार्क गरेको अवस्थामा राखेको हुनाले उसको कुनै गल्ती न देखिने र सम्पूर्ण क्षतिको सोधभर्ना मेरो इन्स्युरेन्सबाट मात्र दाबी गर्न सकिने नियमको यो ठगले प्रयोग गर्यो । यसरी एकतर्फको इन्स्युरेन्सबाट दाबी गरेजति क्षतिपूर्ति पाउनु भनेको ठगका लागि दशैं आए जस्तै मालामाल हुने अवस्था रहेछ । इन्स्युरेन्सको लोकल एजेन्टले पास गरेको निश्चित सीमासम्मको क्षतिपूर्ति रकममा पुनः अडिट हुदैन रे । यो नीतिले पनि इन्स्युरेन्सका लोकल एजेन्टलाई यस्ता ठगहरूसँग मिलेर घोटाला गर्ने अवसर दिए जस्तो रहेछ ।

यो घटनाले एक राम्रो पाठ सिकाएको छ । कार चलाउँदा सकेसम्म यस्ता ठगहरूबाट सावधान रहनु पर्छ । यस्ता ठगहरूसँग जम्काभेट भएको अवस्था बाहेक पनि आफ्नै गल्तीले कथङ् कदाचित् अर्काको कारमा ठोकिई क्षति भएमा सामान्यता दुवै कारका मान्छेले सौहार्दपूर्ण वातावरणमा कुराकानी गरेर मिलाउनु नै सबैभन्दा उत्तम उपाय हुने रहेछ । सानोतिनो मर्मत (जस्तै कुच्चिएको, फुटेको वा कोरिएको ठाउँलाई ठीक पार्न) का लागि आवश्यक रकमको त्यहीँ लेनदेन गरेर कुरा टुंग्याउनु राम्रो हुने रहेछ । मर्मत गर्न लाग्ने रकम यकिन गर्न गाह्रो भएमा पुलिस रिपोर्ट गरेपछि दुवै पक्ष मिलेर कुनै कार मर्मत शपबाट खर्च अनुमान गर्न लगाउन सकिन्छ । पाँच-दश हजार येनमात्र लाग्ने हो भने आफैंले मिलेर मर्मत खर्च तिर्दा राम्रो हुने रहेछ । सानो रकमका लागि इन्स्युरेन्स नबोलाए कै राम्रो किनभने इन्स्युरेन्सलाई प्रयोग गर्दा अर्को वर्षको इन्स्युरेन्स प्रिमियम निकै बढ्दो रहेछ । ठूलो रकमको मर्मत खर्चका लागि मात्र इन्स्युरेन्स डाक्नु पर्ने रहेछ ।

(जापानमै रहनुभएका लेखक डा. काफ्ले सूचनासञ्चार प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा संलग्न हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया