शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस-सी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड-१९ को संक्रमणपछिको जलिटलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको तेस्रो र चौथो लहरमा एमआइएस-सी संक्रमण देखिने जनाएको छ । एमआइएस-सी भनेको कोरोना सङक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले संक्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो संक्रमण देखिन थालेको पुष्टि गरे । कोभिड-१९ विरुद्ध शरिरले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमताले शरीरमा नै हानी गरेपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या देखिने गरेको प्रवक्ता पौडेलले बताए । ती संक्रमित बालबालिकाको दुईदेखि तीन हप्तामा उपचार गरेपछि निको हुने उनको भनाई छ ।

पहिलो लहरको ओरोलो लाग्ने बेलादेखि नै उक्त संक्रमणका बालबालिका देखिन थालेको थिए । अहिलसम्म ४१ जना बालबालिकामा यस्तो समस्या देखिएको सरकारी तथ्याङ्क छ । तीमध्ये ३८ बालबालिकाको उपचारपछि निको भएर घर फकिएसकेका छन् भने ३ जना अहिले कान्ति बालमा उपचाररत रहेको अस्पतालका निर्देशक डा आरपी बिच्छाले जानकारी दिए । ‘नेपालमा पहिलो लहर उच्चतम विन्दुबाट तल झर्ने क्रममा पहिलो पटक बालबालिकामा एमआइएस-सी को संक्रमण देखिएको हो,’ उनले भने, ‘अहिले दोस्रो लहरको पनि ओरालो लाग्ने क्रममा केही बालबालिकामा बिरामी भएर आएका छन् ।’

पछिल्लो पटक देखिएका १५ जना बालबालिका एक वर्षदेखि १३ वर्ष उमेर समूहका थिए । ‘यो रोग पनि कोभिड-१९ कै कारण देखिने संक्रमण हो । यो बालबालिकामा देखिनेबित्तिकै आत्तिहाल्नु हुन्न,’ उनले भने, ‘समयमा उपचार गरे सत प्रतिशत निको हुन्छ ।’

उनका अनुसार बेलायतमा देखिएको यो रोग एक प्रतिशत बालबालिकामा मात्र लाग्ने गर्दछ । यो सामान्यत कोरोना संक्रमण भएको दुईदेखि चार हप्तापछि देखा पर्ने गर्दछ । यसका लक्षणमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु जस्ता देखिने गर्दछन् । मन्त्रालयले संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएमा वा लक्षणमध्ये कुनै दुई वटा देखा परेमा अस्पताल लैजान अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो र चौथो लहरमा झन् बढी देखिने भएकोले बालबालिकाको उपचारमा तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन दिइसकेको छ । मन्त्रालयको निर्देशन अनुसार सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड-१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टाउने तयारी समेत गरिसकेका छन् ।

तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन्छन् ?
हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । तर विज्ञ भने हालसम्म कुनै पनि अध्ययनले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका बढी प्रभावित हुने भनेर प्रमाणित नगरेको बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले तेस्रो लहर आएमा जनस्वास्थ्यका नियमहरु पालना नगरी हेलचक्य्राइँ गरे बालबालिकामात्रै नभएर सबै उमेर समूहका नागरिक उस्तै जोखिममा पर्ने बताउँछन् । ‘पहिलो लहरमा वृद्धवृद्धा बढी संक्रमित भए रे, दोस्रो लहरमा युवा संक्रमित भए रे र तेस्रो लहर आउँदा बालबालिका बढी संक्रमित हुन्छन् भन्ने हुँदैन,’ उनी भन्छन्, ‘कोरोनाले पालैपालो निश्चित उमेर समूहलाई संक्रमित गर्छ भन्ने हुँदैन ।’

उनका अनुसार बालबालिकाका लागि तत्काल खोप आउने सम्भावना कम भएकाले उनीहरु बढी जोखिममा छन् भन्न खोजिएको हो । भविष्यमा कोरोनाको तेस्रो लहर आउने र बालबालिकाहरूलाई गम्भीर प्रभाव पार्ने भन्ने कुरा आधारहीन भएको उनी ठान्छन् ।

तपाईको प्रतिक्रिया