मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

विवादै-विवादको चरम चुलीमा पुगेको वर्तमान अवस्थामा अहिले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्र र क्षेत्रिय समिति नागोया । राजनीति अवस्थाले जगडिएको हरेक क्षेत्र जस्तै एनआरएनए जापान पनि अछुतो रहेको छैन । एउटै क्षेत्रमा दुईवटा कमिटी गठन भएको छ । एक पक्षले विधान विपरित उम्मेदवार खडा गरी सपथ खुवाएको छ भने अर्काे पक्षबाट विधान विपरित काम भएको यस्तो कार्यलाई तुरन्त रोक्न आह्वान गर्दागर्दै कुनै सुनुवाइ नभएपछि फेरी अर्काे कमिटी गठन गरेर सपथ खाएका छन् ।

यो राजनीतिक खिचातानीले गर्दा साँच्चि नै नागोया बस्ने नेपालीहरु मात्र नभई झण्डै एक लाखको हाराहारीमा रहेका जापानवासी नेपालीहरु माझ एनआरएनए जापानप्रति नै प्रश्न उठेको देखिन्छ, हरेक समयमा विभिन्न काण्डै-काण्डले प्रख्यात रहेको छ एनआरएनए जापान । अन्ततः गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयामा विधान विपरित काम भयको भन्दै निर्वाचन बहिस्कार गर्नेको पक्षमा बहुमत देखिएको छ भने विधान मिच्ने भनिएको पक्षको अल्पमत देखिएको छ । जहाँ ५० प्रतिशत मत पनि खसेको छैन ।

अब यो कुन मोडमा मोडिने हो ? एनआरएनए नागोया क्षेत्रिय समिति त्यसैको पर्खाईमा रहेका छन् नागोयावासी नेपालीहरु । साँच्चि नै भन्नुपर्दा यो राजनीतिक अखडाले जगडिएको हरेक क्षेत्र जस्तै एनआरएनए जापान पनि स्वच्छ निष्पक्ष बन्ला ? भनेर कल्पना गर्न सकिएला र ?

मनमा लागेको कुरा
नेपालको राजनीतिबाट वाक्क, दिक्क, थुक्क भएका हामी सोझा-साझा नेपालीहरु विदेश पलायन भएर पनि सुख छैन । विदेश आएर पनि राजनीतिक अखडा जमाएर सोझा-साझा नेपालीहरुमाथी राजनीति गर्ने समाज सेवाको नाममा मरेको लासमाथि पनि राजनीति गरेर पैसा खानेदेखि लिएर समाज सेवाको नाममा घिनलाग्दो काम गर्ने टाउकेहरुको विदेशमा पनि कमी छैन । गुट उपगुट बनाए सोझा नेपालीहरु जो आफू र आफ्न्नो परिवारलाई पाल्न दिनरात नभनि काम गरेका छन् उनीहरुमाथि राजनीति गर्ने बाध्यतामा परेका नेपालीहरुमाथि राजनीति गरेर लाखौं कुम्ल्याउने । जुन समाजसेवीको खोल ओडेर दिनदहाडै लुट्न पल्केका लुटेराहरु विदेशमा पनि सहरैपिच्छे पाईन्छन् । हालै देखिएकोको एउटा सानो जापानको सहर नागोया क्षेत्रमा एनआरएनएको नाममा दिउँसै ताण्डवनृत्य नाच्ने समाजसेवीको खोल ओडेर सोझा-साझा नेपालीहरुमाथि जबरजस्ती राजनीति लादेर परिणाम आफ्नो पोल्टामा पार्न खोजीएको छ ।

अचम्म लाग्दो कुरा चाहीँ के छ भने, जुन व्यक्तिको जापानमा बसाई र भिसाको ठेगान छैन । कतिबेला जापान सरकारले घोक्रेठ्याक लगाएर नेपाल पठाउने हो थाहा छैन, यस्तै व्यक्ति समाजसेवीको नाटक गर्दै पदको लागि चाकडी चाप्लुसी गर्दै हिडेको देख्दा साँच्चिकै समाज सेवा गर्ने व्यक्तिहरु आज गुमनाम भएका छन् । व्यक्तिगत स्वार्थका लागि काम गरेर खाने सोझा नेपालीलाई जुधाउने काम बन्द गरौं ।

  • लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका पूर्व उपाध्यक्ष हुन्
तपाईको प्रतिक्रिया