टोकियो – कानागावामा नेपालीहरुलाई लक्षित गरी भिसा र लाइफ प्लान सम्बन्धी निःशुल्क सेमिनार हुने भएको छ । कानागावा कोकुसाइ कोउरिउ जाइदानको आयोजना तथा योकोसुका सिटीको सहयोगमा यहि जुन २६ तारिकका दिन निःशुल्क सेमिनार हुने भएको हो ।
जापानवासी नेपालीहरु माझ वर्क पर्मिट नदिएको, भिसा नपाएको, एइजिउ एप्लाई गर्दा नदिएको लगायतका समस्याहरु आउन थालेपछि आवश्यक बुझाइका लागि सेमिनार गर्न लागिएको कानागावा नेपाल कम्युनिटीका अध्यक्ष हरी सापकोटाले जानकारी दिए । ‘करिब १ लाख नेपाली बसोबास गरिरहेको जापानमा स-साना कमजोरीहरुकै कारण कानूनतः बस्न पाउने आधार हामी आफैले बिगारीरहेका त छैनौं ?,’ उनले भने, ‘नियम नजानेर वा पछिसम्म नसोचेर अन्जानमा भएका गल्तीले भिसा रद्द हुने, वर्क पर्मिट रिन्यु नहुने वा एइजिउ नपाउने जस्ता समस्याहरु देखिन थालेका छन् । यिनै समस्याको समाधान खोज्ने उदेश्यले कानागावा केनमा सेमिनाग गर्न लागेका छौं ।’
उक्त कार्यक्रमा कानगावा प्रशासनिक वकील संघबाट २ जना जापानी विज्ञहरु पनि सहभागी हुनेछन् । कानागावाबासी नेपालीहरुका विभिन्न समस्यामा सर-सहयोग गर्दै आएका अध्यक्ष सापकोटाले विज्ञको रायका लागि पहल गरेका हुन् । लामो समयदेखि योकोसुकामा व्यवसाय गर्दै आएका कम्युनिटीका सल्लाहकार लोकनाथ वस्तीले हाल ३०० जनाको हाराहारीमा योकोसुकामा नेपाली बस्दै आएको जानकारी दिए । अझ व्यवस्थित ढंगले बसेर व्यवसाय गर्न यो कार्यक्रम फलदायी उनका विश्वास छ ।
कसरी सहभागी हुने ?
जापानमा नेपाली बालबालिका जन्मने र हुर्कने क्रम बढेसंगै आफ्नो र बालबालिकाको भिसा, भाषा र भविष्यको बारेमा सम्बन्धित विशेषज्ञहरुसंग सल्लाह लिने ठाउँ नहुँदा समस्यामा परेका नेपालीहरुले यो निःशुल्क कार्यक्रममा २ घण्टा सामेल भएर लाभ लिन सक्नेछन् ।
कार्यक्रमका लागि योकोसुका र आसपासका नेपालीहरुले प्रत्यक्ष रुपमा भाग लिन सक्नेछन् भने अन्य प्रिफेक्चरबाट अनलाइनमार्फत पनि सहभागी हुन सकिनेछ । कार्यक्रम निःशुल्क भए पनि हलको क्षमता र कोरोनाको प्रभावलाई ध्यानमा राखी दुरी कायम गर्नुपर्ने हुदाँ अग्रिम बुकिङको व्यवस्था गरिएको छ ।
अनलाइनको लागी पनि बुकिङ गर्नुपर्ने भएकाले भाग लिन चाहनेहरुले https://willap.jp/p/acc_4614/shakai_seido_seminar/ यो लिंकमा गएर फारम भर्नुपर्नेछ । कार्यक्रम यहि जुन २६ तारिक शनिबारका दिन २ बजेदेखि ४ बजेसम्म योकोसुका सि सोउगो फुकुसि खाइखानमा हुनेछ ।