निशाका लागि बढ्दै सहयोगी हातहरू

काठमाडौं – केही वर्ष अघिसम्म नेपाली कला क्षेत्रमा सक्रिय थिइन्- निशा घिमिरे । नेपालमा अभिनय गर्दागर्दै उनी भारतमा अभिनय कोर्षका लागि गइन् । अभिनय कोर्ष गर्ने क्रममा नै ३ वर्ष अघि उनी देहरादुनमा सवारी दुर्घटनामा परिन् । दुर्घटनापछि गम्भीर घाइते भएकी निशाको ३ वर्ष भारतमा नै उपचार चल्यो ।

दुर्घटनाको लामो समय बित्दा पनि निशाको स्वास्थ्य अवस्थामा सुधार आएन । उनको परिवारले आर्थिक भार थेग्न सकेन । त्यसपछि उनलाई उपचारका लागि नेपाल ल्याइयो । नेपाल फर्किएर केही समय उपचार गराए पनि उनको परिवारले आर्थिक अवस्थाका कारण उपचारलाई निरन्तरता दिन सकेन ।

उपचारमा निरन्तरता दिन नसकेपछि उनलाई घरमै राखिएको थियो । यसै क्रममा निशाका अर्धचेत अवस्थाका तस्वीर सार्वजनिक हुन् थाले । उनका तस्वीर र अवस्था सार्वजनिक भएपछि विभिन्न क्षेत्र र मानिसको सहयोगमा पुनः उनको उपचार सुरु भएको छ । अहिले उनका लागि आर्थिक सहयोगका हातहरू पनि बढिरहेका छन् ।

यो पनि : नर्भिककी निर्देशक मेघा भन्छिन्- निशाको निःशुल्क उपचार हुन्छ

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचार सहयोगका लागि चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोगको घोषणा गरेको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ ।

यस्तै गरी म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक्त रकम निशाका बुबालाई हस्तान्तरण गरेको हो ।

निशाको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । नवजीवन परोपकार संस्था र नर्भिक अस्पतालकी मेघा चौधरीको पहलमा निशाको निःशुल्क उपचार सुरु भएको हो । ३ दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी निशाले एक भोजपुरी चलचित्र तथा केही टेलिसिरियलमा काम गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित