शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सन् २०२१ को पहिलो त्रैमासिकमा संसारभरि करिब ३८ करोडथान स्मार्टफोन बिक्री भएको छ । यो गत वर्ष सोही अवधिको दाँजोमा २६ प्रतिशतले बढी हो ।

कोरोना भाइरस महामारीका कारण विश्वअर्थतन्त्रमा गम्भीर प्रभाव परेपछि गत वर्ष २०२० मा उल्लेख्य परिमाणमा स्मार्टफोन बिक्री घटेको थियो । प्रविधि विश्लेषक कम्पनी गार्टनरले गत जनवरीदेखि मार्चसम्मको तथ्यांक समेटेर तयार पारेको विवरणअनुसार विश्वव्यापी रूपमा ३७ करोड ७९ लाख ८० हजारथान स्मार्टफोन बिक्री भएका थियो ।

गार्टनरले संसारका पाँच ठूला स्मार्टफोन निर्माता कम्पनीका बिक्री तथ्यांक समेटेको छ । जसमा अमेरिकाको एप्पल, दक्षिण कोरियाको सामसङ तथा चीनका तीन ठूला कम्पनी शाओमी, भिभो र ओप्पो छन् । गार्टनरका अनुसार चालू वर्ष पहिलो त्रैमासमा सामसङले सबैभन्दा बढी संख्यामा स्मार्टफोन बेचेको छ । उक्त अवधिमा सामसङले ७ करोड ६६ लाख ११ हजारथान सेट बेचेको थियो ।

दोस्रो स्थान ओगटेको एप्पलले ५ करोड ८५ लाख ५० हजारथान सेट बिक्री गरेको थियो । त्यस्तै ४ करोड ८९ लाख ३८ हजारथान सेट बेचेर शाओमी तेस्रो स्थानमा आएको छ । त्यसैगरी गत तीन महिनमा ३ करोड ८७ लाख १५ हजारथान स्मार्टफोन बिक्री गरी भिभो चौथो स्थानमा आएको छ भने ३ करोड ८३ लाख ९३ हजारथान सेट बेचेर ओप्पो पाँचो स्थानमा आएको गार्टनरले जनाएको छ ।

उत्कृष्ट पाँच कम्पनीबाहेक अन्य धेरै स्मार्टफोन निर्माता कम्पनीले भने सोही अवधिमा कूल ११ करोड ६७ लाख ८१ हजारथान सेट बेचेका थिए ।

तपाईको प्रतिक्रिया