कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि निष्कासित एमाले सांसदको पद सर्वोच्चले फर्काइदियो

काठमाडौं – कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमाले चारजना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हाे । एमालेले सांसद पदबाट निकालिदिएपछि शाही क्याबिनेटमा मन्त्री भइसकेका तीनजना र प्रकाश ज्वालाले कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरूलाई कर्णाली प्रदेश सभाको सदस्य एवम् नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका सदस्य पदको हैसियतमा काम गर्न दिन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश दिएको हो । माधव नेपाल पक्षधर यी ४ सांसदले नेकपा एमालेको ह्वीप अवज्ञा गर्दै कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी बचाइदिएका थिए । उनीहरुमध्ये थापा, बुढा र शाही अहिले कर्णाली सरकारका मन्त्री छन् ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित