प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका छन् । बिहीबार गण्डकी प्रदेशसभामा भएको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका हुन् । योसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त भएका छन् ।

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ । वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका सुब्बाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मंगलबार प्रदेशसभामा पत्र दिएका थिए ।

१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित