विश्वकप छनोटमा जापानको अपराजित यात्रा कायमै

टोकियो – फिफा विश्वकप तथा एशियन कपका लागि भएको छनोट चरणको खेलमा एसियाली पावर हाउस जापानले अपराजित यात्रा कायमै राखेको छ । सोमबार भएको खेलमा जापानले ताजकिस्तानमाथि ४-१ गोल अन्तरको जित दर्ता गरेको हो ।

छनोट प्रतियोगितामा समूह एफमा रहेको जापानले सातखेलबाट अपराजित रहँदै २१ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताजकिस्तानभने ७ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । पानासोनिक स्टेडियममा भएको खेलमा जापानले छैटौं मिनेटमा अग्रता लिएको थियो । क्योगो फुरुहाशीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

तर, त्यसको तीन मिनेट पछि नै ताजिकस्ताने बराबरी गरेको थियो । उसका लागि एहसोनी पानासानबेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इंग्लिस प्रिमियर लिग खेल्ने ताकोमी मिनामिनोले ४० औं मिनेटमा गोल गरेपछि जापान २-१ ले अघि बढेको थियो ।

५१ औं मिनेटमा केन्टो हासिमेतोले गोल गरेपछि जापान ३-१ ले अगाडि रहेको थियो । हयाओ कावाबेले ७१ औं मिनेटमा गोल गर्दै जापानलाई ४-१ गोल अन्तरको जित पक्का गराएका थिए ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित