बेलायतको पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघनलाई पुत्रीलाभ

काठमाण्डाै – बेलायती राजपदवी छोडेर अमेरिका गएका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मार्कलले शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम ‘लिली’ राखिएको छ। यो उनकी जिजु हजुरआमाको उपनाम हो।  उनको पूरा नाम भने लिलिबेट डायना माउन्टब्याटन-विन्डसर हुनेछ। ह्यारीकी आमा  डायनाको नाम उनको नामको बीचमा राखिएको छ।

आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ। मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्। उनको नाम आर्ची राखिएको छ।

लिली बेलायती राजपरिवारकी यस्ती सदस्य भएकी छन् जो अमेरिकाकी राष्ट्रपति पनि हुन पाउँछन्।

ह्यारी र मेघनलाई पुत्रीलाभ भएपछि बेलायतबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ।

बकिङहम राजदरबारका प्रवक्ताले लिली जन्मिएको खबरले महारानीसहित राजपरिवारका सबै सदस्य खुसी भएको प्रतिक्रिया दिएका छन्। ह्यारीका दाइ-भाउजु राजकुमार विलियम्स र केइटले सामाजिक सञ्जालमार्फत् उनीहरूलाई बधाई दिएका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, लेबर पार्टीका नेतालगायतले पनि ह्यारी-मेघन दम्पतीलाई बधाई दिएका छन्।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित