फापरले गाँसेको टुकुचे-तोगा मितेरी साइनो

झुप्पामा फूल्छन् फापरका फूल । ठाउँ र जातअनुसार बदलिन्छन् फापरका रंग । जापानमा सेतो फुल्छ भने नेपालमा गुलाफी । भिन्न रंग भए पनि दुई भिन्न गाउँलाई मित बनाइदिएको छ त्यही फापरले । सेतो फापरको फूलले ढकमक्क जापानी गाउँ तोगा र रातो फापर फूल्ने नेपाली गाउँ टुकुचेबीच मितेरी साइनो जोडिएको छ । नेपाल-जापान सम्बन्धको प्रसंग चल्नु मात्र पर्छ, टुकुचे-तोगाको कुरा उठिहाल्छ ।
धेरै कुरामा समानता पाइन्छ टुकुचे र तोगाबीच । टुकुचेलाई बीचमा पारेर कालीगण्डकी र थाकखोला बगेका छन् भने तोगामा तोगा, मोमोसे र सो नदी बग्दछन् । दुवै गाउँ एउटै प्रकृति र भौगोलिक अवस्थितिमा छन् । तोगामा तातेयामा (३०१५ मि) पर्वत छ भने टुकुचेको सिरानमा निलगिरी (७०६१ मि) हिमाल छ । तोगाको हरियाली मनोहर छ भने टुकुचेको भूदृश्य चित्ताकर्ष । फापरका निम्ति प्रसिद्ध छन् दुवै गाउँ । टुकुचेले फापरको जन्मभूमिका रुपमा पहिचान राखेको छ भने तोगा फापरका परिकारका कारण प्रसिद्ध छ । त्यहाँको फापर परिकारशाला (सोवानो सातो) मा फापरका गजब गजबका व्यञ्जन पाइन्छन् । दुवै गाउँका तन्नेरीहरुमा सहर पस्ने रोग छ । त्यसैले दुवै गाउँमा बुढाबुढी र केटाकेटीहरुको बर्चस्व छ ।
टुकुचे र तोगाबीच मितेरी साइनो गाँसिएको ११ जनवरी सन् १९८९ मा हो । त्यसदिन टुकुचेको सबैभन्दा पुरानो गुम्बासम्म गुम्वामा स्थानीय वासिन्दाले पूजाआजा गरेर यो साइनो लगाइदिएका हुन् । साइनोलाई औपचारिक रुप दिन टुकुचेका तत्कालीन प्रधानपञ्च अमृतलाल शेरचन र तोगाका तत्कालीन मेयर मिचिमासा मियाजाकीले दस्तखत गरेका थिए । तर, टुकुचे-तोगा मैत्री सम्बन्धका सेतु भने शिच्शु विश्वविद्यालयका प्राध्यापक प्रो. आकियो उजिहाता हुन् र कारण हो फापरसम्बन्धी उनको अध्ययन । फापरमा विद्यावारिधि गरेका यिनी फापरकै अनुसन्धानका सिलसिलाका सन् ८० को दशकमा तोगा र टुकुचे पुगेका हुन् । उनी मितेरी सम्बन्धी नै आउजाउ गरिरहन्थ्ये नेपाल । नेपालको फापरलगायत अन्य अन्नबालीको अध्ययन अनुसन्धानमा यिनले गुन लगाएका छन् ।
नागानो केनका यी फापर विशेषज्ञ तोगाको अध्यनपछि टुकुचे आए, जहाँ उनको भेट स्थानीय पुरेत (तिब्बती बौद्धमार्गी लामा) शशिध्वज तुलाचनसंग भयो । उनका मनोहर मण्डल र पौभा चित्र देखेर उत्साहित भएका उनले तुलाचनलाई तत्कालै तोगामा मण्डल बनाइदिने प्रस्ताव गरे । यही निहुंमा दुई गाउँलाई मित्रताको धागोमा उन्ने सपना थियो उनको । तोगेलीको उत्थानमा गम्भीर चासो राख्ने तत्कालीन मेयर मियाजाकीलाई यस कुरामा मनाउनु गाह्रो काम थिएन पनि । मेयर जब टुकुचे आए र त्यहाँको गुम्बाको भित्तामा कोरिएका चित्र देखे, दंग नपरिरहन सकेनन् । तुलाचन र उनका पिताले बनाएका परम्परागत चित्र तोगामा गएर बनाइदिने उजिहाराको प्रस्ताव मियाजाकीले दोहोर्‍याए । मुस्ताङमा मण्डलाको काम अधूरै छाडेर गइदिए उनी तोगातिर । डेढ वर्ष लगाएर सन् १९९१ को मार्चमा ४/४ मिटरको दुई मण्डला र ४/४ मिटर बराबरको दुईवटा पौभा तयार गरिदिए । शान्तिका ४२ देवदेवी, ५८ देवदेवी, सुखपाटिका र हजारबाहु अबलोकितेश्वर बुद्धका विशाल चित्रलाई तिब्बती बौद्ध धर्मको सम्पदा मान्छन् जापानीहरु । त्यसैले यी कलाकृति अहिले पनि त्यहाँको ध्यानशाला (मेसोनो सातो) को भव्य कोठामा छुट्टाछुट्टै सजाएर राखिएको छ-दुई गाउँको मितेरीको प्रतीकका रुपमा ।
सन् १९९२ मा तोगामा आयोजित ‘वर्ल्ड सोबा एक्स्पो’ (फापरलाई जापानी भाषमा सोबा भनिन्छ) मा पन्ध्र जनाको टोलीलाई नेतृत्व गर्दै तुलाचन तोगा पुगे जसमा टुकेचेका चार जना महिलाको पनि सहभागिता थियो । नेपाल, चीनलगायत १५ मुलुक सहभागी भएको त्यो मेलामा टुकुचे टोलीले आफ्नो स्थानीय लामा नाच देखाउनुका साथै फापरका थकाली पकवान प्रदर्शन गरेको थियो । तुलाचनका सुन्दर तथा विशाल पौभा र मण्डलले मेलामा आकर्षण थपेको थियो । तोगा गाउँका ऐतिहासिक तथा सांस्कृतिक महत्वका नाचगान र झाँकीसमेत समावेश फापर मेला लगातार एकतीस दिन चल्यो । मेला यति अविस्मरणीय सिद्ध भयो कि, अपरिचित तोगाको नाम सनसनीपूर्ण समाचारझैं फैलियो । र, सहर पलायत गरेका तन्नेरी तोगेली मात्र होइन, आफ्नो गाउँको कूल जनसंख्याको सय गुना बढी (करीव १ लाख छत्तीस हजार) जापानी र विदेशी पर्यटक भित्र्याउन सफल भयो तोगा । यसपछि त केही गर्नु छ भने तोगा गएर सल्लाह लिनु’ भन्ने चलन समेत शुरु भएको छ । विश्व फापर मेलापछि तोगामा, तोलामी, इनामीलगायतका सहरमा ‘टुकुचे-तोगा वर्ल्डवाइड भिलेज’ लेखिएका १२/१० फिट अल्ला होर्डिङ राखिएका छन् । तोगा-टुकुचेको मितेरी सम्बन्धलाई लिएर गगन विरहीको निर्देशनमा ‘मितेरी गाउँ’ भन्ने सिनेमा पनि बनेको थियो । तोगामा २१ दिन सुटिङ गरिएको स्मुति सिनेमाका नायक गणेश लामाका लागि अविस्मरणीय छ । उनका अनुसार उक्त सिनेमाले दुई गाऊँबीचको सम्बन्धमा जीवन्तता थपेको छ ।
फापर मेलाको अपूर्व सफलतापछि टुकुचेको सहयोगका लागि अग्रसर भए तोगेली मेयर मियाजाकी । मैत्री सम्बन्धको पहिलो उपलब्धी हो, टुकुचे प्राथमिक विद्यालयमा सहयोग । नदी कटान नियन्त्रणका लागि पटकपटक गरी एक करोड रुपैयाँ तोगाबाट आएको छ भने मियाजाकीको कार्यकालको अन्त्यतिर टुकुचेमा एक संग्रहालय निर्माणका लागि सहयोग भइसकेको छ । टुकुचेका केही युवालाई सात वर्षसम्म तालिम र सांस्कृतिक कार्यक्रमका लागि वर्षेनी ६ जना तन्नेरी तोगा गए ।
मैत्री सम्बन्धपछि जापान भ्रमणको अवसर पाउने टुकुचेवासी पनि थोरै छैनन् । सन् १९८९ मा तोगाको सतवाषिर्कीका अवसरमा तत्कालीन प्रधानपञ्च धनबहादुर थकालीसहित आठ सदस्यीय टोली त्यहाँ गयो भने सन् १९९१ को सेप्टेम्बरमा प्राविधिक शिक्षाका लागि टुकुचेका तीन विद्यार्थी गए । तोगाबाट टुकुचे आउनेको पनि ताँती नै छ । सन् १९९८ को डिसेम्बरमा तत्कालीन मेयर मियाजाकीसहित १९ सदस्यीय टोली आए । यसले अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रताको विकासमा राम्रो काम गर्‍यो । टुकुचेको आर्थिक, सामाजिक र शैक्षिक परिदृश्यमा उन्नति भयो ।
टुकुचे-तोगाको मितेरी सम्बन्धमा भुल्नै नसकिने नाम हो, मियाजाकी । स्थानीय विकास र सामूहिक काममा अरुलाई हँसाइहँसाई काम लिन सक्ने नौनीजस्ता नरम मान्छे हुन् यिनी । टुकुचेको जीवनस्तर उकास्न विविध सहयोग गर्न रुचाउने व्यक्ति पनि हुन् यी आएपिच्छे ‘कुन कुन ठाउँमा के भइरहेको छ ? किन भयो ? कस्तो उपाय अपनाए के हुन्छ ?’ जस्ता कुरामा चसो र छलफल गर्छन् उनी । खबर बुझ्ने मात्र होइन, सुझाव दिन पनि कञ्जुस्याईं गर्दैनन् । मेयरको तीन पटकको पदावधि सकिएपछि पनि टुकुचे आउन नछाडेका उनी अहिले निजी व्यवसाय गर्छन् । उनको कार्यकालमै विकासको तोगा गाउँबाट नगरमा परिणत भएको थियो । तोगाली जनताको उन्नतिका लागि चिन्तनशील मियाजाकी सम्झिरहन्छन्- हुरीबतास र पहिरो छिचोल्दै घोडा चढेर पहाडी भिरालो बाटोमा गरेको यात्रा । टुकुचेवासीको न्यानो आतिथ्य, स्कुले केटाकेटी, लामा नाच, फापर, मण्डला, पौभा अनि विश्वास र मायामा अडेको निस्वार्थ एवं दह्रो मितेरी ।***

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित