एनआरएनए क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

थापा यसअघि सचिवको जिम्मेवारीमा थिए । नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान आएका थिए ।

जन्मभूमि पञ्‍चकन्यामा शिक्षालाई गुणस्तरीयता प्रदान गर्ने र बालबालिकाहरु सहरी क्षेत्रमा धाउन नपरोस् भन्ने उदेशयका साथ थापाकै टिमले पञ्‍चकन्या जनकल्याण युवा समाजमार्फत जनकल्याण सामुदायिक पाठशाला सञ्‍चालन गरेको छ । हाल उक्त विद्यालयका संस्थापक र पञ्‍चकन्या जनकल्याण युवा समाजको वरिष्ठ उपाध्यक्ष रहेका थापा मातृभूमिमा योगदान दिन निरन्तर खटिरहेका छन् ।

यस्तै एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे चयन भएका छन् । सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा रिपुहरि सापकोटा चयन भएको निर्वाचन समितिले जनाएको छ ।सदस्यहरुमा अमृत भट्ट, प्रदीपकुमार राई, सुवाशबहादुर बोहोरा, दिपकबहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी पनि निर्विरोध निर्वाचित भए । एनआरएनए क्युस्युको नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२३ सम्म रहने छ ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित