‘अरुको ज्यान बचाँउने पेशामा लाग्दा यसरी एक तलामाथिबाट हाम फालेर आफ्नै ज्यान बचाउँनु पर्ने दिन आँउछ होला भनेर कल्पना पनि गरेको थिइन’ भेरी अस्पतालको झ्यालबाट हाम फालेर भागेकी नर्सको कथा हो यो ।
कमजोर व्यवस्थाको परिणति यसरी नै देखिने गरिन्छ देशमा दोहोर्याएरै । कहिले प्रहरी चौकीमाथि आक्रमण हुन्छ, कहिले संस्था त कहिले व्यक्तिमाथि निर्धक्क बारम्बार आक्रमण भईरहन्छ दिनदहाडै । स्वास्थ्य शिक्षा र रोजगारमा राज्यको नियन्त्रण र पहुँच हुन नसक्दा यस्ता घटनाहरु घट्नु अस्वभाविक पनि होइन ।
एकातिर निजी अस्पतालहरुले आफ्नै मनोमानी गरिरहेका छन् भने अर्कातिर भएका सरकारी अस्पतालका सेवाहरु पनि चुस्त बन्नै सकिरहका देखिदैनन् । सरकारको पूर्ण नियन्त्रण र निगरानी पनि छैन । यो ठूलै महामारीको समय हो संसार यो बेला त्रसिद बनिरहेको छ । औषधि जुटाउँन लागिपरेको छ ।
हामीहरुको राजनीतिमा भने यतिबेला ठूलै सत्ताको पाना पल्टाँउने खेल चलिरहेको छ । कसैलाई फुर्सद छैन, नागरिकको जीवनरक्षाको । गाँउ शहरभरी अब लाश जलाउँने ठाँउ छैन । बिहान भर्खरै कुरा गरेको साथीको बेलुकी रहँदैन । यो विवेक पुर्याउँने बेला हो । सुरक्षित र संयम भएर रहने बेला हो ।
मृत्यु अस्वभाविक हो । शत्रुको पनि मृत्युको खबर सुन्न नपरोस् । यो बेला स्थिति भयावह छ । अस्पतालहरु सबैतिर बिरामी राख्ने ठाँउ छैन, अक्सिजन पर्याप्त छैन, पर्याप्त स्वास्थ्यकर्मीको अभाव छ देशमा । राज्यको दुरदृष्टिको अभावले यस्तै नियतिहरु भोगिरहेछौ हामी । संसारभरका नेपालीहरुबाट आर्थिक चन्दा संकलन गर्दै अक्सिजन उपलब्ध गराईरहेका छौं देशमा ।
यो कस्तो नियति भोगिरहेछौं हामी नेपालीहरुले । किन यो बेला पनि राज्यको महसुस गराउन सक्दैन सरकार । यो बेला स्वास्थ्य क्षेत्रमा ज्यान जोखिममा राखेर कार्यरत डाक्टर र नर्सहरुमाथि यसरी भौतिक आक्रमण हुनु कति लज्जास्पद बिषय बनेको छ । यो बेला स्वास्थ्यकर्मीको मनोबल बढाईराख्ने बेला । तपाई हामी गेट खोलेर बाहिर निस्कन डराउँछौं भने मृत्युमाथि पनि धावाबोल्दै नागरिक जीवन बचाउँन अहोरात्र खटिरहने स्वास्थ्यकर्मिहरुको पूर्ण सामाजिक सुरक्षा राज्यले गर्नैपर्छ ।
यो महामारी कुनै धामीले मन्तर्ने, झाँक्रीले फुकेर निको हुने चटक होईन, यो विज्ञानसम्मत उपचारले मात्र सम्भव देखिन्छ । सरकारले अब स्वास्थ्यकर्मीको सुरक्षाको सम्पूर्ण जिम्मेवार लिनैपर्छ । कल्पना गर्नुहोस् त एकपटक स्वास्थ्यकर्मीले आक्रमणको विरोधमा सम्पूर्ण देशका स्वास्थ्य संस्था ठप्प पारिदियो भने के होला । सरकारको बेलैमा ध्यान जाओस्। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
- मोहनप्रसाद खतिवडा -टोकियो, जापान