महन्थलाई शिखण्डी बनाएर ओलीले संसद्को हत्या गरे

मुलुक दुर्भाग्यको खाडलमा धकेलिएको छ । यसका पछाडि अनेकौं पात्रहरूको भूमिका रह्यो । ‘शिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा जनता समाजवादी पार्टी (जसपा) पनि रह्यो । जसपा वा यस अघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक-पटक विभिन्न सरकारहरूमा सहभागी भएकै हुन् ।

हरेक पटक ‘मधेसका मुद्दाहरू’ लाई तर्पण दिने भनी सरकारमा गएकै हुन् । अतीतका सबै मुद्दा विसर्जन र सत्ताका अगाडिको समर्पणलाई अवोध र अवचेतन मधेसी समुदायले ‘क्या बात !’ भनेकै थिए । मधेस नामबाट व्यापार र मधेस भवनहरूबाट अविच्छिन्न राजपाठ सब चलेकै थियो ।

तर, अपवादबाहेक यिनका क्रियाकलापले देशलाई नै ‘बरमुडा ट्रयाङ्गल’ मा खसाली दिने काम भएको थिएन । आफैले मलजल दिनु पर्ने संघीयतालाई निमोठी दिने काम भएको थिएन । छुट्याएको मानो भन्दा धेरै बढी खान पाएर वक्रतुण्ड हुँदै थिए- मधेसका यी पुराना कृशकाय, सुदामा र शिशुपालहरू ।

यिनी यदाकदा गर्व गर्थे, मधेसीहरूले मुलुक बेचेका छैनन् भनेर । यसो बोल्दा संसदमा दुर्योधनहरूले शिर निहुराउँथे । साख बचाएकै थिए । तर, मुलुकमा दैनिक दुई हजार-पच्चीस सय निरपराध नेपालीहरू अकाल मृत्युको शिकार भैरहेको कहाली लाग्दो अवस्थामा, देशको सबै खाले बेथितिहरूको लागि संघीयतालाई नै दोषी ठहर्‍याइ रहिएको अवस्थामा, शासकीय प्रतिगमनकारीहरू बलियो हुँदै गैरहेको अवस्थामा; मधेसी दल, जसपा यौटा ‘किंगपिन’ हुन सक्थ्यो । जसले, जसको सकारात्मक पहलबाट विचलनका लागि उद्यत राजनीतिक उन्मादलाई लिकमा राख्न सकिन्थ्यो ।

जसपाले विकृत राजनीतिका विद्यमान दुई धारमध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त वैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमन्त्री ओलीलाई नै खुला समर्थन गरेको भए शायद प्रतिनिधि सभा विघटनको बाटो अवरूद्ध हुन्थ्यो । यौटा प्रजातान्त्रिक मधेसी दलको एकीकर्त पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन । रोक्न सकिन्थ्यो । रोक्न न सकिने भएपनि त्यो विघटनमा पुनर्जीवनको ठूलो शक्ति हुन्थ्यो ।

जसपा एक पार्टीको रूपमा, भावनात्मक रूपमा एक पनि रहेन । संविधानमा संशोधन गराउँछु भन्ने जसपाबाट संविधान संशोधनको मातृस्थल संसदको वध् गराउन मुख्य भूमिका रह्यो । सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफूले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेल मै रहे पनि सांसद थिए ।

रेशमलालको त्यो ‘स्ट्रेन्थ’ पनि जसपाले समाप्त पार्‍यो । मधेसका आन्दोलनकारीहरू माथि लगाइएका सय-पचास मुद्दाहरू फिर्ता गराए । यही ऐतिहासिक उपलब्धि हुन् त ? आखिर के उपलब्धि पायो त ? सय-पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउँदै मेटेर जाने आत्ममुग्धतापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनु पर्यो !

म जान्न चाहन्छु कि जसपाले अपनाएको ‘आत्मघाती’ ‘विखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ छ ?

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित