के जापान आएर राजनीतिमा लाग्न जरुरी छ ?

यतिबेला राजनीतिको विकृतिका कारण धेरैलाई यो शब्द सुन्न पनि मन लाग्न छोडेको छ । नेपाली राजनीति अनि प्रणालीका अनगिन्ती विकृतिहरु भएकाले यसप्रति मानिसको आकर्षण घट्दो क्रममा छ । नेपालमा राजनीतिक इतिहास तथा घटनाक्रम हेर्ने हो भने राजनीतिमा आम जनता होमिएर राजनीतिक परिवर्तन भयो भनिए पनि जनताले भने त्यस्को अनुभूति खासै गर्न पाएनन् । माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु भयो । १० वर्षपछि सम्झौता गर्दै माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्यो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डपछि राजा विरेन्द्रको बंश नाश गरियो । ज्ञानेन्द्र नयाँ राजा भए । २०५९ साल असोज १८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषित गर्दै तत्कालिन सरकार अपदस्त गरी राजनीतिक नेताहरुलाई नजरबन्दमा राख्ने प्रयास भयो । २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रद्वारा ‘कू’ गरी सरकार अपदस्त गर्दै आफ्नो हातमा शासन सत्ता लिए । सञ्चारमाध्यममा शेन्सरसिप र टेलिफोनसहित सम्पूर्ण सञ्चार माध्यम अवरुद्ध गरियो ।

२०६२ साल मंसिर ५ गते नेपालका प्रमुख ५ राजनीतिक दल र तात्कालिन विद्रोही माओवादीबीच भारतको नयाँदिल्लीमा १२ बुँदे सहमतिपछि २०६२ साल चैत्र २४ देखि २०६३ साल वैशाख ११ गते सम्म जनआन्दोलन भयो । राजा ज्ञानेन्द्रद्वारा सार्वभौमसत्ता जनतामा रहेको घोषणा गर्न बाध्य भए । संसद् पुर्नस्थापना भयो । मुलुक संवैधानिक राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । २०६४ साल चैत्र २८ गते नेपालमा पहिलो संविधानसभाको निर्वाचन पछि २०६५ साल जेठ १५ गते संविधानसभाद्वारा नेपालमा लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भयो । जेठ २१ मा राजा ज्ञानेन्द्रद्वारा सत्ता त्यागको घोषणा गरे । २०७० साल मंसिर ७ मा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्नपछि २०७२ साल असोज ३ गते राष्ट्रपति रामबरण यादवद्वारा नयाँ संविधानको घोषणा गरेका थिए ।

यतिबेला भने झण्डै दुइतिहाईको मत पाएको नेकपा पुरानै अवस्थामा एमाले र माओवादी केन्द्र भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउन नसकेपछि झनैं देश अस्थिरता तर्फ जादैं छ । अर्कोतिर कोरोना संक्रमणबाट नागरिकले ज्यान गुमाइरहेका छन् । नेताहरु भने सत्ताको लुछाचुडीमै व्यस्त छन् ।

देशमा ठुलठुला परिवर्तन ल्याउन जनताको अहम भूमिका भएपनि नेताहरुले देश र जनताभन्दा व्यक्तिवादी स्वार्थ हावी भएका कारण जनतामा नैरास्यता छाएको छ । देश अहिले पनि पछौंटेपनबाट गुज्रिरहेको छ । यो जस्तो ठूलो बिडम्वना के हुन सक्छ र ? यस्तै गतिविधिले गर्दा देशमा अवसर नभएर हामी जापान आई पुगेका छौं । हामी जुन उदेश्यका साथ जापान आएका छौं त्यहिअनुरुप अघि बढेका छौं त ? एक पटक सोच्न जरुरी छ । हामी यहाँ धन अनि ज्ञान आर्जन गर्न आएका हौं । तर जापानमा पनि हामीहरु राजनैतिक दलका झोले भएर हिडेका छौं । नेपालमा भएका प्रायः सबै राजनैतिक दलका विभिन्न नामले जापानमा भातृ संस्थानै खोलिएका छन् । ति भातृसंस्थाहरुका चुनावनै हुने गर्छन् । नेपालमा जस्तै नेतृत्वका लागि तछाड-मछाडको अवस्था देखे-भोगेका छौं । अनि आफनो विचारसंग सहमति नभएपछि अर्कालाई सामाजिक सञ्जालमा उछित्तो काढ्ने प्रकृति मौलाएको छ । यो अवश्य पनि राम्रो संस्कार होइन । यस्ता राजनीतिक गतिविधिभन्दा आफु जुन उदेश्यले जापान आएको हो, त्यसमा लाग्दामात्र उदेश्य प्राप्ति हुन सक्छ । यहाँ अझैं पनि नेपालमा रहेका राजनीतिक पार्टीका साधारण, संगठनिक, कृयाशिल भन्दै लेबि उठाइरहका तपाई हामीले देखेकै छौं ।

नेपालमा चुनाव हुँदा नेपालबाट तोकेर नै आर्थिक संकलनको लागि उर्दि नै लगाइन्छ । अनि यहाँ पनि चुनावका लागी चन्दा संकलन गरेका दृश्यहरु हामीले देखेकै छौं । अझैं विभिन्न समयमा नेपालका राजनैतिक पार्टीका नेताहरुलाई जापान बोलाउने चलन नै चलेको थियो । कोरोना संक्रमण फैलिएका कारणमात्र यस्ता गतिविधि रोकिएको हो । यसरी बोलाइएका नेताहरु धेरै पटक जापनिज एयरपोर्टबाट फर्किएका उदारणहरू छन् । जापान सरकारले विश्वास नगरेकाहरु जस्ताले पनि स्पोन्सर गर्ने र नेपालबाट आएका नेताहरुको गतिविधिले गर्दा पनि उनीहरु फर्किरहेका हुन्छन् । जसका कारण नेपाल र नेपालीको प्रतिष्ठामाथि नै आच आइरहेको छ ।

नेपालबाट राजनीतिक दलको नेता आउने क्रममा एकपटक मलाई पनि एयरपोर्टसम्म लिन जान समय मिल्यो र उहाँ मेरै जिल्लाको देविप्रसाद ज्ञवाली हुनुहुन्थ्यो । उहाँ मलाई सालिन र स्पष्टवक्ता लाग्थ्यो । उहाँसंग नेपाल देखिनै राम्रो चिनजान थियो । उहाँलाई स्वागत गर्न म लगायत अरु दुई जना जापानको नागोयास्थित चुबु इन्टरनेशनल एयरपोर्टमा बेलुका पुगेका थियौँ । उहाँ अन्तिम उडानबाट आउँदै हुनुहुन्थ्यो । प्लेन ल्याण्ड भयो । हामी पनि उहाँलाई स्वागत गर्न फुलका गुच्छासहित उहाँ आउने गेटमा गएर प्रतिक्षारत भयौं । सबै यात्रुहरु आर तर ज्ञवाली आउनु भएन । हेर्दा-हेर्दै एयरपोर्टमा त्यहाँका केहि कर्मचारी अनि हामी मात्र भयौं । सबै आफ्नो गन्तव्यमा गइसकेका थिए । त्यतिकैमा हामीले त्यहाँ रहेको जापनिज अध्यागमन विभागमा सोधपुछ गर्यौं । त्यहाँबाट ज्ञवालीलाई जापान इन्ट्री गर्न नसकिने जवाफ आयो । कारण भने बताइएन । भोलिपल्ट उहाँलाई नेपाल फर्काइयो । यस घटनाले नेपालमा र जापानमा रहेको नेपाली समुदायमा ठूलै चर्चा पायो । लगतै ३ महिना पनि बित्न नपाउँदै उहाँ जापान आउनु भयो । यो त एउटा प्रतिनिधि उदारण मात्र हो ।

अझ जापानमा रहका एनआरएनए लगाएतका संघ-संस्थाहरुमा राजनीतिक पार्टीका प्यानलनै बनाएर चुनावमा होमिएका हुन्छन् । यतिबेला जापानमा एनआरएनएमा चुनाव लागेको छ । आफ्नो पक्षमा सदस्यता बढाउन राजनीतिक पार्टीहरु लागि परेका छन् । अहिले पनि जापानमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र नै नेतृत्वमा आउन कसरत गरिरहेका छन् । अझ चुनावमा सम्भावित उमेदवारहरु सदस्यता शुल्क नै आफै हालेर सदस्यता बनाउनेको होडनै चलेको छ । जापानमा आएर केहिले पैसा कमाएर यसो गर्न सक्लान् तर, सबैले भने सक्ने कुरा भएन । पैसा कमाएकाहरु सोखले अनि चिनिन भन्दै राजनीतिमा लाग्न सक्छन् । तर सबैलाई यो सम्भव हुँदैन । त्यसैले यस केही झुण्ड भने राजनीतिमा लागिरहेका छन् । राजनीति गर्ने हो भने नेपालमा नै गएर गर्दा भइहाल्यो नि । जापानमा हामी राजनीति गर्न आएको अवश्य होइन ।

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित