उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीको विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण बिहीबार ज्यान गयो । लापरबाही वा बेवास्थाका कुरा छाडिदिऊ, डीएसपी केसी महामारी रोगबारे पूर्ण जानकार मात्र थिएनन्, उनी यस महामारीबाट जनतालाई जोगाउन ‘फ्रन्टलाइन’मा कार्यरत थिए ।
पछिल्लो समय ह्वात्तै फैलिएको कोरोना महामारीका कारण सर्वसाधारण मात्र होइनन्, महामारीविरुद्ध ‘फ्रन्टलाइन’मै खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयम्सेवकको पनि ज्यान गइरहेको अवस्था छ । महामारीको यस असहज अवस्थामा सरकार भने ‘तमासे’ बन्दै छ । अस्पतालमा हुँदै नभएका भेन्टीलेटर र आईसीयूको मनगढन्ते तथ्याकं देखाउनै ऊ व्यस्त छ । तर, कोरोना संक्रमितको उपचार अस्पतालको वेडमा होइन, भूँई, कुर्सी, पेटी, टहरामा भइरहेको दृश्यले आमजनता आतंकित र भयभीत देखिन्छन् । संक्रमितलाई आवश्यक उपचारको त कुरै छाडिदिऊ, अक्सीजनको समेत हाहाकार मच्चिएको छ । दैनिक मृत्युवरण गर्नेको संख्या उच्च बन्दै गएको छ भने संक्रमितको पनि संख्या उकालो लागिरहेको तथ्याकंले देखाइरहेको छ ।
स्वास्थ्य विशेषज्ञ भन्छन्, महामारी फैलिने क्रम अझै पाँच-छ हप्ता जारी रहन्छ । एकवर्ष अघिदेखि महामारीका रुपमा फैलिँदै र थामिदै गरेको कोरोना महामारीको निर्मुल वा नियन्त्रणका लागि राज्य ‘फेलियर’ जस्तै देखिइसकेको अवस्था छ । अझै भनौं, महामारीका बारे सरकारका प्रधानमन्त्री नै हावादारी गफ दिने मात्र होइन, यो महामारी फैलाउने मतियारका रुपमासमेत जिम्मेवार छन् । त्यसो त अन्य राजनैतिक दल, उनका भातृसंस्थाको पनि महामारी फैलाउनमा कम दोषी छैनन् ।
जे होस्, यो महामारी हो । महामारीले कसैलाई सूचना वा जानकारी दिएर आउने होइन् । यसले ठूलो-सानो, धनी-गरिब भनेर पनि काखापाखा पक्कै गर्दैन । यसबाट जोगिने भनेकै एक आपसमा नजिक नहुने र उच्च सतर्कता अपनाउनु नै बुद्धीमानी ठहरिन्छ । आफूलाई शक्ति सम्पन्न ठान्ने राष्ट्र्हरु पनि यतीबेला कोरोना महामारीबाट त्रस्त छन् । त्यसैले त पुर्खाहरुले भनेका थिए, ‘महामारीमा ज्यान जोगाउनु, अनिकालमा बिऊ’ ।
हो, कोरोना कहरले धेरैलाई पीडा दिएको छ । अहिले बाँच्न र बचाउनको चिन्ता, भविष्यमा आर्थिक संकटले पिरोल्ने त छँदैछ । राज्यले अहिले जनता बचाउन त चासो दिएको अवस्था छैन भने भविष्य झन् विकराल देखिन्छ । यस्तो संकटमय अवस्थामा पनि राजनैतिक दललाई सत्ताको चासो अनी सरकारमा रहेकाहरुलाई सत्ताको चास्नीले छाडेको छैन ।
अवसर अर्थात् मौका सधैँ आउँदैन । अभाव, संकट, समस्या, आपत-विपतमा गरिएको मानवीय सहयोग कसैले कहिल्यै भूल्दैन । अहिले राज्यले अर्थात् सत्तारोहणमा रहेकाहरुले गर्नु पर्ने भनेको जनता जोगाउ अभियानमा खुलेर लाग्न सक्नु पथ्र्यो तर, यहाँ त स्वयम् प्रधानमन्त्री नै चाटुकार बन्दैछन्, जनतालाई आश्वासन दिएर हिम्मत बढाउनुको सट्टा हावादारी गफ दिएर भयभीत पारिरहेको अवस्था छ ।
आपत एवम् संकटको यस घडीमा कुन दलको सरकार ? को प्रधानमन्त्री, को मन्त्री यो महत्वपूर्ण होइन । महामारी नियन्त्रणका लागि को क्षमतावान् छ ? को विज्ञ हो ? कसले महामारीको रोकथाम वा नियन्त्रणका लागि के गर्न सक्छ ? राज्यको ध्यान त्यतातर्फ जानु पथ्र्यो । सहज अवस्थामा पो शक्ति र शान देखाउने हो । असहज अवस्थामा त क्षमता भएकाहरुलाई अग्रस्थानमा उभ्याइनु पर्ने होइन र ? महामारी नियन्त्रण गर्न निश्चित समयका लागि सरकार नै ‘करार’मा दिन नमिल्ने नै हो र ? यतातर्फ पनि सोचियोस् ।
प्रसंग, महामारीमा फ्रन्ट लाइनमा रहनेहरुको साहसको कदर गरौं भन्नका लागि पनि हो । जातीय आन्दोल वा जुलुसमा गएर घाइते वा मारिएकाहरुलाई शहिद वा क्षतिपूर्तीको व्यवस्था गर्ने सरकार अनी त्यो माग गर्ने आन्दोलनकारी वा राजनैतिक दलले ‘फ्रन्टलाईन’मा उभिएर महामारी नियन्त्रणका लागि खटिनेहरुको लागि के सोचेको छ ? कर्तव्यपालनका सिलसिलामा ज्यान गुमाउने वा घाइतेहुने सुरक्षाकर्मीका परिवारले पाएको सुविधाबाट कोरोना पीडित सुरक्षाकर्मी बन्चित रहनु पर्ने पो हो कि ? आफ्नो घर परिवार नभएर संक्रमितको उपचारमा चौबिसै घण्टा खटिने स्वास्थ्यकर्मीका परिवार पनि त्यस्तो विशेष सुविधाबाट बिमुख हुनु पर्ने हो कि ?
‘सबैलाई घरमा बस्न लगाएर सडकमा ड्यूटी गर्न सुरक्षाकर्मीलाई रहर लागेको होला र ? उनीहरुको पनि घर परिवार छैन ?,’ पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल भन्नुहुन्छ, ‘यस्तो विषम परिस्थितिमा पनि कर्तव्यपालनमा खटिएका संक्रमित सुरक्षाकर्मीको उच्च मूल्याकंन हुनुपर्छ, उनीहरुको उचित र आवश्यकीय उपचार जरुरी छ । कथम् मृत्युवरण भइहालेको खण्डमा राज्यले मृतकका परिवारलाई उचित क्षतीपूर्तीको व्यवस्था गर्नु पर्छ ।’ ‘आन्दोलनमा उत्रेको नाममा हिंसा भड्काउनेलाई शहिद र क्षतिपूर्तीको माग राख्ने राजनैतिक दल एउटा फ्रन्टलाईनमा उत्रेको सुरक्षाकर्मीको मृत्युवरणमा किन बोल्न नसक्ने ?’ पूर्व महानिरीक्षक खरेलको प्रश्न छ ।
हो, खरेलले भनेजस्तै यस विषम अवस्थामा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयम्सेवक, मनकारी अनुहारको उच्च मूल्यांकन हुनैपर्छ । आफ्ना कार्यकर्ता, अरौटे-भरौटेलाई राज्यकोषको दोहोन गरी बाडिने अलंकार, विभूषण, तक्मा, पुरस्कार मानविय भावना बोकेका महान व्यक्तित्वलाई प्रदान गर्दा के बिग्रेला र ?