Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

महामारीबीच सत्ताको बाँडचुँड मिलाउन एमाले, काँग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । आ-आफ्नो अडानबाट कोही टसमस नभएपछि राजनीतिक मुद्दामा सहमति भएन । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटरमा सोमरस सहित भोजभतेर चल्यो । त्यसपछि त के थियो र, नेताहरु मुडमा आए । नेताहरुको अनौपचारिक तर रसिक संवाद शुरु भयो ।

शेरबहादुर देउवा : भने देखुनलाई मेरा बा यस्ता बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थो ।

प्रचण्ड : तपाईका बा के बहादुर मेरा बाको त कुरै बेग्लै । पानी ट्यांकीमा पसेका हाम्रा बा धाराको टुटीबाट निस्कनुहुन्थ्यो ।

केपी ओली : तपाईहरुका कुरामा पटक्कै दम छैन । लौ सुन्नुस् मेरा बालाई एकपटक यस्तो भुंग्रे ज्वरो आयो कि मेरी आमा बाको गालामा हरियो मकै पोलेर हामीलाई खुवाउनुहुन्थ्यो ।

मृत्यु उत्सव बनेको बेला राजनीतिभित्र मानवता खरानी बनाउने खेल भइरहेको छ । जनता दुखेका बेला नेता कुर्सीको परेड खेल्दैछन् । पीडाको कोलाजभित्र पद, पैसा र पाखुरी प्रदर्शनका बेसोमती खेल भइरहेका छन् । दुख, पीडा, अभाव, गरिबी भाइरलमा अनुवाद भएका छन् । आँखाको आँसु, चाउरिएको निधार, फाटेको मजेत्रो, काटेको घाउ कमेडी निर्माणका हटकेक कथा भएका छन् । एउटाको कलेजो रेटिएको दृश्य अर्काका लागि माड र जाँड जोहो गर्ने साधन बनेको छ । हेर्दा सवै छन् तर सबैभित्र एक्लो बाँच्नु नेपाली नियति बनेको छ । सीताका संरक्षक राम थिए, अपहरित हुँदा एक्लै थिइन् । द्रौपदीका पाँच पति थिए, निर्वस्त्र हुँदा कोही थिएनन् । राजा दशरथका चार पुत्र थिए, सास जाँदा पुत्रविहीन रहे । रावणको लंका राज्य समृद्ध थियो । सेना बलशाली थिए । सुनैसुनको भण्डार थियो । तर लंका खरानी हुन कसैले रोकेन । अभिमन्यू राजखलकका थिए तर चक्रव्यूहबाट छुटाउने कोही भएन ।

हो, नेपालमा तीन करोड जनता छन् । घरैपिच्छे नेता छन् । एकाध किलोमिटरमा प्रदेश छन् । वडा सदस्यदेखि मुलुकको कार्यकारी प्रधानमन्त्रीको हातमा आईफोन, आईप्याड छ । गाडीघोडा छन् । निजी सचिव छन् । प्रेस सल्लाहकार छन् । माथिदेखि तलसम्म दिनरात बैठक बसेको बसेकै छ । निर्देशन दिने काम तीब्र भएकै छ । आकाश पाताल जोड्ने योजना छन् । सरकार ढाल्ने र बनाउने पासा मिल्काइएका छन् । महामारीले मरेका जनताको लासको धुँवाले आकाश धर्ती रंगिरहँदा, एकमुठी सासका लागि जनता भड्किरहँदा यहाँ सत्ताको छिनाझम्टी चलिरहेको छ । प्रधानमन्त्री हुन पूर्वप्रधानमन्त्रीहरु नै लाइनमा छन् । कुनै योजना छैन, विचार छैन । ठेगानाविनाको चिट्ठीजस्तै लक्ष्यविहीन भागवण्डा छ । फेरि त्यो कुर्सीमा जानुपर्ने औचित्यको पुष्टि छैन । एकथान कुर्सीका लागि अन्तिम भोज चलिरहेको छ । सवैलाई थाहा छ- नेपालमा ठूलो मानिस बन्नु भनेको मालिक हुनु हो । कुर्सी कर्तव्य नभएर मनोरञ्जन हो । अरु देशका राजनेता कुर्सीमा पुगेपछि दुब्लाउँछन् । यहाँ कोमामा पुगेकालाई कुर्सी थमायो भने चोला फेर्छन् ।

चारदशकदेखि एउटै पुस्ताका नेताहरुको राजनीतिक म्युजिकल चियर्समा अविराम सहभागिता छ । जेलनेल, तोडफोड, हत्याहिंसा, लुटपाटको सफल नेतृत्व सत्ता सञ्चालकका न्यूनतम योग्यताभित्र पर्छ । उनीहरुलाई चीन, रुस, अमेरिका, क्यूवा, पेरुका राजनीतिक इतिहास कण्ठ छ । मार्क्स, लेनिन, माओका दर्शन घाँटीघाँटीसम्म अक्षरश ज्ञान छ । तर जन्म दिने बाउको धोतीटोपी कुन रंगको पत्तो छैन । आमाले वर्षौंदेखि भोगिरहेको दमव्यथा र गानोगोलाको हेक्का छैन । छोराको सपना थाहा छैन । नातिपुस्ताको भविष्यसंग दरकार छैन । तीनपुस्ताको भविष्यप्रति सचेतता र सजगता नै राजनीतिको पहिलो र अन्तिम गन्तव्य हो भन्ने नर्सरी ज्ञान उनीहरुलाई छैन । नेता भनेको तीन करोड जनताको व्यवस्थापक हो । उसले आफ्नो छोराजस्तै सवै युवालाई शिक्षित र समृद्ध बनाउने बाटो खन्नुपर्छ । नेता नभई राजनेता बन्नुपर्छ । राजनेताले देशको भविष्य हेर्छ, नेता चुनावको भोटमा सीमित हुन्छ । धानमीलको फित्ता घुमेजस्तै एउटै मनचिन्ते इतिहास बोक्नु भनेको असफल गाथा हो ।

महात्मा गौतम बुद्धले भन्नु भएजस्तै तीनथरि मानिसलाई कहिल्यै बिर्सनु हुँदैन । पहिलो जसले संकटको बेला साथ दिन्छ । दोस्रो जसले संकटका बेला साथ छोड्छ र तेस्रो जसले तपाईंलाई संकटसम्म पुर्‍याउँछ । जग रोएका बेला हाँस्नेहरुको भाग्य कस्तो लेखिएको हुन्छ ? चरम भोकले तड्पिएर मर्न आँटेकी बालिकाको मृत्यु पर्खिएर बसेको एउटा गिद्धको फोटो सबैले देखेको हुनुपर्छ । यो फोटो यस शताब्दीकै चर्चित फोटोग्राफी हो । सन् १९९३ मा सुडानमा लिइएको यो तस्वीर उतार्ने फोटो पत्रकार थिए- केविन कार्टर । फोटो सार्वजनिक भएपछि उनी चर्चाको शिखरमा रहे । यही फोटोले उनलाई पुलित्जर पुरस्कार दिलायो । कार्टरले त्यो सम्मानको आनन्द धेरै समय लिन पाएनन् । फोटो खिचेको केही महिनामा ३३ वर्षको उमेरमा उनले आत्महत्या गरे । दुनियाँभर केविनको ख्याती चलिरहेकै बखत उनलाई फोन गरेर कसैले सोध्यो- ‘फोटो खिचेपछि त्यो बालिका कुन अवस्थामा थिइन् ? ‘ उनले जवाफ फर्काए- ‘खै, थाहा भएन किनकी मेरो फ्लाईट ढिला हुँदै थियो ।’ यो जवाफपछि प्रश्नकर्ताले जंगिदै भने- ‘त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए । जसमध्ये एउटाको हातमा क्यामेरा थियो ।’ फोटो पत्रकार कार्टरलाई यो संवादले यति विचलित बनायो कि अन्त्यमा आत्महत्या रोजे । कामना गरौं, कोभिडको महामारीले नेपालका नेताहरुको अवस्था यही स्थितिमा नपुगोस् ।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एक्युरेट समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मालिकहरुले सहमतिको आवरणमा तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अराजकताको भुँमरीमा फसेको छ । नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टीका नेताले घोषित अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् त कसैले मौन बसेर । बीपी- जीपी, केपी-पीके, मनमोहन-माधव, झलनाथ, बाबुरामदेखि यादवहरुसम्म यस कटु सत्यका पारंगत पात्रहरु हुन् । सत्ता टिकाउन आफूलाई कति बिकाउनुपर्छ भन्ने सत्यबाट कोही अछुतो छैनन् । तर यो विषयलाई उनीहरुले फगतः कम्बल ओढेर घिउ खाने माध्यम मात्र बनाए । अरु त अरु कम्युनिष्ट पृष्ठभूमिका नेताहरु कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो । नेपालमा चेतनाभन्दा उत्तेजना, विवेकभन्दा आवेग बढी विक्री हुन्छ । अंकमा दुई तिहाईको शक्तिशाली सरकार बन्यो । तर त्यसको सामर्थ्य परालको खुट्टाजति पनि भएन । यसबाट प्रमाणित हुन्छ कि नेपालमा जनमतले नभएर कनेक्सन शक्तिशाली हुन्छ । नेपाल मात्र नभएर विश्वमै यो शृङ्खलाले निरन्तरता पाएको देखिन्छ । चारदशकअघि विश्व शीतयुद्धतर्फ अघि बढिरहँदा विश्वका आधाजति मुलुकमा कम्युनिष्ट शासन थियो । जति देशमा कम्युनिष्ट शासन थियो, अरु देशको तुलनामा विकासका दृष्टिले ती देश पछि परिरहे । पेरु, कम्बोडिया, फिलिपिन्स, अफ्रिकाका दर्जन मुलुक युद्धमै अल्झिए । उनीहरुले सबै वर्गलाई उचाले । जब तिनीहरुको उपयोगिता सकियो, थचक्कै थेचारे । खै त कम्युनिष्ट शासन आएपछि स्कुल कलेजको शुल्क घट्यो ? उपचार सहज भयो ? हामीले खाने पीठो सस्तियो त ?

सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लु लेबलदेखि बटरलाई ब्राण्डका पारखी हुन पुगे । तर सिसाको गिलासमा खाँदा रहस्य खुल्ने डरले स्टीलको गिलासमा खाएर जनताको नाममा पाखण्ड ओकल्न भने उनीहरु अझै पछि पर्दैनन् । नेताहरुलाई आफू मालिक भएको भ्रम छ । हुन पनि पदमा आसीन हुनासाथ २, ३ सय किलोका माला लिएर कार्यकर्ता आरती उतार्न तयार हुन्छन् । नेपाली जनतामा यस्तो राजनीतिमेनिया छ कि चना चटपटे बेच्नेलाई पनि सिंहदरवारकै स्वाद छ । यस्तो महामारीमा पनि नेताकै नौटंकी विकेको छ । पत्रकारको उर्जा नेता पछ्याउनमै खर्च भइरहेको छ । घर बन्धकी राखेर खाडीमा बेल्चा चलाउन गएको एउटा श्रमिक युवा थप ऋण खेपेरै भएपनि नेताका नाममा टिकट किनेर पठाउँछ । विमानस्थलमा नेतालाई खादा ओढाउँछ । अन्तिममा नेतासंग कुम जोडेको फोटो फेसबुकमा अपलोड गरेपछि सन्तोषको सास फेर्दै मनमनै मख्ख पर्छ- ‘आफू नेता नभएर के भो, नेता त मैले चलाएको छु ।’ अर्कातिर मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरु आईफोनको पारखी भएका छन् । अरु त परै छाडौं एउटा सामान्य म्यासेज पढ्न र पठाउने कला पनि उनीहरुमा देखिदैन । हो देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैं नेताहरुको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ । नेता कस्तो हुनुपर्छ ? जनताको कर्तव्य के हुन्छ ? एउटा जापानको प्रसंग ।

स्वामी विवेकानन्द जापान भ्रमणमा थिए । सहर घुम्दाघुम्दै उनले स्याउ किने । स्याउ किनेर फर्किनै लाग्दा एउटा बालक आएर बाटो छेक्दै उभिएर स्वामीसंग भन्छ- ‘त्यो स्याउ मलाई दिनुस् । मसंग धेरै पैसा त छैन तर पनि म तपाईंलाई परेको मूल्य चुकाउँछु ।’ स्वामी आश्चर्य पर्दै सोध्छन्- ‘किन बाबु -‘ बालक जवाफमा भन्छ- ‘त्यो साहुले स्याउ बेच्दा केही बिग्रिएको स्याउ पनि हालेको छ । तपाई हाम्रो पाहुना हो । भोलि आफ्नो देश गएर भन्नु हुनेछ- जापानी ठग हुँदा रहेछन् । म यसो हुन दिन्न । यसैले कृपया तपाईसंग रहेको त्यो स्याउ मलाई बेच्न आग्रह गर्दछु ।’ बालकको अगाध देशभक्तिबाट ओतप्रोत विवेकानन्दले प्रतिज्ञा गर्दै भने- ‘होइन बाबु म त्यो भन्ने छैन । बरु आफ्नो देशभरि घुमेर भन्नेछु, जापानका साना-साना बच्चामा समेत अगाध देशप्रेम हुँदोरहेछ ।’ हाम्रो राजनीतिले नयाँ पुस्तामा यो सन्देश भर्ने कहिले ?

माओ कि बाइडेन ? यसो भनेर गाई त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरुको रोजाई बाइडेन पर्नेमा शंका छैन । कार्यकर्ताहरुलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ नामको चालिसासम्म कण्ठ गराएका नेताहरुका लागि युरोप अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताहरुले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्यूवा र चिनियाँ साँस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, जापान, स्वीटजरल्याण्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरु यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् । संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको बिकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पुरै शून्य छ । राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ । यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने उ त खरानी हुन्छ नै, देश पनि अवन्नतिको पातालमा भासिन्छ ।***

[email protected]

तपाईको प्रतिक्रिया