स्थिति नियन्त्रण बाहिर जाने संकेत

भूगोलमा दुई ठूला छिमेकी देशहरुको बीचमा रहेको हाम्रो देश नेपाल जसरी बेला बेलामा बिभिन्न इस्युहरुमा चेपुवामा पर्ने गरेको छ त्यसरी नै अहिले महाप्रलयकारी महामारीको बेलामा पनि कुनै न कुनै रुपमा चपेटामा पर्नुपरेको सबैले महशुस गरेकै हुनुपर्छ । करीव १ सय ४१ करोड जनसंख्या भएको भीमकाय मुलुक चीनले आफ्नै धर्तीबाट सुरु भएको कोभिड-१९ महामारीलाई लगभग नियन्त्रण गरेर बिश्वलाई चकित पारेको छ तर दक्षिणको छिमेकी देश भारत जहाँ झण्डै १ सय ३५ करोड जनसंख्या छ, त्यहाँ अहिले बिश्वकै सबैभन्दा डरलाग्दो स्थिति छ । यसको सिधा असर नेपालमा पनि देखिन थालेको छ । विज्ञहरुका अनुसार भारतमा भन्दा नेपालमा संक्रमणको बृद्धिदर तीब्र रहेको अवस्था छ । यो अझै विकराल बन्दै जाने उनीहरुको प्रक्षेपण छ ।

कमजोर स्वास्थ्य संयन्त्र, अत्यावश्यक जनशक्तिको अभाव, पूर्व तैयारीमा ढिलासुस्ती, तरल राष्ट्रिय राजनीतिका कारण महामारी रोकथाममा ध्यान नदिनु जस्ता अनेकन कारणले गर्दा आज नेपालमा जुन भयावह स्थिति आईरहेको छ, यो कल्पनाभन्दा बाहिरको हो र स्थिति अझै गम्भीर र नियन्त्रणभन्दा बाहिर जाने संकेतहरु क्रमशः देखिन थालेका छन् । अस्पतालभन्दा बिरामी धेरै, आपूर्तीभन्दा आवश्यकता धेरै हुँदै जान थालेपछि जताततै स्थिति भयावह र नियन्त्रणभन्दा बाहिर जाने अवस्था नआउला भन्न सकिदैंन । पहुँच नहुने सर्बसाधारण बिरामीहरु अक्सिजनको अभावमा अकालमा ज्यान गुमाईरहेको कहालीलाग्दो स्थिति छ । इतिहासमा यसप्रकारको मानवीय संकट बिरलै पर्ने गरेका छन् । त्यसैले यसलाई सबैले खेलाँची हैन र्सवाधिक उच्च संवेदनशीलको कोटीमा राखेर हेर्न जरुरी छ ।
मानवीय संवेदनशीलताको दृष्टिले नेपाली समाज अलि उदासिन देखिन्छ । जिउँदै मान्छेलाई श्रद्धाञ्जली दिन हतार गर्ने प्रवृत्ति शायद नेपाली समाजमा मात्रै पाईन्छ होला । यति डरलाग्दो महामारीको बेलामा दिनहुँ संक्रमणको दर फैंलदो छ, मान्छेहरु भटाभट ढलिरहेका छन, सरकारी निषेधाज्ञा एकातिर पन्छाउँदै धमाधम तामझामका साथ बिबाह, भोजभतेर, भिडभाडजन्य डान्सपार्टी तथा सभा, सम्मेलन जस्ता औपचारिक कार्यक्रमहरुको घोषणा भईरहेका छन् । यसबाट के विश्लेषण गर्न सकिन्छ भने हामी हुल्लड स्वभावले ग्रसित छौं । आजको प्राथमिकता के हो र के होइन भन्ने मनोविज्ञानमा धरातलीय कमजोरी छ । तत्काललाई त्यो नगर्दा आकाश खस्दैन, धर्ती भासिदैन भने अहिलेलाई त्यस्ता गतिविधि स्थगित गर्न र गराउनमा समाजमा अगुवाहरु लागिपर्नुपर्ने हो तर त्यसो गरेको देखिएन । गर्नै परे पनि फरक विधिको प्रयोगमा प्रोत्साहित गरिनुपर्ने हो । यो महामारीमा सबैले आ-आफ्नो तर्फबाट इमान्दारितापूर्वकको भूमिका निर्बाह गर्न सक्ने हो भने पूर्णतया नियन्त्रण गर्न नसके पनि न्यूनिकरण गर्न अवश्य सकिन्छ । र यसले हाम्रो चेतनाको स्तर के कति छ भन्ने पनि दर्शाउँछ ।

महामारीमा घरदेशको अवस्था र परदेशको अवस्था झण्डै उस्तै भईदिंदा सपरिवार संगै नहुनेहरु दूवैतिरको मनमा चिन्ताले अड्डा जमाउनु स्वभाविकै हो, भतभती पोलेको मन लिएर कहिलेसम्म बस्ने, अवस्था साँच्चिकै विकराल छैन त, खै त हामी त्यो अनुसार गम्भीर बनेको ? अदृश्य शक्ति बनेर आएको कोभिड-१९ को दोस्रो लहरले गर्दा स्थिति साँच्चिकै दर्दनाक छ, कुन दिन कसको भेट अन्तिम बनिदिने हो केही भन्न सक्ने अवस्था छैन । त्यसैले संक्रमितले हजार सास्ती भोग्दै त्यसलाई परास्त गरेर मृत्युलाई जितेर आउनुभन्दा जोखिमबाट जोगिनका लागि हदैसम्मको उच्च सतर्कता अपनाई सुरक्षित रहनु लाखौंगुणा बुद्धिमानी हुने भएकोले यसतर्फ हरेक नागरिक सजग भई आफु पनि र आफ्ना परिवारका सदस्यलाई पनि नियमित ध्यानाकर्षण गराऔं । यो नै अहिलेको अचुक गायत्री मन्त्र हो ।

सरकारी मापदण्डको सहि पालना गर्दै यो महाप्रलयकारी ज्यानमारा महामारीबाट सुरक्षित रहनका लागि हामी बसेको समाजमा सचेतना फैलाउन अपेक्षित पहल तथा प्रयासहरु हुन सकेका छैनन् । यस्तो बेलामा जापानमा रहेका दर्जनौ संघसंस्थाहरु तथा मिडिया क्षेत्रको भूमिका थप प्रभावकारी हुनुपर्ने हो । वर्तमान असामान्य अवस्थालाई सामान्यरुपमा ग्रहण गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गईसकेपछि धेरैथोक ढिलो भईसकेको हुनेछ । त्यसैले समयको संवेदनशीलतालाई मनन् गर्दै हरेकले आ-आफ्नो धर्म निभाउन र जिम्मेवारी पूरा गर्न कञ्जुस्यांइ नगरौं ।***

तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित