बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन: प्रधानमन्त्री बनेपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताए ।

दाहालले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरे । सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै त्यसो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए ।

‘चुनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौँ संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ। प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ’, उनले भने, ‘जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न, भर्खर पनि हामी कुरा गर्दैछौँ  ।’

दाहालले नेपाल पक्षमा आफूहरुसँग मिल्न केही समस्या भएको अनुमान गरे । ‘उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ’, दाहालले भने, ‘म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकैठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’

तपाईको प्रतिक्रिया