बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सहभागिताका लागि नेपालीहरुमा अपिल (लिंकसहित)

टोकियो – निकट भविष्यमा टोकियोमा ठूलो भूकम्प जान सक्ने खतरालाई मध्यनजर राख्दै त्यसबाट सुरक्षित रहन के कस्ता उपायहरु अवलम्बन गर्ने र त्यसको आवश्यक पूर्व तैयारी कसरी गर्ने भन्ने बिषयमा नीति निर्माण प्रयोजनका लागि जनमत संकलन गर्ने उद्धेश्यले चर्च वर्ल्ड सर्भिस (CWS) जापानले एक सर्वेक्षण गर्ने भएको छ ।
विशेषगरी विदेशीहरु लक्षित यस सर्बेक्षणमा फरक फरक समुदायका लागि सम्बन्धित भाषामा गर्न लागिएको सर्वेक्षण अनुसार नेपाली समुदायका लागि नेपाली अनलाईन समुद्रपारि डट कम मार्फत नेपाली भाषामै सर्वेक्षण (https://bit.ly/3xO7WJS) गर्न लागिएको कार्यक्रम निर्देशक युकिको माकीले समुद्रपारिलाई बताईन् ।

आगामी ३० वर्ष भित्रमा जापानको राजधानी टोकियोलाई केन्द्रबिन्दु पारेर ठूलो स्केलको भूकम्प जाने पूर्वानुमान भईरहेको सन्दर्भमा संभावित उक्त खतराबाट बच्न र क्षति हुनबाट अत्यधिक जोगिन अपनाईनुपर्ने उपायहरुका बारेमा जापानमा बस्ने बिदेशीहरुको जनमत संकलन गर्ने यस सर्बेक्षणको उद्देश्य रहेको छ ।

संकलित सूचनाको कुनै दुरुपयोग नगरिने प्रतिबद्धता सहित सो संस्थाले सर्बेक्षणमा सहभागी भईदिन जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।

मे ६ तारिख बिहीबार देखि २ हप्तासम्म मात्र अवधि रहने सर्बेक्षणको प्रश्नावलीमा सोधिएका प्रश्नहरुको नेपाली, अंग्रेजी रोमन वा अंग्रेजी भाषामा जबाफ दिन सकिने बताईएको छ । तर धेरैजसो प्रश्नावली भने बैकल्पिक उत्तरहरुबाट छनौट गर्न सकिने रहेकोले झन्झटिलो नभएको सो संस्थाले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा प्रधान कार्यालय रहेको चर्च वर्ल्ड सर्भिस (CWS) को विश्वका करीव ३० वटा मुलुकहरुमा शाखा कार्यालय रहेका छन् । गैर नाफामुलक गैर सरकारी यस संस्थाले आकस्मिक उद्वार, प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण, शरणार्थी समस्या समाधान, सामाजिक बिकास, खानेपानी, स्वास्थ्य तथा स्वच्छता लगायतका क्षेत्रमा सेवामुलक गतिविधि गर्दै आईरहेको बताईएको छ ।***

तपाईको प्रतिक्रिया