Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

कोभिड-१९ को महामारीसंगै यसको दोस्रो लहरले अहिले विश्वलाई नै आतंकित बनाईरहेको छ । देश-दुनियाँभर फैलिएको यो ज्यानमारा रोगले मानव सभ्यतालाई नै चुनौती दिएको छ र मानवजातिलाई मात्र दिनुसम्मको सकस दिएको छ । मानवजाति बाहेकका यस पृथ्वीमा बस्ने चराचर पशुपंक्षी, किराफट्याङ्ग्रा लगायतका जीवजन्तु भने आफ्नै सुरमा रमाईरहेका छन् । उनीहरुलाई महामारीले कुनै असर गरेको छैन र गर्दैन पनि । विज्ञानलाई परास्त गर्दै महामारीको अर्को लहर अझ कठोर बन्दै गईरहेको छ । सर्बश्रेष्ठ एवं चेतनशील भनिएका हामी मानवजगतका लागि अति कष्टकर बनेर महामारीको डेढ वर्ष बितिसकेको छ, अझै कति समय बिताउनुपर्ने हो यसको जबाफ आजसम्म कसैसंग छैन ।

मान्छेदेखि मान्छे डराउनुपर्ने अवस्थामा सामाजिक दूरी कायम गर्दै एकलकाँटे र बन्दाबन्दी जीवन, बाहिरी संसारबाट वञ्चित, हरपल मास्क र स्यानिटाइजरको प्रयोग, सिकिस्त बिरामी परेमा अस्पताल सेवा दूर्लभ यी बिषय अहिले मानवजीवनका अनिवार्य चिन्तन र दैनिकी बनेका छन् । अझ उदेकलाग्दो त यो छ कि, कथमकदाचित संक्रमणबाट कसैको मृत्यू भईहाल्यो भने मलामी पाउनै मुस्किल पर्ने अहिलेको अवस्था हो । यसरी हेर्दा लाग्छ, आज मानिस मानव सभ्यताकै इतिहासमा सबैभन्दा निरीह र बिचरा हुन पुगेको छ । यस प्रकारको भयावह स्थितिले मानिस विवश भएको छ, लाचार भएको र निम्छरो भएको छ, विज्ञान झुकेको छ । अर्कोतिर मानवबस्तीमा ग्लोबल वार्मिङको नकारात्मक संकेतहरु देखिन थालेका छन् । प्राकृतिक प्रकोपहरुले पनि उत्तिकै सताईएका छन् । यसरी हेर्दा कतै प्रकृतिमाथि अहिलेसम्म गरेको ज्यादतीको सजाँय मानवजातिमाथि थोपरिएको त हैन भन्ने अड्कलबाजीहरु हुन थालेका छन् ।

विश्वब्यापी महामारीको इतिहास खोतल्दा सन् १९१८ अर्थात करीव १ सय वर्ष अगाडि ‘स्प्यानिस फ्लु’ नामको एक किसिमको संक्रामक ज्वरोले विश्वका करीब ५० करोड मानिसलाई संक्रमित तुल्याएको पढ्न पाईन्छ । करीब दुई वर्षसम्मको अवधिमा सो महामारीले करीब ११ करोड मानिसहरूको ज्यान लिएको थियो । यसैगरी अर्को महामारी ‘स्वाइन फ्लु’ ले २००९ जनवरी देखि २०१० अगष्टसम्म बिश्वब्यापीरुपमा आतंक मच्चाएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न किसिमका फ्लुका कारण बर्षेनी करीब २ लाख ५० हजारदेखि ५ लाखसम्म मानिसहरुको मृत्यु हुने गरेको पाईन्छ ।

कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै हामी बसेको देश जापानको राजधानी टोकियो लगायतका आधा दर्जन भन्दा बढि प्रमुख सहरहरुमा आपतकालिन अवस्था घोषणा गरेबाटै यहाँको संवेदनशीलता बारे प्रष्ट हुन्छ । स्वास्थ्यसम्बन्धी क्रियाकलापमा यहाँका सबै नागरिकहरु सचेत र जागरुक छन् । तथापि व्यक्तिगत स्वतन्त्रताको अत्यधिकरूपमा उपयोग गर्न रुचाउने र त्यसको कहिं कतैबाट हस्तक्षेप नहुने भएकोले होला जापानमा आपतकालिन समय भनिए पनि देखिने र अनुभूत हुनेगरी सामान्य अवस्थाभन्दा तात्विक भिन्नता पाईदैन । त्यसकारण आपतकालिन अवस्था घोषणा गरिए पनि निश्चित ब्यवसायिक क्षेत्रका गतिबिधि, रात्रिकालिन ब्यवसाय, शैक्षिक अनुष्ठान लगायतका अति संवेदनशील क्षेत्र बाहेक अन्य यातायात, प्रशासनिक, सेवा प्रदायक ब्यवसाय जस्ता क्षेत्रमा खासै फरक परेको देखिदैन । त्यसो हुँदा समयको वर्तमान संवेदनशीलतालाई ध्यानमा राख्दै अत्यधिक सजगता र सावधानी अपनाउनु नै अहिलेको सबैभन्दा अचुक उपाय हो ।

उता घरदेशको अवस्था पनि दिनानुदिन चिन्ताजनक बन्दै गईरहेको स्थितिले थप त्रसित हुनुपरेको छ । छिमेकी मुलुक भारतसंगको खुल्ला सिमाना लगायतका कारण नेपालमा पनि संक्रमितहरुको संख्या र मृत्यूदर बढ्दो क्रममा रहेकोले थप चिन्ताको बिषय बनेको हो । महामारीले देशैभरि विकराल रुप लिदैं गरेको अवस्थामा राज्य सञ्चालनको बागडोर हातमा लिएर बसेको सत्ताधारी तथा जिम्मेवार प्रतिपक्ष दलहरु भने कुर्सीको दाउपेचको जोडघटाउमा तल्लिन देखिन्छन् । परिस्थितिले निर्णायक शक्ति बन्न पुगेका दलहरु राजनीतिक स्वार्थ आफ्नो अनुकुल हुने भएमा जस्तोसुकै सम्झौता गर्न पनि तयार देखिन्छन् । सत्ता र स्वार्थभन्दा माथि उठ्न नसकेको नेपाली राजनीतिले कोरोनाको कहरका बीच पनि किञ्चित मानवीय संबेदना देखाउन नसकेको स्थिति जगजाहेर छ । यस्तो अवस्थामा सरकार र राज्यको मुख ताक्नुभन्दा स्वविवेकले स्वतस्फुर्त सचेततापूर्वकको सावधानी अपनाऔं यसैमा हामी सबैको भलाई छ ।***

तपाईको प्रतिक्रिया